काठमाडौं । कुलमान घिसिङ हटाएर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेसँगै लोडसेडिङ भइरहेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेकै बेला नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात गरेको जनाएको छ ।
मंगलबारमात्रै १ सय ५० मेगावाट बिजुली निर्यात
प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात सुरु गरिएको जिकिर गरे । उनले भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात भइरहेको अवस्थामा वर्षा सुरु भएसँगै उत्पादन बढेर बुधबारबाट आयात रोकेर निर्यात सुरु गरिएको जानकारी दिए ।
प्राधिकरणले हिउँदमा उत्पादन घटेका बेला करिब १ हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरेको थियो । तर, अहिले प्री–मनसुन सुरु भएसँगै र हिमालमा हिउँ पग्लिन थालेपछि प्राधिकरणले बिजुली निर्यात गरेको हो ।
नेपालको विद्युत् उत्पादनको अधिकांश हिस्सा रन अफ दी रिभर अर्थात् नदीको बहावमा आधारित रहेका कारण हिउँदमा उत्पादन आधाभन्दा बढी घट्ने गर्छ भने वर्षा मौसममा मागभन्दा बढी उत्पादन हुने गर्छ ।
मंगलबार मध्यरातिदेखि भारतमा १ सय ५० मेगावाट विद्युत् बिक्री गरिसकिएको प्राधिकरणले पुष्टि गरेको छ । गत सातासम्म अर्थात् वर्षा सुरु नभएसम्मै भारतबाट ६ सय मेगावाट विद्युत् नेपालमा आयात भएको थियो ।
भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात गरी उद्योगलाई दिइएको थियो । ६ सय मेगावाट विद्युत् बिहान २ बजेदेखि ५ बजेसम्म आयात भएको थियो ।
प्राधिकरणले बिहान भारतबाट लाइन आउँदा विद्युत्गृहमा पानी जम्मा गर्ने गरेको थियो । पानीबाट दिउँसो विद्युत् उत्पादनमा वृद्धि गरेर दिउँसोको विद्युत् माग धान्ने प्रयास गर्दै आएको थियो ।
गत सातासम्म पनि प्राधिकरणले भारतबाट दैनिक १५ घण्टा विद्युत् आयात गरिरहेको थियो । कुलमान घिसिङको पालामा दैनिक १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात गरिरहेकामा दैनिक १५ घण्टासम्म विद्युत् आयात गरेको थियो । यसअघि भारतले बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्रै भारतले नेपाललाई विद्युत् दिएको थियो ।
गत वर्ष नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३९ पैसामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको थियो ।
पाँच महिनामा देशभित्र खपत भई बढी भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको थियो ।
नेपाल र भारतबीच भएको पछिल्लो सम्झौताअनुसार अप्रिलबाट मार्चसम्मका लागि १ सय ३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आयात–निर्यातको मूल्य प्रतियुनिट ८ रुपैयाँ १ पैसा भारू (नेपाली १२ रुपैयाँ ९६ पैसा), ३३ केभी प्रसारण लाइनमार्फत हुने खरिद–बिक्री हुने बिजुलीको प्रतियुनिट दर ८ रुपैयाँ ७८ पैसा भारू (नेपाली १४ रुपैयाँ ०४ पैसा) र ११ केभी प्रसारण लाइनको प्रतियुनिट दर ९ रुपैयाँ ४१ पैसा भारू (नेपाली १५ रुपैयाँ ०५ पैसा) तोकिसकेको छ ।
मन्त्रालयको स्वीकृति नलिईकन भारतसँग सम्झौता गरेको विषयलाई लिएर ऊर्जामन्त्री दीपक खड्काले तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेका थिए । छिमेकी मुलुकमा बिजुलीको आयात–निर्यातलगायत सम्पूर्ण अख्तियारी २०७७ सालमै मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई दिइसकेको भन्दै घिसिङले मन्त्रिपरिषद्ले दिएको अधिकार प्रयोग गरी बिजुली आयात–निर्यातको मूल्यमा सहमति गरिएको स्पष्टीकरण दिएका थिए । घिसिङलाई अपदस्थ गरेपछि सोही दररेटलाई सदर गर्ने निर्णय गरिएको थियो ।
प्राधिकरणका अनुसार मुलुकको आन्तरिक माग १ हजार ९ सय मेगावाट छ । स्वदेशी उत्पादन हजार मेगावाट र औसत ५ सय मेगावाट बिजुली आयात गरेर आन्तरिक माग पूरा गरिरहेको थियो ।
हरेक वर्षको हिउँदमा अपुग बिजुली आयात गर्न भारत र नेपालबीच छुट्टाछुट्टै सम्झौता रहेको छ । भारतको प्रतिस्पर्धी बजारबाट ल्याइने बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । सोही व्यवस्थाअनुसार सन् २०२५ का लागि गत मंसिरमा सम्झौता नवीकरण गरिएको थियो ।
त्यसबेला पनि पिक आवरमा बिजुली नदिने सर्तमा भारतले नवीकरण गरेको थियो । भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारणलाइनबाट ५४ मेगावाट गरी कुल ६ सय ५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको थियो ।
भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यस बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो ।
भारतीय बजारमा प्राधिकरणले दैनिक अधिकतम् ६ सय मेगावाटसम्म बिजुली बेच्दै आएको छ । भारतीय ऊर्जा एक्सचेन्ज –आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड–एनभीभीएनलाई प्राधिकरणले बिक्री गर्दै आइरहेको छ । प्राधिकरणले भारतको प्रतिस्पर्धी बजारमा बिजुली निर्यात गर्न थालेको ४ वर्ष भएको छ ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८०-८१ मा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको बिजुली आयात गरेकामा भारतलाई १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँको बिजुली बेचेको थियो । आयातभन्दा १२ करोड २३ लाख रुपैयाँ बढीको निर्यात गरी प्राधिकरण खुद निर्यातकर्ता बनेको थियो ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारू)मा हुने गरेको छ । प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारू आम्दानी गरेको छ ।
गत वर्षको साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात गरिएको थियो भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात गरेको थियो । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
प्राधिकरणले मंसिरसम्ममा विद्युत् निर्यात गरेकामा तत्पश्चात् विद्युत् आयात गर्न थालिएको थियो । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाहरूको उत्पादन कमी भई देशभित्रको विद्युत् माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्दै आएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुने गर्छ । प्राधिकरणले यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु गरिसकेको छ । यद्यपि, त्यो निर्यात सुरुवात गरी सोही दिन बन्द गरिएको थियो ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।