सप्तरी राजविराज । भारत सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै रेल सेवा सुचारु गरेपछि स्वदेश फर्किनेहरुको सप्तरीमा पनि ह्वातै चाप बढेको छ । जसका कारण कोरोनाको जोखिम झनै बढाएको छ ।
शुक्रबार मध्यरातदेखि शनिबार विहानसम्म ४६ महिला सहित ३ सय १४ जना भारतबाट सप्तरी प्रवेश गरेका छन् । उनीहरुलाई सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई स्थानीयतहको समन्वयमा जिल्लाको विभिन्न क्वारेन्टाइनमा पठाएको छ ।
सप्तरीमा शनिबारसम्ममा विभिन्न क्वारेन्टाइनमा राखिएको आशंकितको संख्या ४३२ पुगेको छ । भारतको विभिन्न शहरमा रोजगारी तथा उपचारका लागि गएकाहरु रेल सेवा सुचारु भएपछि ठूलो संख्यामा घर फर्किन थालेका छन् । यसरी घर फर्किनेहरुमा अधिकांशले खुल्ला सिमाको फाइदा उठाउँदै चोर बाटो प्रयोग गर्ने गरेका छन् भने केहीले मात्र मुल नाकाबाट प्रवेशको प्रयास गर्ने गरेको सिमा क्षेत्रका बासिन्दाहरुले बताएका छन् ।
सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले भारतीय सिमासँग जोडिएको छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बलानविहुल गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र डाक्नेश्वरी नगरपालिका लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिई स्थानीयतहको समन्वयमा जिल्ला स्थित विभिन्न क्वारेन्टाइन केन्द्रमा पठाएको बताइएको छ । खुल्ला सिमाको फाइदा उठाउँदै रातको समयमा स्वदेश फर्किनेहरु चोर बाटोको प्रयोग गर्न थालेपछि निगरानी र नियन्त्रणमा लिएकाहरुको व्यवस्थापनमा समेत चुनौती देखिएको एक सुरक्षा अधिकारीले बताए ।
सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले भारतीय सिमासँग जोडिएको छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बलानविहुल गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र डाक्नेश्वरी नगरपालिका लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिई स्थानीयतहको समन्वयमा जिल्ला स्थित विभिन्न क्वारेन्टाइन केन्द्रमा पठाएको बताइएको छ
‘शुक्रबार मध्यरात र शनिबार विहानसम्मको अवधिमा सप्तरीका विभिन्न नाकाबाट प्रवेश गरेका ३ सय १४ जनालाई प्रहरीको सहयोग र स्थानीयतहको समन्वयमा विभिन्न क्वारेन्टाइनमा राखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले भने, ‘धेरै संख्यामा एकै पटक घर फर्किनेहरुको चाप बढेपछि उनीहरुलाई सुरक्षित राख्न र अरुलाई पनि कोरोनाको जोखिमबाट जोगाउन ठूलो चुनौती थपिएको छ ।’
सप्तरीको ७२ किलोमिटर क्षेत्र भारतीय सिमानाकासँग जोडिएको छ । खुल्ला सिमाका कारण त्यताबाट प्रवेश नहोस् भने उद्देश्यले निगरानीका लागि नाका क्षेत्रको ७० भन्दा बढी स्थानमा पोष्ट खडा गरी सशस्त्र र नेपाल प्रहरीले दिनरात गस्ती गरिरहे पनि विभिन्न चोर बाटो हुँदै केही व्यक्तिहरु प्रवेश गर्न थालेपछि त्रसित बनेका स्थानीयले थप जनशक्ति परिचालन गरी निगरानी अझ कडा बनाउनु पर्ने माग गरेका छन् ।