पोखरा । जातीय विभेद आरोपमा पक्राउ परेका तीन जनालाई बुधबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका अधिवक्ता दण्डपाणि शर्माको एकल इजलासले राम जिसी भन्ने रामबहादुर घर्ती क्षेत्री, जनक थापा क्षेत्री र देववहादुर थापालाई जनही १ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
वादीको तर्फबाट बहस गरेकी अधिवक्ता वीनिता नेपालीले उनीहरुलाई अदालतले १ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको जानकारी दिइन् । ९ दिनदेखि थुनामा रहेका तीनै जना बुधबार नै धरौटी बुझाएर रिहा भएका छन् ।
पोखरा–१६, बाटुलचौरमा सार्वजनिक जग्गामा निर्मित किरियापुत्री भवन प्रयोगका लागि स्थानीय मोहन सुनारले चाबी माग्दा जातीय विभेद गर्दै नदिएपछि उनीहरुविरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसूर मुद्दा दायर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले गत २३ वैशाखमा उनीहरुलाई पीडितको चर्को दबाबपछि मात्र पक्राउ गरेका थियो ।
सो मुद्दामा पीडिततर्फबाट अधिवक्ता वीनिता नेपाली सहित अर्का अधिवक्ता शिवबहादुर सुनार र अधिवक्ता वेदनाथ भण्डारीले बहस गरेका थिए । वादीको तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता गुरुप्रसाद वाग्ले र सहन्यायाधीवक्ता महेन्द्रप्रसाद अधिकारीले समेत बहस गरेका थिए ।
प्रतिवादीतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ र शालिग्राम भट्टराईले बहस गरेका थिए । पोखरा महानगरपालिका, पोखरा १६ को लगानीमा सार्वजनिक स्थानमा स्थानीय क्षेत्री समुदायले बनाएको भवन केही व्यक्तिले मोहनको परिवारलाई दिन नहुने भन्दै विरोध जनाएर वञ्चित गरेपछि घटनाले ठूलो रुप लिएको हो ।
सो विषयलाई लिएर गण्डकी प्रदेश सांसद एवं नेकपा कास्की अध्यक्ष कृष्ण थापा समेत जातीय विभेदको पक्षपोषण गरेको भन्दै विवादमा तानिएका थिए । उनले पछि पुनः विज्ञप्ति जारी गरेर माफी समेत मागेका छन् ।
भाइ समरको वैदेशिक रोजगारीक्रममा उतै निमोनियाबाट मृत्यु भएपछि पीडित मोहनले भतिज मनोजलाई राख्न किरियापुत्री भवन प्रयोगका लागि चाबी माग्दा नपाएपछि जातीय भेदभावले सो रुप लिएको थियो ।