आजबाट ग्वार्को ‘फ्लाइओभर’मा गाडी हुइँकिँदै

काठमाडौं । ललितपुरको ग्वार्काेमा निर्माण सम्पन्न भएको ओभरपास (फ्लाइओभर) आजबाट सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकामा अधिक जाम हुने स्थानका रूपमा रहेकोे ग्वार्को चोकमा राहत खोजिरहेका लाखौं यात्रुका लागि यसले राहत दिनेछ । ३९ महिनाको निर्माण कार्यपछि ५ सय ४० मिटर लामो ग्वार्को फ्लाइओभर अन्ततः शुक्रबार (आज)देखि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्ने तयारी रहेको छ ।

जामबाट हैरान भएकाले शुक्रबारबाट राहत पाउने

चक्रपथ सडकको बीचको चार लेन सडक पर्खाल लगाएर माथि उठाई ओभरपास (फ्लाइओभर) बनाइएको छ । ग्वार्काे फ्लाइओभरअन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो एप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोमा ¥याम बनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सो फ्लाइओभरको उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

मुख्य संरचनाको निर्माणपछि सडकको मध्यलाइनमा ‘लेन सेपरेटर’ राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन गर्न लागिएको हो ।

फ्लाइओभरमार्ग सवारीका लागि खुला गरिने सडक विभागले जनाएको छ । सडक लाइनिङ गर्ने लगायतका अन्तिम तयारी सकाइसकिएको छ ।

ग्वार्को क्षेत्रको सवारी जाम न्यूनीकरण गर्न निर्माण गरिएको सोे फ्लाइओभरले यातायात सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । फ्लाइओभरअन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको सडक विभागले जनाएको छ । फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि गरिनेछ ।

आशीष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाइओभर निर्माणको काम गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको फ्लाइओभर सुरु ठेक्का सम्झौताबमोजिम ११ फागुन २०८० मा सम्पन्न हुनुपर्ने थियो । तर, निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।

सडक विभागले ईपीसी मोडलमा फ्लाइओभर निर्माण गर्नेगरी २०७८ माघमा आरसी समानान्तर र रेलिगेर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिइएको अन्तिम म्याद गत ८ पुसमै सकिसकेको थियो । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै फ्लाइओभरलाई अन्तिम चरणमा पु¥याएको हो ।

फ्लाइओभर सञ्चालनमा आएपछि त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता पुग्ने विश्वास लिइएको छ । विशेषगरी, ग्वार्को चोकमा सवारीसाधन लामो समयसम्म कुर्नुपर्ने समस्या फ्लाइओभर सञ्चालनपछि अन्त्य हुनेछ ।

पटकपटक गरी थप गरिएको म्याद ८ पुस २०८१ सम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीले २०८१ चैत मसान्तसम्मका लागि म्याद थप गर्न माग गरेको थियो । सो सडकमा कालोपत्रे १२ सेमी राखिएको छ । १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी समाबेस गरिएको छ । साथै, ट्राफिक लाइट जडान कार्य पनि कम्पनीले नै गर्नुपर्ने सम्झौता छ ।

कोटेश्वरतर्फ ३ सय २० मिटर सडकमा र सातदोबाटोतर्फ १ सय ८० मिटरमा प्रिकास्टस कंक्रिट फेसिया प्यानल जडान भएको छ । क्रंक्रिट प्यानल र ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर १० दशमलव २ मिटर अग्लो ¥याम्प बनाइएको छ ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअनुसार ठेक्का गरिएकाले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिएको थियो । डिजाइन नमिलेपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले पुनः डिजाइन गरेका थिए । डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम नसकिएको व्यवसायीले बताउँदै आएको थियो ।

२०२२ फेब्रुअरीमा सुरु भएको यो परियोजना लगातार समस्यामा अल्झिएको थियो । गत वर्षको वर्षामा ४ महिना काम रोकिएको थियो । सातदोबाटोतर्फको ४० मिटर ¥याम्पमा प्राविधिक गडबडी भएपछि निर्माण कम्पनीले पुनर्निर्माण गर्नुपरेको थियो ।

ग्वार्को चोकले मंगलबजार, इमाडोल र कोटेश्वर–कलंकी रिङरोड जोड्ने भएकाले फ्लाइओभरलाई ग्वार्कोदेखि सातदोबाटो–कोटेश्वरसम्म बिनारोकावट यातायात प्रवाह गर्ने कसीका रूपमा लिइएको छ ।

फ्लाइओभर सञ्चालनमा आएसँगै ६० देखि ७० प्रतिशत सवारी जाम ह्रास हुने र प्रतिदिन ३० देखि ४५ मिनेट यात्रा समय बच्ने अनुमान गरिएको छ ।

ईपीसी मोडलमा बनाइएको सो फ्लाइओभरको स्थायी अनुगमन गरिने र ५ वर्षसम्म निर्माण कम्पनीले ग्यारेन्टीको जिम्मेवारी लिने सडक विभागले जनाएको छ ।

फ्लाइओभर उद्घाटनपछि यस वरिपरिका फुटपाथ, बत्ती, पार्किङ र ट्राफिक नियमन प्रणाली एकसाथ विकास गरिने बताइएको छ ।

ग्वार्कोसँगै सरकारले सातदोबाटो, नक्खुजस्ता चोकलाई पनि इन्डिपेन्डेन्ट फ्लाइओभर वा अन्डरपासको व्यवस्था गर्ने योजना गरिरहेको छ ।

विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएकामा निर्माण कम्पनी जेभीले तोकिएको समयमा काम सम्पन्न नगरेपछि सरकारले ८ पुस २०८१ सम्म म्याद थप गरेको थियो ।

निर्माण कार्य अन्तिम चरणमा पुगेकै बेला कंक्रिटको एउटा प्यानलको ज्वाइन्ट ग्याप बढेको देखिएपछि बनिसकेको पर्खाल भत्काउनुपरेको थियो । त्यसपछि पुनः म्याद थप गरी वैशाखसम्म पु¥याइएको थियो ।

सम्झौताअनुसार तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि कम्पनीलाई थप भार थपिँदै गएको थियो । म्याद सकिएको ८ पुसदेखि नै निर्माण कम्पनीले कुल बजेटको शून्य दशमलव शून्य ५ प्रतिशत हर्जाना तिर्दै काम गर्दै आएको छ ।

‘फ्लाइओभर’ सञ्चालनमा आएपछि मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट बिना अवरोध जानेछन् । त्यस्तै, चक्रपथतर्फ जाने सवारीसाधन नरोकिई सिधै चल्नेछन् ।

सो फ्लाइओभर निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा एमआर भीम–सगरमाथा जेभी, शर्मा एन्ड कम्पनी, लामा–गोल्डेन गुड जेभी, सूर्य–भ्याली–विकास–ब्रदर्स जेभी, एलिट कन्स्ट्रक्सन, अनक–श्रेष्ठ जेभी, तुन्दी–रसुवा–रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष–समानान्तर गरी ९ कम्पनीले आवेदन दिएका थिए ।

यीमध्ये आशीष समानान्तर छनोट भएको थियो । आशीष समानान्तरले अनुमानित लागतभन्दा ३२ प्रतिशत कम मूल्यमा उसले ठेक्का हात पारेको हो ।

सुरुवातमा ३२ प्रतिशत न्यून मूल्यमा ठेक्का लिएको निर्माण कम्पनीले अहिले आफू नोक्सानमा काम गरिरहेको दाबी गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा बागी उम्मेदवारी दिनेमाथि गठबन्धनले गर्यो कारबाही