२५ वर्षमा नेपाली चलचित्र उद्योगमा आमूल परिवर्तन

राजधानी राष्ट्रिय दैनिकले २५ वर्षको यात्रा प्रारम्भ गरेको छ । थुप्रै आरोह अवरोहबीच राजधानीले यो रजत जयन्तीको सफलता चुमेको हो । यो अढाइ दशकमा राजधानीले अविरल रूपमा नेपाली चलचित्र उद्योगको श्रीवृद्धिमा समाचारमार्फत योगदान दिइरहेको छ । सन् २००० आजकै दिनदेखि राजधानी राष्ट्रिय दैनिकको यात्रा सुरु भएको थियो । यो २५ वर्षमा नेपाली चलचित्र उद्योगले पनि धेरै आरोह अवरोह भोगेको छ । राजनीतिक, आर्थिक, प्राकृतिक संक्रमणबीच पनि नेपाली चलचित्र उद्योगको यात्रा परिवर्तित रूपमा अघि बढिरहेको छ । यसैक्रममा यो अढाइ दशक अर्थात् सन् २००० यताबाट हालसम्म नेपाली चलचित्र उद्योगका केही मुख्य परिवर्तनको चर्चा यहाँ गरिएको छ ।

नेपाली चलचित्रमा सामाजिक एवं सांस्कृतिक चेतना वृद्धि
सन् २००० अर्थात् २०५८ सालभन्दा अघिको नेपाली चलचित्र उद्योगलाई हेर्ने हो भने खस आर्य समुदायमा यो उद्योग केन्द्रित थियो । त्यसअघि मूलधारबाट एउटा मात्र भाषिक नेपाल भाषाको चलचित्र राजमति बनेको देखिन्छ । २०५८ सालमा पहिलोपटक पूर्ण रूपमा लिम्बु संस्कृति समेटेर खस आर्य समुदायबाट टाढा रहेर निर्देशक नवीन सुब्बाले नेपाली चलचित्र नुमाफुङ निर्माण गरे । हुन त २०५२ सालमा पनि नवीनले शेर्पा भाषाको पहिलो चलचित्र खांग्री निर्माण गरेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाएका थिए । तर, यो चलचित्र भने नुमाफुङजस्तो नेपालका चलचित्रघरमा प्रदर्शन भएन ।

२०६३ सालमा नेपालमा राजतन्त्रको अन्त्यसँगै लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि नेपाली चलचित्रमा सामाजिक एवं सांस्कृतिक चेतनामा वृद्धि देखियो । हिन्दुस्तानी चलचित्रबाट प्रभावित भएर एउटै सूत्रमा नेपाली चलचित्र निर्माण भइरहेको अवस्थामा २०६३ साल पछिबाट नेपाली चलचित्रको निर्माण शैली बिस्तारै परिवर्तन हुन थाल्यो । चलचित्रले राजनीतिक स्वतन्त्रता पायो । जसका कारण नेपाली चलचित्रमा सामाजिक र सांस्कृतिक विषयहरूले प्रशस्त स्थान पाउँदै गए । यसपछि विभिन्न जनजाति भाषा भाषीका चलचित्र निर्माण क्रममा बढ्दै गयो । जनजाति संस्कृतिले मूलधारका चलचित्रमा प्रशस्त स्थान पाउन थाले ।

यहाँसम्मकी थकाली समुदायको संस्कृतिमा आधारित रहेर चलचित्र कबड्डी चारवटा शृंखलासम्म निर्माण भयो र यी चारवटै शृंखला बक्स अफिसमा ब्लक बस्टर साबित भए । यस्तै, लिम्बु संस्कृतिमा आधारित जारी, मनसरा, राई समुदायको संस्कृतिमा आधारित चलचित्र गाउँ आएको बाटो, मगर संस्कृतिमा केन्द्रित घर ज्वाइँ, खुमाजस्ता जातीय संस्कृतिमा केन्द्रित चलचित्रले मूलधारमा खस आर्य समुदायका चलचित्रको भन्दा राम्रो व्यापार गरे । यस्ता धेरै चलचित्र जनजातिको संस्कृतिमा केन्द्रित भएर मूलधारमा निर्माण हुनुको कारण पनि नेपाली चलचित्रमा सामाजिक एवं सांस्कृतिक चेतको विकास नै हो । यो अढाइ दशकमा राजनीतिक विषयमा पनि कयौं नेपाली चलचित्र निर्माण भए । यसक्रममा चलचित्रकर्मीहरू पनि पुरातनभन्दा नयाँनयाँ शैलीका चलचित्र निर्माणमा केन्द्रित भएको देखियो ।

