पाल्पा । रिव्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाले सरकारीस्तरबाट हालसम्म सुविधा नपाएका एकल पुरुष र महिलालाई जिवन निर्वाह भत्ता दिएको छ । वडा कार्यालयले ८ जना पुरुष र ७ जना महिला गरी १५ जनालाई निर्वाह भत्ता दिएको हो । विवाह नगरी बसेका पुरुष हकमा ४० बर्ष र महिला हकमा ३५ बर्ष पुगेकालाई जनही ५ हजार दरले नगद प्रदान गरेको छ । श्रीमती गुमाएर एकल भएका तर बृद्धभत्ता लिने उमेर नपुगेका एकल पुरुषहरूलाई पनि भत्ता दिइएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

स्थानीय तह घरदैलोको सरकार हो भन्ने भावनाको विकास गर्न वडाले बार्षिक कार्यक्रम अनुसार सूचना आव्हान गरी निवेदनको आधारमा भत्ता दिने व्यक्तिहरु छनोट गरेको थियो । यसरी भत्ता पाउनेहरु अधिकांश आर्थिक अवस्था कमजोर भएका र घरपरिवारमा पनि एकलै बसेका व्यक्तिहरु रहेका छन् । वडाले एकल जिवन बिताएका पुरुष र महिलालाई सम्झिएको खुसी लागेको जोगीथुमका केशव कुमालले बताए । उनले पाएको रकमबाट औषधी गर्ने र कुखुरा किनेर पाल्ने बताए ।
ख्याहा वडा कार्यालयले गाउँमा गोरु पालक कृषकलाई अनुदान, सालको टपरी घरमा खुटेर वडा कार्यालय ल्याउनेलाई अनुदान, तिन सन्तान पाउने दम्पत्तीलाई पोषण अनुदान, जन्मघर फर्किआऊ कार्यक्रमबाट गाउँमा फर्किनेलाई घर निर्माणमा अनुदान दिने कार्यक्रम गरिरहेको छ । भौतिक विकास भन्दा समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गर्ने अभ्यासको थालनी वडाबाट भएको स्थानीय समाजसेवी रामप्रसाद न्यौपानेले बताए ।
सम्बन्धित समाचार








