लमजुङ । लमजुङको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङद्वारा उत्कृष्ट पशुसेवा शाखा र पशु प्राविधिकलाई सम्मान गरिएको छ । विज्ञ केन्द्रले एक कार्यक्रमको आयोजना गरि कार्यसम्पादनको आधारमा जिल्लाका स्थानीय तहमा रहका पशु सेवा शाखा र पशु स्वास्थ्य प्राविधिकलाई सम्मान गरेको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङको मुल्याकंन र उत्कृष्ट कार्यसम्पादनको आधारमा जिल्लामा रहेका आठ स्थानीय तह मध्ये ३७.५ अंक प्राप्त गरि सुन्दरबजार नगरपालिका पशु सेवा शाखा पहिलो हुन सफल भएको छ । यसैगरी ३७ अंकका साथ बेसीशहर पशु सेवा शाखा दोस्रो तथा ३६ अंकका साथ मध्यनेपाल पशु सेवा शाखाले तेस्रो स्थान हासिल गरेको छ ।
पहिलो, दोस्रो र तेस्रो हुन सफल पशु शाखा प्रमुखलाई प्रशंसा पत्र सहित सम्मान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त प्रमुख डा. सुनिल न्यौपानेले बताए । उनका अनुसार कार्यालयले उत्कृष्ट प्राविधिकको रुपमा तीन जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा पशु सेवा शाखा बेसीशहरमा कार्यरत पशु स्वास्थ्य प्राविधिक सुवास चिलुवाल, पशु शाखा सुन्दरबजारका पशु स्वास्थ्य प्राविधिक शिवहरी मिश्र र राइनास नगरपालिका पशु शाखामा कार्यरत पशु स्वास्थ्य प्राविधिक निर्मलचन्द्र कट्टेल रहनुभएको छ । तिनैलाई प्रथामिक उपचार सामग्री सहित सम्मानपत्र प्रदान गरिएको हो ।

पुरस्कृतहरूलाई जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त प्रमुख डा. सुनिल न्यौपानेले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । उत्कृष्ट हुन सफल पशुसेवा शाखा र प्राविधिकहरूलाई बधाई दिँदै अझै उत्कृष्ट कार्य गर्न सुझाव दिनुभयो । जिल्लामा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरूको साझा प्रयासबाट मात्रै अपेक्षित उपलब्धि हाँसील हुने हुँदा समन्वयमा काम गर्न सुझाव दिए । उनले नयाँ आर्थिक वर्षमा नयाँ सोचका साथ अघि वढ्न आग्रह गरेका थिए ।
पश्चिमाञ्चल मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बालकुमार श्रेष्ठले सवैको साझा पहललले मात्र सफलता हाँसील गर्न सकिने बताए । उनले कार्यसम्पादनका क्रममा भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्न उहाँले पशु स्वास्थ्य प्राविधिकहरूलाई अनुरोध गरे । उनले कर्मचारीको उत्प्रेरणा जगाउन सके, किसानहरुको क्षमता अभिवृद्धि गर्न सकेमा अपेक्षित उपलब्धि हाँसील गर्न सकिने धारणा व्यक्त गरेका थिए । सो कार्यक्रमको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्राविधिक सहायक प्रकाश पुनले सञ्चालन गरेका थिए ।