काठमाडौं । कला र वातावरणीय चेतनालाई महत्व दिएर तयार पारिएको चित्रकला यति बेला काठमाडौँ बौद्ध स्थित तारागाँउ नेक्सट परिसरमा प्रदर्शनमा राखिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वल्र्ड’ शीर्षकमा त्यहाँ प्रदर्शनी सुरु गरिएको हो ।
प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेर प्रस्तुत गरिएको छ । बिहीबार उद्घाटन गरिएको यो प्रदर्शनी शुक्रवारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको आयोजक पक्षले जनाएको छ । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजित यो प्रदर्शनी तीन महिनासम्म चल्ने छ ।
१२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूको चित्र, मूर्ति, दृश्य जस्ता विविध कलालाई प्रदर्शनीमा राखिएको छ । सगरमाथा नेक्सटले यो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीको भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन् । प्रदर्शनीमा स्रष्टाले विभिन्न माध्यमबाट आफ्नो कला अभिव्यक्त गरेका छन् ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असरलाई चित्रकलामा समेटेर प्रदर्शनी गरिएको छ । यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराउने आयोजक पक्षको कथन छ ।
डा. अर्शियाले विश्वव्यापी पारिस्थितको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको बताइन् । उनका अनुसार प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरिएको छ ।

प्रदर्शनीमा स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियो प्रदर्शनीको आयोजना पनि गरिँदै आएको छ । यो भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र अब्यवस्थित उत्खननमाथि प्रश्न उठाएको छ । उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको फरेस्ट माइन्ड भिडियोले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा चर्चा गरेको छ ।
नेपाली कलाकार संयुक्ता भण्डारीको एकोज अफ सर्भाइवल शीर्षकको कलाले सहरीकरणबिच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनि मार्फत प्रतिविम्वित गराउने जमर्को गरेको छ ।
अर्का नेपाली कलाकार अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीन वटा फोटोग्राफिक मार्फत प्रस्तुत गरेका छन् । प्रकृतिमा मानव दोहनको समस्या यो कलामा प्रस्तुत छ ।
यस्तै भारतीय कलाकार उत्सा हजारिकाको यन्त्र–ब्लुम जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ भाव दिएको छ भने मक्सुद अली मण्डलको फंगल ह्याबिट्याट मूर्तिकलाले पनि वातावरणको महत्व जनाएको छ । यो मूर्ति च्याउ, माटो र काठको संयोजनमा तयार गरिएको हो ।
यस्तै क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र दष्य प्रस्तुत गरेका छन् । रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स् एण्ड को सोनिक कला मार्फत ध्वनि इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन् ।
प्रदर्शनीमा मोनिका उर्सिना जेगर, जोआना मोल, सौरगंगा दर्शनधारीका सिर्जनाहरू विशेष प्रस्तुतिका रूपमा राखिएको छ । जसमा मोनिका उर्सिना जेगरले लिक्विड टाइम शीर्षकमा पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई प्रस्तुत गरेकी छिन भने जोआना मोलको ४००४ शीर्षकमा राखिएको कलामा माइक्रोचिप निर्माणले कीराको संख्यामा निम्तिएको गिरावटलाई प्रस्तुत गरिएको छ ।
नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलाले खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोड्ने काम गरेको सन्देशलाई सौरगंगा दर्शनधारीले रमाइलोसँग आफ्नो कलामा समेटेका छन् । उनको कला पनि आकर्षक छ ।