वीरगन्ज । मधेशका १ सय ३६ पालिकाहरु मध्ये पर्साको ठोरीलाई सम्झना लायक र ऐतिहासिक गाउँपालिका यत्तिकै भनिएको होइन । शनिबार पनि पर्साको ठोरीले जिल्लाका १४ पालिका मध्ये १३ वटा र मधेशकै १ सय २९ गाउँपालिकालाई पछि पार्दै साक्षर पालिका घोषणा भएको छ । छेवैमा अवस्थित जिल्लाकै सदरमुकाम समेत रहेको मधेशको एक मात्र महानगरपालिका ‘वीरगन्ज’ले अझै ल्याप्चे दुई जना जनप्रतिनिधि बोकेर बसेको छ । त्यसलाई समेत लल्कार्दै ठोरीले भने शिक्षा साक्षरतामा ‘आफ्नो पालिका’ लाई साक्षर पालिका घोषणा गर्न सकेको हो ।
मापदण्ड अनुसार ठोरीले ९८ दशमलब ६८ प्रतिशत साक्षर दर पु-याउँदै प्रदेशमा नै सातौं स्थान ओगट्न पुगेको छ । कुल ५ वटा वडा रहेको ठोरीको वडा नम्बर १ मा साक्षर प्रतिशत ९८ दशमलब ३५ पुगेको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताए । त्यसै गरी वडा नम्बर २ मा ९६ दशमलब ६५ प्रतिशत, वडा नम्बर ३ मा ९७ दशमलब ०१ प्रतिशत, वडा नम्बर ४ मा ९८ दशमलब ४५ प्रतिशत र वडा नम्बर ५ मा ९९ दशमलब ३५ प्रतिशत पुगेको उनको भनाइ छ ।
लक्षित मापदण्डमा ठूलो उपलब्धी
शिक्षा साक्षरताका १२ वटा मापदण्डहरुमा ५० प्रतिशत पूरा भए साक्षर क्षेत्र घोषणा गर्न मिल्ने प्रावधान छ । ठोरीमा त्योभन्दा धेरै बढि प्रतिशत पुगेकोले साक्षरता पालिका घोषणा गरिएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । वर्ण-अक्षरको पढाइ र लेखाइ, नेपाली-मातृभाषामा लेखिएको मूल्यसूची-बिलको पढाई, आफ्नो र परिवारको सदस्यको नाम, उमेर लेखाई र पढाई, मोबाइल र क्याल्कुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न, ० देखि ९ सम्मको अंक–अक्षर लेखाई, १ देखि सय सम्मको गणना, लेनदेनको हरहिसाब रखाई, सरल चित्र पोष्टर, साइबोर्ड, ट्राफिक संकेत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता देखाउने, घडी हेरेर समय बताउन सक्ने र भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने १२ वटा मापदण्ड रहेको उनको भनाइ छ । कर्णाली प्रदेशमाभन्दा पनि मधेश प्रदेश शिक्षा साक्षरतामा पछि परेको तथ्याँकको लान्छनाबाट कम्तिमा आफ्नो पालिका नै भए पनि बाहिर निस्कनु पर्छ भनी लक्ष्य सहित अगाडी बढ्दा एक महिनाको छोटो अवधिमा नै उपलब्धी हात परेको ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले तर्क गरे ।

साक्षरता सिकाइका सबै ढाँचा प्रयोग
उक्त मापदण्ड पूरा गर्न ‘इच वान–टिच वान’ अर्थात एक जना बराबर एक जना साक्षर बनाउने, समूह प्रणाली, परिवार साक्षरता, कक्षागत प्रणाली र निरक्षरहरुलाई जम्मा पारी निश्चित संख्यालाई कक्षामा राखेर सिकाउने (तराईमा २० जना) गरी साक्षरता सिकाइका ढाँचाहरु प्रयोग गरी एक महिनाको अन्तरालमा पालिकामा ९८ दशमलब ६८ प्रतिशत साक्षरता पूरा गरेको ठोरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल जोशीले बताए ।
गएको जेठ १९ गतेसम्म पालिकाले मिसनका रुपमा लागि परेर ध्यान दिएको थिएन । सो दिन बसेको पालिकाको बैठकले साक्षरताको काम गर्नै पर्ने आवश्यकता महसुस गरी त्यसको भोलीपल्ट अर्थात गएको जेठ २० गतेबाट ठोरी गाउँपालिकामा निरक्षरको तथ्याँक संकलन सुरु गरिएको थियो । यसमा आस्मान नेपाल नामक गैर सरकारी संस्थासँग समन्वय गरी १२ दिन लगाएर सर्वे गर्दा ठोस् तथ्याँक निस्कियो । त्यो प्राप्त तथ्याँकमा साक्षरता सिकाइका ढाँचाहरु प्रयोग गर्दा खासै समय नै नलागेको पनि अध्यक्ष श्रेष्ठले बताए । पालिकामा साक्षर हुने मापदण्डको प्रतिशत दरभन्दा निकै बढी ९८ दलमलब ६८ प्रतिशत पुगेपछि पालिकालाई साक्षर पालिका घोषणा गरिएको ठोरी गाउँपालिकाले जनाएको छ ।
साक्षर घोषणा गर्दा पनि खुसी हुनु पर्ने
साक्षर घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरञ्जन प्रसाद साह सोनार र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतको बिशेष उपस्थिति रहेको थियो । सो क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले संसार कहाँबाट कहाँ पुगिसक्यो हामी भने साक्षरता घोषणा चरणमा नै रहेको तर्क गरे । ठोरीको सबैभन्दा दूर्गम गाउँ शिकारीबासमा नै कार्यक्रम आयोजना गरी साक्षर पालिका घोषणाको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले आगामी दिनमा शब्द शिक्षा प्रणालीभन्दा पनि अझ प्रविधि प्रयोगमा नेपालीले पनि अब्बल हुन पर्ने उनको जोड थियो । जिल्लाभन्दा सुदूर पश्चिममा रहेको गाउँ पुगेका प्रमुख जिल्ला अधिकारी अर्यालले त्यहाँका सर्वसाधारणलाई १५ वटा सुलभ चुलो र ४० जना विद्यार्थीलाई व्याग पनि वितरण गरेका थिए ।
अब बाँकी १ सय २९ पालिका
मधेश प्रदेशमा सप्तरीको बोदेसाइन, बाराको बारागढी नगरपालिका हुँदै पर्साको ठोरी सातौं साक्षर पालिका घोषणा भएको छ । मधेश प्रदेशमा आर्थिक राजधानी मानिने वीरगन्ज महानगरपालिका र प्रदेशको पनि राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिका गरी अझै १ सय २९ गाउँ पालिका साक्षर पालिका घोषणा हुन बाँकी रहेका छन् ।