लमजुङ । लमजुङकी एक पौरखी महिलालाई अभाव, बेरोजगारी र लकडाउनले उद्यमी बनाएको छ । उनी हुन्– राइनास नगरपालिका– २ स्थित भलायखर्क गाउँकी जुनु विश्वकर्मा । उनी यतिबेला लमजुङमा सफल उद्यमीका रुपमा मात्र परिचित छैनन् । हस्तकलाको तालिमको प्रशिक्षक समेत बन्ने गरेकी छिन् ।
उनी बेसीशहर नगरपालिका– ८ को फिल्महल चोकमा रहेको ‘प्रिन्स हस्तकला’को प्रोपाइटर हुन् । जहाँ उनले आफैले हस्तकलाका सामग्री उत्पादन र बिक्रिवितरण गर्ने गर्दछिन् । स्वाभिमानी स्वभावकी जुनु विश्वकर्मा सानैदेखि आत्मनिर्भर हुनुपर्छ भन्ने सोच राख्थिन् । तर उनलाई आर्थिक स्थितिको कमजोरीले निम्त्याएको अभाव, बेरोजगारी तथा कोरोनाकालमा भएको लकडाउनले उद्यमी बन्नका लागि अनुकुल वातावरण दिएको उनले जानकारी दिइन् । उद्यमी बन्ने सोच र बाटो के कसरी खुलेको हो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘आर्थिक अभाव, बेरोजगार स्थिति अनि लकडाउनमा समय उपयोग गर्ने क्रममा आफू उद्यमीका रुपमा चिनिन सकेकी हुँ ।’ कक्षा– ८ मा पढ्दै गर्दा बुबाको निधन भयो, त्यस घट्नाले गर्दा पनि सानैदेखि अभावमा बाच्न अभ्यस्त बनाएको जुनुको अनुभव छ ।
उनको जन्म थलो जिल्ला सदरमुकामको बेसीशहरको छिमेकी गाउँ गाउँशहरको जोगीकुला गाउँ हो । स्थानीय बालकल्याण माविबाट २०६६ सालमा एसएलसी उतीर्ण गरेकी जुनुको शुभविवाह २०६८ सालमा राइनास नगरपालिका– २ को भलायखर्क, लमजुङ निवासी रामबहादुर विकका साथमा भएको हो । रामबहादुर नेपाली सेनाबाट निबृत्त भएर हाल गृहस्थी जीवन विताइरहेका छन् ।

विवाहको तीन वर्ष जति श्रीमान्सँग बसेँ, श्रीमान् ड्युटीमा जादा हुने एक्लोपनले उनलाई आफैले केही सीप सिकेर आयआर्जन गर्नु पर्छ भन्ने सोच आएको उनले बताइन् । त्यसपछि श्रीमान्सँग सल्लाह गरेर उनी माइतीमा फर्किन् । त्यसपछि बेसीशहरमा बसेर सिलाई कटाई, बुटिक, झुलाझुम्मर, बम्बोका सामग्री बनाउने जस्ता तालिमहरू २०७२ सालदेखि लिन थालेर ०७४ मा पुरा गरेको जुनु बताउँछिन् । उनले भनिन्, ‘बम्बोको तालिम सिद्धिएकै भोलिपल्टदेखि ऐले आफैले चलाएको पसलमा काम गर्न थाले, त्यो बेला यो पसल ………… चिलवालले सञ्चालन गर्नु भएको थियो ।’ पछि चिलवालले पसल बेच्ने कुरा गर्नु भयो र म आपैmले यो किन्न सफल भएकी हुँ जुनुले जानकारी दिइन् । त्यसअघि आफूले कस्मेटिकको व्यापारसमेत गरेको तर त्यसमा सान्तोषजनक प्रगति भएन, त्यसपछि पेशा परिवर्तन गर्ने सोचले ऐलेको सफलता हासिल भएको जुनुको भनाइ छ ।
सुरुका दिनमा घरेलुद्वारा सञ्चालित तीन महिने सिलाईकटाई तालिम लिएकी उनले ०७२ मा एक महिने बुटिक तालिम, ०७५ सालमा सिलाई कटाईको एडभान्स तालिम एक महिने तालिम, ०७९ मा १५ दिने मखमलीको जुत्ता बनाउने तालिम, लिएर आफ्नो सीपलाई निखारता दिने काम गरेको उल्लेख गरिन् ।
एकै ठाउँमा जुनुले बाहिर पसल र भित्र सामग्री निर्माणको काम अर्थात उद्योग सञ्चालन गर्ने गरेको समेत जानकारी दिइन् । ऐलेको पेशामा भने सन्तुष्ट रहेको उनको भनाइ छ । धेरै जसो अडर अनुसारकै सामग्री उत्पादन गर्ने गर्दछु उनले भनिन् ।
