मुम्बई । सोनु निगमको दुई वटा गीत कन्नड निर्देशक रामनारायणले आफ्नो चलचित्रबाट हटाएका छन् । उनले बिहीबार यस्तो निर्णय गरेका हुन् । रामनारायणले आफ्नो आगामी चलचित्र ‘कुलदल्ली किलायावुदो’ बाट सोनु निगमको स्वरमा रहेको दुई गीतहरू हटाएको घोषणा गरेका छन् ।
सोनु निगमले यसै साता बेंगलुरुको एक कलेजमा प्रस्तुति दिएका थिए । उनले आफ्ना हिट हिन्दी गीतहरू गाउँदै गर्दा कन्सर्टमा उपस्थित एक दर्शकले कन्नड–कन्नड भन्दै कन्नड गीत गाउन माग गरेका थिए । सो कार्यक्रममा सोनुले ती दर्शकलाई गाली गरे । उनको त्यो गालीको भिडियो भाइरल भए पछि अहिले कन्नड भाषीहरु गायक सोनु निगम प्रति आक्रोशित भएका छन् ।
यो घटना प्रति गायक सोनुले माफी समेत मागेका छन् । तर कन्नड भाषीहरुले उनको विरोध गर्न छाडेका छैनन् । यसै विषयमा निर्देशक रामनारायणले पीटीआईलाई भने,‘माफी मागेर मात्र हुँदैन, उनले पहलगाममा भएको घटनालाई कन्नड गौरवसँग जोड्नु ठूलो गल्ती हो । यसको मूल्य सोनु निगमले चुकाउनु पर्नेछ।’
निर्देशकका अनुसार, उनको आगामी चलचित्र ‘कुलदल्ली किलायावुदो’ यही २३ मेमा चलचित्र घरमा रिलिज हुने तयारीमा छ । यो चलचित्रको लागि रेकर्ड गरिएको सोनुको स्वरका दुई वटा गीत समेत युट्युवमा हालै रिलिज गरिएका थिए । रामनारायणले भने, ’सोनुले गाएको शीर्षक गीत महान् अभिनेता राजकुमारको १९६५ को चलचित्र सत्य हरिश्चन्द्रमा समेत चित्रित थियो । यस्तो गीत गाउन पाउनु सोनुको लागि गौरवको कुरा थियो ।’
अब आफूले चलचित्रमा सोनु निगमको स्वरको गीत राख्दा आफ्ना दर्शकले चलचित्र बहिष्कार गर्न सक्ने पनि निर्देशकले बताएका छन् । यी निर्देशकले सोनु निगमले गाएका दुवै गीतहरूलाई गायक परिवर्तन गरेर चलचित्रमा राख्ने घोषणा समेत गरेका छन् ।
निर्देशक रामनारायणले यस विषयमा सञ्चारकर्मीसँग भने बिहीबार भने,‘सोनु निगमसँग मेरो धेरै पुरानो सम्बन्ध छ, उनले कन्नडमा एक हजार भन्दा बढी गीत गाइ सकेका छन्’, तर पनि यति वेला सोनुले गरेको गालीका लागि माफी दिन नसकिने पनि उनले बताएका छन् । गायक सोनुलाई कन्नड उद्योगबाट प्रतिबन्ध लगाउनु पर्छ भन्ने मागमा समर्थन जनाउँदै यी निर्देशकले सोनुको गलत कदमले कान्नड भाषीको मन दुखेको बताएका छन् ।
यो गीतको डमी गाउने गायक चेतन सोस्काकै आवाजमा गीतलाई अव चलचित्रमा ल्याउने पनि निर्देशक रामनारायणले बताएका छन् । उनका अनुसार निर्माण पक्षले सोनुको स्वरमा रहेको ‘कुलदल्ली कीलियावुदो’ गीत युट्युबबाट हटाइ सकेका छन्, तर निगमको स्वरका अर्को गीत ‘मन्सु हडाताडे’ भने अझै युट्युब च्यानलमा उपलब्ध छ ।
यसै बिच कन्नड समर्थक संस्था कर्नाटक रक्षा वेदिकेले गायक सोनुको गाली विरुद्ध उजुरी दर्ता गराएको छ । तर यस विषयमा प्रहरीले सोनुलाई कुनै जानकारी पठाएको छैन । यो विषयमा गायक सोनु निगमले सोमबार नै माफी मागेका थिए । उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक पोस्ट सेयर गर्दै उनले लेखेका छन्,‘ मलाई माफ गर्नुहोस् कर्नाटक । तपाईंप्रतिको प्रेम मेरो अहंकारभन्दा ठूलो छ । तपाईंलाई सधैं माया गर्नेछु ।’