मकवानपुर । सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।
मकवानपुरको हेटौंडा – ६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउदै एपीएफले उपाधि कब्जा गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मि कुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाईन । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् । पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङकी प्रहार बाहिरिइन् ।
उपाधि संगै एपीएफले पाँच लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपबिजेता बनेको पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
फाइनल खेलको प्लेयर अफ दि म्याच एपीएफकी गोलरक्षक अन्जना राना मगर घोषित हुँदै नगद १० हजार प्राप्त गरिन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् । उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बांनियाले स्कुटर प्रदान गरेका थिए ।
एपिएफका क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए । यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै विभागीय टोलीले फाइनल भिडन्त पक्का गरेका थिए। प्रतियोगिताको सेमिफाइनलमा पुलिसले चितवन जिल्ला फुटबल टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने । संकटा क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको थियो ।
सातौं संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप अन्तरगत १९ बैशाखबाट महिलातर्फकाे गोल्डकप सुरु भएकाे हाे । प्रतियोगिताकाे छैटौं संस्करणसम्म पुरुषतर्फ मात्रै हुँदै आएकाेमा सातौं संस्करण महिलातर्फका टिम बीच प्रतिस्पर्धा हुने गरी गोल्डकप आयोजना गरिएकाे हाे ।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा १९ बैशाखबाट सुरु भएकाे प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब गरी तीनवटा विभागीय महिला टिमसहित मकवानपुर हेटौंडाकाे रिगल रिसोर्ट एन्फा महिला टिम मकवानपुर, बीरगन्ज युथ एकेडेमीकाे महिला टिम र नवजनजागृति युवा क्लब सिमरा बाराको महिला टिम, रौतहट र चितवन जिल्लाको महिला टिम गरी ८ बटा टिमकाे सहभागिता रहेको थियो ।