यतिबेला भने जुनु आफ्नो पसलका लागि आवश्यक सामग्री आफैले निर्माण गर्नेमात्र नभई ती सामग्री बनाउने तालिमको प्रशिक्षक समेत बन्न सफल भएकी छन् । उनले भनिन्, ‘हस्तकलाका सामग्री बनाउन, आफूलाई आवश्यक पर्ने आफैले साइज, साइजका सिसाहरू काटेर साइज मिलाउने तथा बाँसका सामग्री बनाउन आवश्यक चोया काड्ने लगायतका काम समेत आफै गर्दछु ।’
आर्थिक मन्दीले व्यापार उस्तो छैन तर बजारका लागि खासै समस्या नभएको समेत जुनुले बताइन् । उनी भन्छिन्– ‘बम्बोको ट्रे, घडीलाई आठ सयदेखि १२ सयसम्ममा विक्रि गर्ने गरेकी छु ।’ त्यस्तै, ऐनको पाँच इन्च देखि १२ इन्चसम्मको पनि बनाउने गरेको र ती सामग्री प्रति इञ्चको सय रुपैयाँका दरले बिक्रि गर्ने गरेको जानकारी दिइन् । उनले कच्चा पदार्थका रुपमा प्रयोग गर्ने बाँसको एक घनालाई तीन सय रुपैयाँमा खरिद गर्ने गरेको भन्दै जस्तो पायो त्यस्तो बाँस काम लाग्दैन लामो लडी भएको बाँस चाहिन्छ उनले भनिन् ।
त्यो बीचमा मखमलका कपडाको जुत्ता चप्पल समेत बनाउने तालिम लिएकी जुनु ती सामग्रीको समेत उत्पादन गर्ने गरेको बताइन् ।
आफ्नो उद्योगमा मन्दीले गर्दा अन्यलाई रोजगार दिन सक्ने अवस्था छैन । तर मेला महोत्सव हुने बेलामा आउने अर्डर अनुसारको सामग्री तयार गर्नका लागि उनले आफ्नो सामग्री दिएर ज्यालामा सामान तयार गर्ने त्यसका लागि आफूसँगै तालिम लिएका दिदीबहिनीहरू ३÷४ जनालाई काम दिने गरेको जुनुले बताइन् ।
‘मसँग तालिममा भाग लिने १४ जना थियौं । अन्य कसैले पनि यस्तो व्यवसाय सञ्चालन गरेका छैनन् । आफ्नो घर, छरछिमेकका लागि मात्र केही उत्पादन गर्दछन् ।’ उनले भनिन्, ‘उनीहरू सबैका सामु आफू व्यवसायिक हुन सकेकोमा पनि जुनुलाई आत्म सन्तुष्टि मिल्ने र खुशी लाग्ने गरेको छ ।’

उनले थप भनिन्, ‘कोरोनाकालको लकडाउनको समयमा मलाई यो सीप सिक्ने राम्रो मौका मिल्यो, त्यो बेलामा घर बाहिर निस्कन नपाईने भएपछि आफूले घरमै बसेर सामग्री बनाउन हातको सफाई गर्न सकेँ र यत्तिको काम गर्न सक्ने भएकी हुँ ।’ इच्छाशक्ति मुख्य कुरा हो, महिलाले पनि गर्न नसक्ने केही छैन उनले सगर्व सुनाइन् ।
उनले थप जानकारी दिइन्, ‘मलाई आर्थिक अभाव, बेरोजगारीले पनि यो सीप सिक्न उत्प्रेरित गरेको हो ।’
यतिबेला जुनु उद्यमी र व्यापारी मात्र नभई हस्तकलाको प्रशिक्षकका रुपमा समेत परिचित छन् । उनले पर्यटन तथा घरेलु कार्यालय तथा विभिन्न वडा कार्यालयले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षक हुने मौका समेत पाएकी छन् । क्ब्होलासोंथर गाउँपालिका– ३ को घले गाउँ र सोही पालिका– ८ को घाम्राङमा रहेको दलित वस्तीमा गएर दिएको तालिमले स्मरणीय रहेको सुनाइन् । उनले भनिन्, ‘त्यहाँका १०– १२ जना दिदीबहिनी व्यवसायिक हुनेतर्फ जुटेको जानकारी पाएकी त्यसले गर्दा समेत खुशी लाग्छ ।’
उहाँले विभिन्न प्रकारका सम्मान पुरस्कार तथा प्रशंसा पत्र समेत पाएकी छन् । क्ब्होलासोथार गाउँपालिका– ३ र वडानं ८ घाम्राङमा सञ्चालित १५ दिने तालिममा मुख्य प्रशिक्षक हुनु भएकोमा दुवै वडा कार्यालयले प्रशंसा पत्र दिएका छन् । त्यस्तै, आठौं लमजुङ महोत्सवमा र नवौं सुन्दरबजार महोत्सवका आयोजक लमजुङ उद्योग वाणिज्य संघबाट सम्मानित भएको उनले प्रमाणपत्र देखाउँदै जानकारी दिइन् ।