काठमाडौं । हरेक ७ जेठलाई चलचित्र पत्रकार संघले आफ्नो वार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवसको रूपमा मनाउँदै आएको छ । यो दिवस यसपटक डिजिटल भेलाको माध्यमबाट गर्ने जनाएको छ । संघका महासचिव समीर बलामीले एक विज्ञप्ति जारी गर्दै यस्तो जनाकारी दिएका हुन् ।
लकडाउनको समयलाई मध्यनजर गर्दै संघले यसपटक औपचारिक भेला भएर कार्यक्रम नगर्ने बताए । यसपटक घरमै बसेर डिजिटल प्रविधिको माध्यमबाट संघको वार्षिक उत्सव मनाउने निर्णय गरिएको पनि उनले बताए ।
संघले हरेक वर्ष वार्षिक उत्सवमा चलचित्र पत्रकारिता पुरस्कार र सम्मान प्रदान गर्दै आएको थियो । सो पुरस्कार र सम्मान यो वर्षका लागि स्थागित गरिएको पनि बलामीले बताएका छन् । ७ जेठमा प्रदान गरिने दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार अर्को वर्ष राशि बढाएर दिइने पनि उनले बताएका छन् ।