काठमाडौं । नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न नेपालको परराष्ट्र मन्त्रालयले भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो पराराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको हो ।
भारतले नेपाली भूमाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारको अघिकारिक प्रतिक्रिया आएको हो । परराष्ट्रले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त ‘लिंक रोड’ नेपाली भूभाग रहेको बताएको छ । ‘भारतले हिजो उद्घाटन गरेको लिपु लेक जोड्ने ‘लिंकरोड’को क्षेत्र नेपाली भूभाग हो’ जारी विज्ञप्तिमा उल्लेख छ ।
सुगौली सन्धिअनुसार लिम्पीयाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ ।
परराष्ट्रले एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ ।







