काठमाडौं । काठमाडौँ उपत्यकाको नेवारी भाषाको तुलनामा दोलखा नेवारी भाषा केही फरक छ । यो भाषाको संरक्षणको लागि दोलखा नेवार भाषामा लेखिएको नाटक मञ्चन पनि गरिएको छ ।
डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’लाई रंगकर्मी केदार श्रेष्ठले आफ्नो निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन गरेका छन् ।
५० वर्षअघि लिखित यस नाटक न्युयोर्क विश्वविद्यालय आबु धाबी, युएईमा सन्दर्भ सामाग्रीको रूपमा रहेको छ । दोलखा भाषा संरक्षण अभियान अन्तर्गत न्यु योर्क विश्वविद्यालय आबु धाबीकै सहकार्यमा दस्तावेजीकरणका लागि यो नाटक आफूहरूले नाचघरमा मञ्चन गरेको केदारले राजधानीलाई बताए ।
‘नाटक मिसामी अर्थात् स्वास्नी मान्छेले तत्कालीन समयमा भोगेको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ । वि.सं. २०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दसैँको खड्ग जात्राको दिन मञ्चन भएको थियो,’ केदारले भने ।
केदारका अनुसार हाल न्यु योर्क विश्वविद्यालयका लागि न्युज नेपाल प्रालिले मिसामीलाई निर्माण गरेको हो भने डबली थिएटर र थिएटर मल नेपालले प्रस्तुत गरेको हो । दोलखा र काठमाडौँका कलाकारहरूको संयुक्त सहभागिता रहेको नाटकको मुख्य भूमिकामा कलाकारहरू सुशीला लक्ष्मी महर्जन, सुलोचना चाकु बजी मानन्धर र अमिर ताम्रकार थिए । साथै अन्य भूमिकामा सुजना श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रिना चाकु बजी, कलावती श्रेष्ठ, रमेश बज्राचार्य र दिप्तान्शु श्रेष्ठले अभिनय गरेका थिए । नाटकमा निर्देशक केदार श्रेष्ठलाई भाषा सहजकर्ताको रूपमा दीप नारायण श्रेष्ठले सघाएका थिए ।
करिब ३० वर्ष अघि दोलखा नेवार भाषा अध्ययनका लागि क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राध्यापक डा. क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीहरूको समूह नेपाल आएका थिए । यति बेला यो नाटक हेर्न सो विश्वविद्यालय आबु धाबी शाखामा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरू नेपाल आएका थिए । उनीहरूले नाटक निर्माणको प्रक्रिया समेत अध्ययन–अवलोकन गरे ।
प्रा.डा. क्यारोल जेनेट्टीले दोलखा नेवार भाषामा नाटक हेर्न पाउँदा खुसी व्यक्त गरे । यस्तै अग्रज कलाकार तथा निर्देशक नीर शाहले सानो समुदायले बोल्ने यस्ता भाषाहरु संकटमा पर्दै गएकाले भाषा संरक्षणको लागि यस्तो प्रकारको गतिविधिले सघाउने बताए ।
सो कार्यक्रममा दोलखा भाषा संरक्षण अभियानका हरिदर्शन श्रेष्ठ, लेखक डा. श्याम जोशीले नेपाली व्यावसायिक रंगमञ्चमा दोलखा ली नेवार भाषामा नाटक मञ्चन हुनु ऐतिहासिक रहेको भनाई राखे ।