अफताफ आलमलाई सफाइ दिने न्यायाधीशलाई कालोमोसो

काठमाडौं । उच्च अदालत, वीरगन्जका न्यायाधीश डा. खुसीराम थारूलाई इजलासमै घुसेर कालो मसी प्रहार भएको छ । नेकपा बहुमत पार्टीका कार्यकर्ता बताउने तीन जनाको समूहले बिहीबार दिउँसो इजलासमा पुगेर कालो मसी प्रहार गरेका हुन् ।

न्यायालयको इतिहासमा यसरी इजलासमै घुसेर न्यायाधीशमाथि फैसलाको कारण देखाएर दुव्र्यवहार गरेको यो पहिलो घटना हो । उच्च अदालतमा बिहीबार भएको सो घटनाले न्यायाधीशको सुरक्षामाथि चुनौती थपिएको छ ।

इँटाभट्टामा जिउँदै मानिसलाई पोलेर हत्या गरेको आरोप लागेका अफताब आलमलाई उच्च अदालत जनकपुर वीरगन्ज इजलासबाट सफाइ दिने न्यायाधीशमध्ये खुसीराम एक थिए । जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिइएको थियो ।

मोसो दलेर उनीहरूले नेकपा बहुमत जिन्दावाद भन्दै नारासमेत लगाएका थिए । आफ्नो पार्टीले भ्रष्टाचारीलाई यसरी नै कारबाही गर्ने भन्दै मोसो दल्नेहरूले भनेका थिए– ‘नेपाल कम्युनिस्ट पार्टी बहुमतद्वारा देशभरि भ्रष्टाचारविरुद्ध यसरी नै कारबाही गरिन्छ, जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्ने ?’

मोसो प्रहार गर्ने तीन जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मोसो प्रहार गर्नेहरूमा प्यूठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदमबहादुर मगर र सिरहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन् । कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् । त्यस्तै, मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिरहाका जिल्ला समिति सदस्य रहेका छन् ।

मोसो प्रहार गरेलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । थारूसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

फैसलाको विषयलाई लिएर उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध परेका उजुरी र सार्वजनिक रूपमा भइरहेका टीकाटिप्पणीका आधारमा न्यायपरिषद्ले प्रारम्भिक छानबिन अघि बढाइसकेको छ ।

न्यायपरिषद् बैठकले सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । स्रोतका अनुसार विवादित मुद्दाको मिसिल र राय किताबको फोटोकपी झिकाइसकिएको छ । फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन । भण्डारी संयोजकत्वको समितिले प्रारम्भिक अनुसन्धानपछि तयार पारेको प्रतिवेदन प्राप्त भएपछि न्यायपरिषद्ले थप निर्णय लिनेछ ।

संविधानसभा निर्वाचनताका २७ चैत २०६४ रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । आलमले निर्वाचन जित्न भारतबाट बम बनाउने मानिस बोलाएका थिए ।

त्रास देखाएर बुथ कब्जा गरी निर्वाचन जित्ने रणनीतिमा रहेका मोहम्मद आफ्ताब आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए । आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो । ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालतले १४ जेठमा सफाइ दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने