लन्डन । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनका तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्लबका सीईओ पउल बार्वरले शनिबार गरिएको परीक्षणमा एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । उनी १४ दिने सेल्फ आइसोलेसनमा रहनेछन् ।
ब्राइटनका अर्काे खेलाडीमा पनि कोरोना पुष्टि भएपछि स्थगित भएको इंग्लिस प्रिमियर लिग पुनः सुचारु हुनेमा आशंका पैदा भएको छ । यसअघि मार्च २६ र अप्रिल २ मा क्लबका दुई खेलाडीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । क्लबका सीईओ पउल बार्वरले एक साताको अवधिमा सुरक्षित हुने उपाय अपनाइरहेको र सोहीअनुरूप नै प्रशिक्षण्मा फर्किनुअघि सबै खेलाडीको परीक्षण गरिरहेको बताएका छन् । लिग सुचारु र न्युट्रल भेन्युमा खेल्ने विषयमा प्रिमियर लिगका २० क्लबका सेयर होल्डरका सोमबार छलफल हुँदै छ ।
टिमहरूले १८ मे प्रशिक्षणको सम्भावित मिति हुन सक्ने आँकलन गरिएको छ । सीईओ बार्वरले त्यहाँ चिन्ता हुनु स्वाभाविक रहेको र यी बाधा अड्चनबीच पनि सुरक्षित र सकेसम्म जोखिम न्यूनीकरण गर्ने कार्यमा अघि रहेको बताएका छन् । ब्राइटन अहिले प्रिमियर लिगको १५औं स्थानमा रहेको छ । प्रिमियर लिग १३ मार्चदेखि स्थगित छ । प्रिमियर लिगमा यस सिजन ९२ खेल खेल्न बाँकी छ । यो सिजन लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधिनजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहँदा सिटीको ५७ अंक रहेको छ । दुई खेलमा जित हात पारे लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्नेछ ।
यता, स्पेनिस ला लिगा क्लव रियल बेटिसका तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । प्रशिक्षण सुरु गर्नुभन्दा अघि खेलाडीको परीक्षण गर्दा बेटिसका तीन खेलाडीमा संक्रमण देखिएको छ । योसँगै ला लिगाका शीर्ष क्लबका खेलाडीमा संक्रमण देखिनेको संख्या ६ पुगेको छ । यसअघि एट्लेटिको मड्रिडका डिफेन्डर रेनन लाडी, एथ्लेटिक विल्बाओका गोलकिपर एलेक्स रेमिरो र ग्रानाडाका यंगेल हिरीरामा संक्रमण देखिएको थियो । खेलाडीहरूमा कोरोना संक्रमण देखिएपछि ला लिगा सुरु हुनेमा पनि आशंका गरिएको छ ।