खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित शैक्षिक सुधार घोषणापत्र तथा वार्षिक कार्ययोजना सार्वजनिक कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो । यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका छात्राछात्राहरूले नै नगरभित्र प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।
छात्रतर्फ अनुपम आचार्य र जोमिन गुरुङ समान ३.८० जीपीए सहित प्रथम हुन सफल भएका छन् । आचार्य र गुरुङलाई जनही २५ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको छ । यस्तै ३.६८ जीपीए ल्याएर दोश्रो हुने डेगेन्द्र विकलाई १५ हजार, ३.६७ जीपीए ल्याएर तेश्रो हुने अनुपराज आचार्यलाई १० हजार नगद पु्रस्कारसहित सम्मान पत्र प्रदान गरिएको छ । यस्तै, छात्रातर्फ ३.७६ जीपीए ल्याएर एलिसा बास्तोला पहिलो, ३.७० जीपीए ल्याएर अञ्जली श्रेष्ठ दोस्रो र ३.६८ जीपीए ल्याएर एलिजा आचार्य तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने छात्राहरुलाई क्रमस जनहि २५ हजार, १५ हजार र १० हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै, विद्यालयतर्फ ९५.४५ प्रतिशत अंक प्राप्त गरी ज्योति माध्यमिक विद्यालय जालपा नगर प्रथम भएको छ । वडानम्बर–१२ मा सञ्चालित ज्योति माध्यमिक विद्यालय जालपालाई ५० हजार नगद पुरस्कारसहित सम्मान गरिएको छ । यस्तै, वडानम्वर–६ नेर्पामा रहेको कालिका माध्यमिक विद्यालय दोस्रो भएको छ । ९१.३ प्रतिशत अंक प्राप्त गरी कालिका माध्यमिक विद्यालय नेर्पाले द्वितीय स्थान हासिल गरेको हो ।
कालिका माध्यमिक विद्यालय नेर्पालाई ३० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ । यस्तै, ८६.९६ प्रतिशत अंक प्राप्त गरी वडानम्वर–१ मा संञ्चालित पञ्च माध्यमिक विद्यालय तेस्रो भएका छन् । पञ्च मावि दिक्तेललाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
उत्कृष्ट अंक र जीपीए प्राप्त गर्ने विद्यालय र विद्यार्थीहरूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई र जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।