काठमाडौं । कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को शुक्रवार राती निधन भएको छ । उनी पछिल्लो समय क्यान्सरबाट बिरामी भएर घरमै थलिएकी थिइन् । एक महिना भन्दा लामो समयदेखि धापासी क्षेत्रमा रहेको घरमै थलिएकी अप्सरा आमाको घरमै निधन भएको परिवारले जानकारी गराएका छन् ।
उनको शनिवार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टी गरियो । अन्त्यष्टी अघि पशुपति क्षेत्रमा उनको श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकारहरू दीपकराज गिरी, दीपक प्रसाद आचार्य, रामचन्द्र अधिकारी, सुशीला निरौला (विमली)लगायत विभिन्न कलाकारले उनको पार्थिव शरीरमा पुष्प गुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनको अन्त्यष्टीमा दुइृ सन्तान (एक छोरा र एक छोरी) उपस्थित थिए । परिवार सदस्यका अनुसार १३ वर्षको उमेरमा उनले आफू भन्दा २२ वर्ष जेठोसँग विवाह गरेकी थिईन् । उनको श्रीमानको निधन ४० वर्ष अघि नै भएको थियो । उनले आफ्ना सन्तान हुर्काएर बल्ल कला यात्रामा आफूलाई समर्पण गरेकी थिईन् ।
उनी पछिल्लो समय हास्य टेली चलचित्र उल्टो सुल्टोमा अभिनयरत थिइन् । सोही क्रममा उनलाई क्यान्सरको समस्या देखिएको थियो । स्तन क्यान्सरको चौथो चरणमा पुगेपछि उनको रोगको पहिचान भएको थियो । कलाकार लक्ष्मीको उपचारमा पछिल्लो समय हास्य विधामा कार्यरत कलाकारहरूले आर्थिक सहयोग पनि गर्दै आएका थिए ।
उनलाई निर्देशक दिनेश डिसीले २०५२ सालमा ट्वाक्क टुक्क हास्य सृंखलाबाट अभिनयमा ल्याएका थिए । त्यसपछि उनले हिजो आजका कुराका धेरै सृंखलामा अभिनय गरेकी थिइन् । हास्य अभिनेता सीताराम कट्टेलको जोडी बनेर उनले हास्य टेली चलचित्र मेरी बास्सैमा अप्सरा आमाको रूपमा लामो समय अभिनय गरेकी थिइन् । मेरी बास्सैमा लक्ष्मीले सीताराम कट्टेलको चरित्र खड्काजीको श्रीमती अर्थात् अप्सरा आमाको भूमिका निर्वाह गरेकी थिइन् । चञ्चल तर छुच्चो चरित्रका कारण उनी यही सृंखलाबाट अप्सरा आमाको रूपमा लोकप्रिय भएकी थिइन् । त्यसपछि लक्ष्मीले जिरे खुर्सानी, कान्छी सहित थुप्रै टेली सृंखला एवम् म्युजिक भिडियो र चलचित्र लक्का जवानमा पनि अभिनय गरेकी थिइन् ।
उनी निकै बिरामी भएको जानकारी पाएपछि गत साता सीताराम कट्टेल, कुञ्जना घिमिरे लगायतका कलाकारले उनलाई घरमै भेटेर उपचारको लागि सहयोग पनि प्रदान गरेका थिए । उनको निधन प्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत हास्य कलाकारहरू तथा शुभ चिन्तकले श्रद्धा सुमन अर्पण गरेका छन् ।
सम्बन्धित समाचार





