मुम्बई । भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढेपछि फेरि लकडाउन कडाइ गरिएको छ । यसैबीच अभिनेता एवं सांसद सनी देओल र अभिनेता बबी देओलले फार्म हाउसमा लामो समयदेखि फसेका आफ्ना अभिनेता बुबा धर्मेन्द्रको ’boutमा चिन्ता व्यक्त गरेका छन् । खेतको बीचमा रहेको फार्म हाउसमा लकडाउनको अवधिभर बुबा फसेको भन्दै यी दुई अभिनेताले चिन्ता व्यक्त गरेका हुन् ।
अभिनेता बबीका अनुसार धर्मेन्द्रलाई केही दिनयता सन्चो छैन । त्यहाँसम्म आफूहरू जान सहज नभएको र बुबालाई त्यहाँबाट घर आउन नदिइएको यी अभिनेताको चिन्ता छ । ८४ वर्षीय बुबा लकडाउनको सुरुका दिनमा फार्म हाउसमा रमाएका भए पनि पछिल्लो समय अस्वस्थ्य हुँदा चिन्तित बनेको पनि बबीले एक अन्तर्वार्ताका क्रममा बताएका छन् । तथापि, बुबा धर्मेन्द्र सुरक्षित ठाउँमा भएको र रोगभन्दा चिन्ताले बुबालाई अस्वस्थ्य तुल्याएको पनि उनको कथन छ ।
अभिनेता धर्मेन्द्रले मुम्बईनजिकै केही वर्ष यताबाट बृहत् फार्म हाउस सञ्चालन गरेका छन् । जहाँ उनले तरकारी, फलफूल र अनाजको खेती गर्नुका साथै पशुपन्छी पालेका छन् । उनी धेरैजसो समय यो फार्म हाउसमै रहने गरेका छन् । फिल्मको काम र मुम्बईमा हुने विशेष समारोह एवं भेटघाटबाहेक बाँकी समय उनी फार्म हाउसमै बस्ने गरेका छन् । उनी त्यहाँको हरियाली, खेतीपातीसँगै जनावरसँग रमाउने गरेका छन् । तर, अहिले लकडाउनको बेला परिवारलाई भेट्न र अन्यत्र जान नपाएका कारण उनी चिन्तित बनेको पनि बबी देओलले बताएका छन् ।