चलचित्र निर्माणमा प्राविधिक छलाङ
सन् २००० अर्थात् २०५८ सालमा नेपाली चलचित्रको निर्माण एनलग (रिलमा छायांकन गरेर रिलमै प्रिन्ट गरेर प्रदर्शन गरिने) प्रविधिमा हुन्थ्यो । अहिलेको डिजिटल प्रविधिमा जस्तो त्यतिबेला चलचित्रको छायांकन गर्न सजिलो थिएन । चलचित्र छायांकारले क्यामेराको भ्यु प्वाइन्टबाट हेरेर खिचेको दृश्यलाई निर्देशकले ओके गर्नुपथ्र्यो । कस्तो खिचियो भनेर त्यो रिलको नगेटिभ हेरेपछि बल्ल परिणाम थाहा हुन्थ्यो । यसक्रम २०६४ सालसम्म पनि जारी रह्यो । विश्व चलचित्र उद्योग डिजिटलमा धमाधम रूपान्तरण भइरहेको त्यस कालखण्डमा नेपाली चलचित्र उद्योग भने नेगेटिभ (रिल)मै केन्द्रित थियो ।

२०६४ सालमा पहिलोपटक नकिम उद्दिन, भास्कर ढुंगाना, राजेश सिद्धिकीले पूर्ण डिजिटल प्रविधिमा पहिलो नेपाली डिजिटल चलचित्र ‘कागबेनी’ निर्माण गरे । यो चलचित्र छायांकनका लागि रेड कम्पनीको डिजिटल क्यामेरा पहिलोपटक नेपाल ल्याइएको थियो । यस चलचित्रको निर्देशन भूषण दाहालले गरेका थिए । त्यतिबेला निर्माण भएको यो डिजिटल चलचित्रलाई प्रदर्शन गर्न नेपालमा चारवटा मात्र डिजिटल चलचित्रघर थिए । तथापि, यही टिमले २०६५ सालमा अर्को डिजिटल चलचित्र सानो संसार निर्माण ग¥यो । निर्माता नकिम उद्दिनका अनुसार यतिबेलासम्म नेपालमा आधा दर्जन डिजिटल चलचित्रघर निर्माण भइसकेका थिए । जसका कारण सानो संसारले राम्रो प्रभाव त्यतिबेला छाड्यो । तथापि, सुरुका दिनमा कागबेनी र सानो संसार रिलिज गर्न यी दुवै चलचित्रको रिल (नेगेटिभ) प्रिन्ट र डिजिटल प्रिन्ट तयार गरिएको थियो ।

त्यसको ५ वर्षभित्रमा नेपाली चलचित्रको निर्माण २०७० सालसम्म आइपुग्दा नेगेटिभमा चलचित्र खिच्नेक्रम लगभग बन्द भएको थियो । यतिबेलासम्म नेपालमा एक दर्जन डिजिटल ‘रेड फोर के’ क्यामेरा आइसकेका थिए । उता, चलचित्रघरमा पनि यतिबेलासम्म डिजिटल प्रदर्शन प्रविधि जडान गरिसकिएको थियो । जसका कारण २०७० सालबाट नेपाली चलचित्र उद्योग पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण भयो । यससँगै नेपाली चलचित्र आफैंमा ब्रान्डसमेत बन्न थाले । पछिल्लो एक दशकयता छक्का पञ्जा शृंखला, कबड्डी शृंखलाका चलचित्रहरू एउटा गहकिलो ब्रान्ड नै बनेका छन् । यीसँगै नेपालमा यस अवधिमा सिक्वेल चलचित्र निर्माणको लहर पनि चलेको छ । दर्जनौं नेपाली सिक्वेल चलचित्र व्यवसायमा सफल पनि भएका छन् ।

