राजविराज । कुटपिट, लुटपिट र धाक धम्की दिनेविरुद्ध कारवाहीको मागसहित राजविराज नगरपालिकाका कर्मचारीहरु धर्नामा बसेपछि ४ दिनदेखि कार्यालयको कामकाज ठप्प छ । नेपाल नगरपालिका कर्मचारी एसोशियसनको नेतृत्वमा नगरपालिकाका कर्मचारी विगत ४ दिनदेखि धर्नामा बसेपछि कामकाज ठप्प भएको हो ।
प्रमुख प्रशासकिय अधिकृतको सरुवाको विषयलाई लिएर आन्दोलनमा उत्रेका निलम्बित मेयर भीमराज यादव समर्थकहरुले नगरपालिकामा जेठ २५ गते तालाबन्दी गरेका थिए । कार्यवाहक नगरप्रमुख इसरत परवीन पक्षका समर्थकले स्थानीय प्रशासन समेतको सहयोगमा जेठ २७ गते नगरपालिकाको ताला खोलेका थिए ।
त्यसको प्रतिकार गर्दै तोडफोडमा उत्रेका निलम्बित मेयर यादव सर्मथकहरुले नगरपालिकाका लेखा अधिकृत शत्रुधन दास, स्वास्थ्थकर्मी संतोष दास तथा केही सर्वसाधारण समेतलाइ कुटपीट तथा नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए ।
नेपाल नगरपालिका कर्माचारी एशोसिएशन राजविराजका अध्यक्ष कल्पना देवले सो क्रममा लेखा अधिकृत दासमाथी कुटपीटका साथै उनको सुनको सिक्री समेत लुटिएको बताइन । प्रमुख प्रशासकिय अधिकृतमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हरिकिशोर प्रसाद चन्द्रबंशीलाई सरुवा गरेर पठाएपछी उनको सोमवार पद बहाली समेत भएको छ ।
तर कुटपीट र लुटपीटमा संलग्नहरुलाई कारवाही र क्षती पुर्ती माग्दै धर्नामा वसेका कर्मचारीहरु भने काममा फर्किएका छैनन । उनीहरुले माग पुरा नभएसम्म काममा नफर्कने अडान लिएका छन । कुटीपीट र लुटपीटमा संलग्नलाई पक्राउ गर्नूका साथै कर्मचारीहरुले १५ वर्ष देखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक दासलाई कार्यपालिकाको पछिल्लो निर्णय अनुसार पुनः काममा लगाईनु पर्ने, दैनिक ज्यालादारी कर्मचारीको १६ दिनको बाँकी रहेको तलब भुक्तानी दिनु पर्ने, कुटपीट र तोडफोडमा संलग्न योजना अधिकृत मनोज यादव सहितका ब्यक्तीलाई कारवाही तथा कर्मचारीको दुर्घट्ना बीमाको व्यवस्था लगायतका माग समेत अघि सारेका छन् ।