काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्णपदक विजेता आयशा शाक्यले दृष्टिविहीनहरूलाई खाद्यान्न सहयोग गरेकी छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्न किसिमका अशक्तलाई आर्थिक रूपमा निकै कठिनाइ भइरहेको छ ।
कीर्तिपुरस्थित नगाउँमा रहेका ३५ दृष्टिविहीनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्तरण गरेकी हुन् । राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ । सागमा पदक जितेबापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोहीबाट सहयोग गरेको बताइएकी छन् । ‘अरू खेलाडीले पनि यो कठिन अवस्थामा सहयोग गरिरहनुभएको छ, मलाई पनि सहयोग गर्नुपर्छ भन्ने लागेको थियो । त्यसमाथि दृष्टिविहीनलाई सहयोग गर्दा थप आनन्द महसुस गरें ।’
एसियाली खेलकुदकी कांस्य पदक विजेतासमेत रहेकी आयशाले मंसिरमा स्वदेशमा आयोजनामा भएको सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।