चलचित्रमा एनिमेसनदेखि भीएफएक्ससम्म सहज
नेपाली चलचित्र एनलग प्रविधिमा हुँदा चलचित्रका दृश्यलाई एनिमेसन एवं भीएफएक्स गर्न निकै गाह्रो थियो । सोही कारण चलचित्रका लागि क्यामेराले खिचेको दृश्य मात्र पर्दामा प्रस्तुत गरिन्थ्यो । नेपाली चलचित्र उद्योग डिजिटलमा प्रवेश गरेपछि छायांकन गरिएका दृश्यबाहेक एनिमेसन तथा भीएफएक्स प्रविधिबाट कृत्रिम दृश्यहरू पनि सिर्जना गर्दा थालियो । जसका कारण निर्देशकले परिकल्पना गरेको (तर खिच्न सम्भव नभएको) कृत्रिम दृश्य पनि भीएफएक्स प्रविधिका माध्यमबाट नेपाली चलचित्रमा राख्न थालियो । जसले नेपाली चलचित्रको गुणस्तर निकै माथि उठ्दै गयो । दर्शकले समेत सोच्न नसकेका कृत्रिम दृश्यहरू भीएफएक्सको प्रविधिबाट नेपाली चलचित्रमा राख्दा यस्ता दृश्यबाट दर्शक पनि पुलकित हुन थाले ।

नेपाली चलचित्रको व्यावसायिक छलाङ
सन् २००० ताका नेपालमा एउटा नेपाली चलचित्रले सरदर ३ करोडसम्मको व्यापार गथ्र्यो । त्यतिबेला ३ करोडको व्यापारलाई बक्स अफिसमा ब्लक बस्टर मानिन्थ्यो । अहिले नेपाली चलचित्रको व्यापार त्यति बेलाको तुलनामा २ हजार ५ सय गुणा बढेको छ । नेपालमै एउटा चलचित्रले ५० करोडसम्मको व्यापार अब नेपालका चलचित्रघरबाटै गर्न सक्छ भन्ने प्रमाणित नेपाली चलचित्र पूर्णबहादुरको सारंगीले गत वर्ष गरिसकेको छ । यस चलचित्रले नेपालका चलचित्रघरबाट मात्रै करिब ५० करोड रुपैयाँको व्यापार गरेको थियो । आजकाल नेपाली चलचित्रको व्यापार ४–५ करोडलाई सामान्य लिन थालिएको छ । यहाँ १५–२० करोडको व्यापार गर्ने चलचित्रको संख्या पनि निकै भइसकेका छन् । यसरी २५ वर्षअघि ३ करोडसम्म एउटा चलचित्रले व्यापार गरेको यो नेपाली उद्योगमा अहिलेसम्म आइपुग्दा व्यावसायिक छलाङ उच्च भएको छ । आजकाल एउटै चलचित्रले ५० करोडसम्मको व्यापार गर्नु उच्च व्यावसायिक सफलता हो ।

डिजिटलले वितरणमा ल्याएको आमूल परिवर्तन
नेपाली चलचित्र उद्योग डिजिटल प्रविधिमा परिणत भएपछि वितरण प्रणालीमा आमूल परिवर्तन आएको हो । नेपालमा २०६७÷६८ सालसम्म पनि नेपाली चलचित्रको प्रिन्ट बोरामा हालेर चलचित्र घरमा प्रदर्शनका लागि पठाइन्थ्यो । त्यतिबेलासम्म एउटा प्रिन्टलाई पालो मिलाएर दर्जनभन्दा बढी चलचित्रघरमा प्रदर्शन गरिन्थ्यो । तर, जब नेपालमा चलचित्रघर डिजिटल प्रदर्शनीमा परिणत भए । सोहीक्रममा नेपालमा चलचित्र वितरणका लागि डिजिटल सिनेमा नेपालले डीसीएन सर्भर र गोपीकृष्ण समूहले क्युब सर्भर ल्यायो ।

यसक्रममा नेपालमा विदेशी चलचित्र वितरणका लागि भारतबाट यूएफओ सर्भर पनि नेपालमा सञ्चालन भयो । यसरी नेपालमा डिजिटल सर्भर सञ्चालनमा आएपछि केन्द्रीय सर्भरमा चलचित्र लोड गरेपछि देशभरका चलचित्र घरका सर्भरमा एकसाथ चलचित्र पुग्न थाल्यो । त्यसअघि बोरामा रिलका बट्टा राखेर चलचित्रघरमा पठाउनुपर्ने कार्यले मुक्ति पायो । चलचित्रघरमा सर्भरबाट सोझै चलचित्र डाउनलोड गरेर डिजिटल प्रविधिबाट उच्च गुणस्तरमा चलचित्र प्रदर्शन गर्ने सुविधाले नेपाली चलचित्र उद्योगको वितरणमा आमूल परिवर्तन आयो ।

मल्टिप्लेक्स चलचित्रघरहरूको लहर
२०५८ सालमा नेपालका अधिकांश चलचित्रघरहरू संक्रमणकालीन अवस्थामा थिए । त्यसअघिको निरन्तर जनयुद्धका कारण खस्कँदो चलचित्र बजारले गर्दा सुविधा सम्पन्न चलचित्रघर निर्माण गर्नेमा हल सञ्चालकहरू दोधारमा थिए । जसका कारण मुलुकका अधिकांश चलचित्रघरहरू जीर्ण अवस्थामा चलिरहेका थिए । सोही कारण २०६२ सालसम्म आइपुग्दा नेपालभर धेरैजसो चलचित्रघर बन्द अवस्थामा पुगेका थिए । त्यतिबेला मुलुकमा मुस्किलले सयवटा चलचित्रघर सञ्चालनमा थिए ।

२०६५ सालपछि डिजिटल प्रणालीको प्रवेश र नेपालमा सुविधा सम्पन्न क्यूएफएक्स चेन चलचित्रघरको आगमनले यहाँका चलचित्रघरहरू डिजिटलसँगै भौतिक रूपमा पनि व्यापक परिवर्तन भयो । विदेशको जस्तै सुविधा सम्पन्न मल्टिप्लेक्स चेन चलचित्रघरहरू सुरुमा काठमाडौंमा र त्यसपछि मोफसलमा धमाधम स्थापना भए । आकर्षक भवन, एसीसहितका लक्जरियस सिटहरू, सेभेन प्वाइन्ट वान डिजिटल डीटीएक्स सराउन्ड डल्बी साउन्ड, चलचित्र भवनभित्रै क्याफेको सुविधा, घरबाटै टिकट बुक गरेर हलमा चलचित्र हेर्न जान पाइने सुविधा नेपालका सहरदेखि गाउँसम्मका आधुनिक चलचित्रघरमा पाइन थाल्यो । चलचित्र प्रदर्शनको सबै हिसाब चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टबाट निर्माताले पाउन थाले । अहिले मुलुकभर १ सय ६० सुविधा सम्पन्न चलचित्रघरहरू सञ्चालनमा छन् । यसरी सुविधा सम्पन्न मल्टिप्लेक्स चलचित्रघरका लहरले २०७० सालपछि चलचित्रघरमा दर्शकहरू फर्कनेक्रम मौलाएको छ ।

अन्तर्राष्ट्रिय प्रदर्शनमा उछाल
पछिल्लो एक दशक यताबाट विदेशमा नेपाली चलचित्रको व्यावसायिक प्रदर्शनी सुरु भएको छ । एक दशक अघिसम्म पनि नेपाली चलचित्रलाई विदेशमा प्रदर्शन गर्न सहज थिएन । त्यतिबेला नेपाली चलचित्रलाई भीएफएफ, सीडी, डीभीडी, पेन ड्राइभमा राखेर विदेश पठाइन्थ्यो र यिनै प्रविधिमार्फत चलचित्र प्रदर्शन गरिन्थ्यो । तर, पछिल्लो आधा दशक यतादेखि नेपालबाट सोझै विश्वभरका चलचित्रघरमा सर्भर प्रणालीबाट चलचित्र प्रदर्शन हुने गरेका छन् ।

जसका कारण नेपाली चलचित्र विश्वका जुनसुकै चलचित्रघरमा पनि रिलिज हुन थालेका छन् । अझ सेभेनसिज सिनेमा, सेभेनसिज इन्टरनेसनल तथा विभिन्न देशका चलचित्र वितरण कम्पनीहरूले नेपाली चलचित्रलाई छायांकनकै क्रममा किनेर नेपालमा रिलिज भएकै दिन एकसाथ विदेशका चलचित्रघरमा रिलिज गर्न थालेका छन् । राम्रो नेपाली चलचित्रले केही वर्ष यताबाट एउटै चलचित्रले विदेशमा नै ५ देखि ७ करोड रुपैयाँसम्म कमाउन थालेको छ । यसरी नेपाली चलचित्रको पछिल्लो दशकमा विदेशमा प्रदर्शनीमा उछाल आएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फतुवा बिजयपुर नपाका मेयर उम्मेदवार विजय यादवकाे निर्वाचन केन्द्रीत गतिविधि तिब्र