बोर्ड अध्यक्षका लागि दस सिनेकर्मीको दौडधूप

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्षका लागि १० जना सिनेकर्मीले आवेदन दिएका छन् । गत १६ वैशाखबाट ३१ वैशाखसम्मका लागि दर्खास्त आह्वान गरिएको थियो । यो अवधिमा १० जनाले बोर्ड अध्यक्षका लागि आवेदन दिएका हुन् । आवेदन दिएकाहरूका लागि मन्त्रालयले ६ देखि ८ जेठसम्म मन्त्रालयमै अन्तर्वार्ता कार्यक्रम राखेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूत्रका अनुसार आगामी बिहीबारसम्ममा बोर्ड अध्यक्ष नियुक्त हुनेछ । सोही कारण यसरी बुधबारसम्म आवेदन हालेका सिनेकर्मीहरूले अध्यक्षका लागि दौडधूप सुरु गरेका छन् । अहिलेको ऐनअनुसार दुई वर्षका लागि बोर्ड अध्यक्ष नियुक्त गरिन्छ ।

चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको मंसिर २९ मा असमायिक निधन भएको थियो । त्यसपछि बोर्ड अध्यक्ष पद रिक्त रहेको छ । विकास बोर्डका सदस्यसचिव महेन्द्र साँखीका अनुसार यसरी बोर्ड अध्यक्षका लागि आवेदन दिनेहरूमा हाल बोर्डका सदस्यसमेत रहेका चलचित्र निर्देशक दयारामा दाहाल, चलचित्र निर्देशकहरू दीपक श्रेष्ठ, राजेन्द्रकुमार उप्रेती, परशुराम चौधरी, राजेश थापा, ध्यानबहादुर सुब्बा, भगवतीकुमारी मैनाली (भिमा) रहेका छन् । यस्तै, अभिनेता एवं निर्माता भुवन केसी, अभिनेता सोहित मानन्धर र निर्माता अर्जुनकुमार डंगोलले पनि अध्यक्षका लागि आवेदन हालेका छन् ।

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका चलचित्र निर्देशक दयाराम दाहाल बोर्ड अध्यक्षका लागि सबैभन्दा प्रभावशाली रहेको सिनेकर्मीहरू बताउँछन् । नेकपाको भातृसंस्था जनसांस्कृतिक महासंघ नेपाल र चलचित्रकर्मी संघ नेपालले पनि दाहाललाई सिफारिस गरेको छ । चलचित्र निर्देशनमा अढाई दशक लामो अनुभव बटुलेका दाहालले संघसंस्था र चलचित्रकर्मीको समर्थक बटुलिरहेका छन् । यसअघि उनलाई पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बोर्ड सदस्यमा ल्याएका थिए । तीन दशकभन्दा लामो चलचित्र क्षेत्रको अनुभव र एक वर्षभन्दा लामो समयदेखि बोर्डमा रहेर आफूले काम गर्दै आएकाले चलचित्र क्षेत्रलाई माथि ल्याउन आफूसँग थुप्रै अनुभव रहेको दाहालले बताएका छन् ।

साढे तीनदशक लामो चलचित्र क्षेत्रको अनुभव बोकेका अभिनेता भुवन केसी पनि बोर्ड अध्यक्षका लागि अर्का प्रभावशाली व्यक्त हुन् । साढे तीन दशक चलचित्र क्षेत्रमा काम गरेको अनुभवका आधारमा आफूले अध्यक्ष पदका लागि आवेदन दिएको केसीले बताएका छन् । उनी केही नेताहरूसँग नजिक छन् ।

यसअघि सांस्कृतिक संस्थानका महाप्रबन्धक रहेका सिनेकर्मी राजेश थापाले पनि बोर्ड अध्यक्षका लागि आवेदन हालेका छन् । चलचित्रमा स्नातक उनी विभिन्न वृत्तचित्रका निर्देशक हुन् । चलचित्र उद्योगलाई माथि ल्याउने रोडम्यापसहित आफूले आवेदन हालेका उनले बताएका छन् । नेकपाका थुप्रै नेताहरूसँग निकट रहेका उनी पनि आफूलाई बोर्ड अध्यक्षको दाबेदार मान्छन् ।

यस्तै, दर्जन चलचित्र निर्देशक गरेका दीपक श्रेष्ठले पनि बोर्डमा अध्यक्षका लागि आवेदन दिएका छन् । नेपाली चलचित्र उद्योगलाई माथि उठाउने भिजन आफूसँग रहेकाले निवेदन दिएको उनले बताएका छन् । प्रदेश एकका केही नेताहरूसँग पहुँच रहेका उनी पनि बोर्ड अध्यक्षमा आफ्नो सम्भावना रहेको बताउँछन् । उनी यसअघि प्रदेश सभाका समानुपातिक प्रणालीका सांसद दाबेदार थिए ।

यस्तै, प्रदेश १ बाट श्रेष्ठ प्रदेश सभाका समानुपातिक प्रणालीका सांसद दाबेदार रहेका हल सञ्चालक, निर्माता निर्देशक एवं अभिनेता परशुराम चौधरीले पनि बोर्ड अध्यक्षमा आवेदन हालेका छन् । आफूसँग अढाइ दशक लामो चलचित्र क्षेत्रको अनुभव रहेको उनको कथन छ ।

बोर्ड अध्यक्षका लागि आवेदन हाल्ने युवा अभिनेता सोहित मानन्धर काठमाडौंको अष्टनारायण हलका सञ्चालक त्रिरत्न मानन्धरका छोरा तथा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका भतिजा हुन् । आफ्नो काकाको पहुँचको आधारमा उनले आवेदन हालेको बताइन्छ । तर, आफूसँग चलचित्र क्षेत्रमा काम गरेको अनुभव रहेकाले आवेदन हालेको उनको कथन छ ।

यस्तै, बोर्ड अध्यक्षका लागि आवेदन दिएका अर्जुनकुमार डंगोल चलचित्र निर्माता हुन् । आफू पनि दुई दशकदेखि यो क्षेत्रमा क्रियाशील रहेको उनको कथन छ । दुई दशकदेखि नै चलचित्र निर्देशनमा सक्रिय राजेन्द्रकुमार उप्रेतीले पनि बोर्ड अध्यक्षका लागि आवेदन हालेका हुन् । नेपाली चलचित्र क्षेत्रलाई परिवर्तन गर्ने योजना आफूमा रहेको उनले बताएका छन् ।

चलचित्र र विज्ञापनमा अभिनय गर्दै आएकी भगवतीकुमारी मैनाली (भिमा) चलचित्रमा स्नातक हुन् । आफ्नो दुई दशकभन्दा लामो अनुभवका आधारमा अध्यक्षका लागि आवेदन हालेको उनले बताएकी छन् । अध्यक्षका लागि आवेदन हाल्ने अर्का व्यक्त ध्यानबहादुर सुब्बा हुन् । उनको भने त्यत्ति चर्चा छैन ।

स्नातक उत्तीर्णलाई बोर्डले चलचित्र क्षेत्रमा काम गरेको एक दशकको अनुभव र प्रवीणता प्रमाणपत्र तहको उत्तीर्ण भएकालाई चलचित्र क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएकालाई अध्यक्ष पदका लागि आवेदन दिन आह्वान गरेको थियो । सोही आह्वानअनुसार १० जनाको आवेदन परेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी