राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा शिलान्यास गरेको राजविराज १० स्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बुधबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पुनः शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा गरेको प्रतिष्ठानको जनमत पार्टीका अध्यक्ष डा.राउत द्वारा पुनः शिलान्यास
२०७८ असार २२ गते प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेपनि निर्माण कार्य अघि नबढेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतले एक समारोहबीच प्रतिष्ठान निर्माण कार्यको दोस्रो पटक शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै डा राउतले तत्कालिन प्रधानमन्त्री ओलीद्वारा भर्चुअल माध्यममा शिलान्यास गरिएको भनिएपनि स्थलगत रुपमा शिलान्यास हुन नसकेको, प्रतिष्ठानको गठन आदेश नविकरण नभएको तथा बजेट समेत उपलब्ध नभएको अवस्थामा प्रतिष्ठानको निर्माण कार्य अलपत्र रहेको दृष्टिगत गरि आफूले शिलान्यास गरेको स्पष्ट पारे ।
जनमत पार्टी नेतृत्वकै मधेश प्रदेशमा सरकार गठन भएपछि तत्काल भवन निर्माणका लागि ४ करोड रुपैया बजेट समेत सुनिश्चित गरिएको उनले जानकारी दिए ।
डा.राउतले निर्वाचनको समयमा प्रतिष्ठानको कामलाई अघि बढाउने भनि गरिएको प्रतिवद्धता पुरा गर्न गठन आदेश नविकरण समेत गराएर काम सूचारु गर्न लागेको बताए ।

डा. राउतले शिलान्यास गरेसंगै बुधबार देखि नै प्रतिष्ठानको शैक्षिक भवनको निर्माण कार्य शुरु भएको छ ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरको थियो । यसका लागि राजविराजको १० नम्बर वडा विरौल स्थित ६२ विगहा जग्गा प्रतिष्ठानका लागि दिने मन्त्री परिषद्को २०७८ जेठ २१ गतेको बैठकले निर्णय समेत गरेको थियो ।
शिलान्यास समारोहमा जनमत पार्टीका संगठन विभाग प्रमुख जयकान्त राउत, मधेश प्रदेशका पर्यटन मन्त्री शकिल अली मियाँ, प्रदेश साँसद महेश प्रसाद यादव, प्रतिष्ठान पुर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. पशुपति चौधरीका साथै ठूलो संख्यामा स्थानियको उपस्थिति रहेको थियो ।
बुधबार नै डा.राउतले मधेश प्रदेश सरकारको लगानीमा राजविराज नगरपालिका ९ मलेठमा निर्माण हुने गजेन्द्रनारायण सिंह स्मृती भवन, ओशो आश्रम तथा वृद्ध ध्यान केन्द्र भवनको समेत शिलान्यास गरेका छन् । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह समेत उपस्थिति रहेको थियो ।