कराँची । चलचित्रको पर्दामा चम्कँदा लाखौँ करोडौँ प्रशंसकहरू हुने कतिपय कलाकारहरू जीवनको अन्तिममा एक्लै बेवारिसे लास बन्नु पर्ने अवस्था पनि आउँने गरेको छ । हलिउड देखि बलिउडसम्म भएका यस्तो घटना यति बेला पाकिस्तानी चलचित्र उधोगमा पनि घटेको छ ।
पाकिस्तानी एक समयकी लोकप्रिय अभिनेत्री आयशा खानको यही हालत भएको छ । उनको शव ७ दिनदेखि आफ्नै घरमा सडिरहेको अवस्थामा प्रहरीले भेटेका छन् । ७७ वर्षीय आयशा यस अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्, किनकि उनका छोराछोरी विदेशमा बस्छन्।
केही दिनदेखि उनको घरमा चालचुल थिएन । सोही क्रममा शुक्रबार बिहान छिमेकीहरूले उनको घरबाट दुर्गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरे । प्रहरीले दिग्गज अभिनेत्री आयशा खानको घर भित्र पसेर हेर्दा उनको शव सडिरहेको अवस्थामा भेटियो ।
अभिनेत्री आयशा खान कराँचीको गुलशन–ए–इकबाल क्षेत्रमा रहेको उनको अपार्टमेन्टमा बस्थिन् । उनको शव सोही फ्ल्याटबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
एक समयकी लोकप्रिय अभिनेत्री आयशा आफ्नै घरमा एक सातादेखि बेवारिसे मृतक बनेको खबरले शुक्रबार पाकिस्तानी दर्शकहरूलाई स्तब्ध तुल्याएको छ ।
उनको स्वाभाविक मृत्यु वा हत्या भएको जानकारी पोस्टमार्टम पछि थाहा हुने प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले अभिनेत्रीको हत्या वा स्वभाविक मृत्य जे पनि हुन सक्ने बताएको छ । अभिनेत्रीको शवलाई शनिबार पोस्टमार्टम गरेपछि परिवारको अनुरोधमा, गोठस्थित एधी फाउन्डेसनको शव गृहमा लगिएको छ । उनका छोराछोरी विदेशबाट पाकिस्तान आएपछि आइतबार अन्तिम संस्कार गरिने प्रहरीले जनाएको छ ।
यी अभिनेत्रीले दर्जनौँ उर्दु चलचित्रमा मुख्य भूमिका निभाएकी थिईन् । उनले अफशान, उरुसा, आँच, बन्धन, शाम से पहले जस्ता दर्जनौँ उच्च–प्रोफाइल पाकिस्तानी धारावाहिक सिरियलहरूमा मुख्य भूमिकामा काम गरेका कारण पाकिस्तामा उनलाई घर घरमा सबैले चिन्ने गरेका थिए । जसका कारण उनी पाकिस्तानी चलचित्र उद्योगकी निकै श्रद्धा गरिने अभिनेत्रीको रूपमा परिचित थिइन् ।