म्युनिख । कोभिड–१९ को महामारी र त्रासका कारण विश्व खेलकुद ठप्प बन्दा खेलाडीहरूले झन्डै ६५ दिनदेखि खेल्न तथा समर्थकहरूले खेलको मजा लिन पाएको थिएनन् । स्थगित भएको फुटबल सुचारु हुने नहुने भन्न सकिने अवस्था थिएन । कोरोनाको त्रास अझै पनि सकिएको छैन । तर, यस्तो अवस्थामा जर्मन फुटबल लिग (डीएफएल)ले सावधानीबीच रोकिएको जर्मन बुन्डेस लिगा पुनः सुचारु गर्ने जोखिम मोल्यो । यो पक्कै पनि सहज थिएन ।
तर, जर्मन चान्सलरले नै विशेष सावधानी अपनाएको अवस्थामा मात्रै खेलकुद गतिविधि गर्नका लागि अनुमति दिएको थियो । फ्रान्स, बेल्जियम र नेदरल्यान्डको शीर्ष लिगहरू स्थगित भइसकेको अवस्थामा जर्मनीमा लिग कसरी पुन सञ्चालन हुन्छ भन्नेमा सबैको ध्यान मोडिएको थियो । डीएफएलले यही निर्णयलाई आत्मसात् गर्दै १६ मेदेखि फुटबल सुचारु ग-यो । अब सुरु हुने तरखरमा रहेको इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’मा पनि यही विधि अपनाएर लिग सुचारु हुन सक्नेछ ।
दुई महिनाभन्दा अघिको खेल र अहिलेको खेलमा बिल्कुलै फरक अनुभुति गर्न सकिन्थ्यो । समर्थकले भरिभराउ र गुञ्जायमान हुने रंगशाला सुनसान देखिन्थ्यो । हुन त खेल बन्द रंगशालामा नै भएको थियो । फुटबल फर्किएको पहिलो दिन ६ खेल सम्भव भए । उपाधि होडमा रहेको बोरुसिया डर्टमन्डले रिभर्सडर्वी भिडन्तमा साल्केमाथि ४–० को सानदार जित निकाल्दै उपाधिको सम्भावनालाई जीवितै राख्यो । आरबी लेइपजिग फ्रेइवर्गसँगको सम्भावित हारबाट जोगिदा हर्था बर्लिनले होफेनहाइनमाथि उसकै मैदानमा ३–० को सानदार जित निकाल्यो । वल्सवर्गले अग्सवर्गमाथि २–१ को झिनो जित निकाल्यो । डुसेलडर्फ र पाडेरवर्नले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
तर, पुन सुरु भएको फुटबल त्यति मात्र थिएन । कोरोना महामारीपछि सुरु भएको लिग फुटबल खेल्ने तरिका पनि बिल्कुलै फरक देख्न सकिन्थ्यो । शनिबार यस्ता रोचक क्षणहरू थिए । जुन कोरोना महामारीका अघि फुटबलमा देखिएको थिएन ।
पाँच सब्स्टिच्युट
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले कोरोना भाइरसलाई मध्यनजर गर्दै एक साताअघि मात्रै तीन खेलाडी मात्रै नभएर पाँच खेलाडीसम्म सब्स्टिच्युट गर्न पाउने नियम ल्याएको थियो । साल्के त्यो नियम प्रयोग गर्ने पहिलो टोली बन्यो । साल्केका प्रशिक्षक डेभिड वेग्नरले पाँच खेलाडीलाई स्थानान्तरण गरेका थिए । टिमो बेकर खेल सकिन तीन मिनेट अघि मैदान उत्रने साल्केका पाचौं सब्स्टिच्युट खेलाडी बने । उनले एभर्टनबाट लोनमा आएका जोन्जो केनीको स्थान लिएका थिए । डर्टमन्डका प्रशिक्षक लुसियन फाभ्रेले भने चार सब्स्टिच्युट प्रयोग गरेका थिए । खेलको अन्त्यतिर म्यान अफ द म्याच राफेल गुरेरोको स्थानमा फाभ्रेले मार्सेल स्मेल्जरलाई चौथो स्थानान्तरण खेलाडीका रूपमा प्रयोग गरेका थिए । दुई महिनाको लामो अन्तरालपछि प्रतिस्पर्धामा फर्किएका खेलाडी घाइते हुने खतरा रहेकाले जर्मन फुटबल लिगले नयाँ नियम अपनाएको हो ।
हालान्डले कायम गरेको सामाजिक दूरी
युवा सनसनी नर्वेजियन स्ट्राइकर अर्लिङ ब्राउट हालान्डले लिग रोकिनुअघिको आफ्नो उत्कृष्ट लयलाई दुई महिनापछि पनि दुरुस्त नै राख्दै डर्टमन्डलाई शनिबार सुरुवाती अग्रता दिलाएका थिए । थोर्गन हजार्डको लो क्रसमा गोल गर्दै १९ वर्षीय हालान्डले बुन्डेसलिगाको ९ खेलमा आफ्नो १०औं गोल गर्न सफल भए । उनी गएको जनवरीमा मात्रै अस्ट्रियन क्लब साल्जवर्गबाट डर्टमन्ड आएका थिए । तर, गोल गरिसकेपछि उनी डर्टमन्डका खेलाडी साथीहरूको भिडमा गएनन् । उनका सहयात्री पनि उनलाई बधाई र अंकमाल गर्न नजिक आएनन् । गोलको खुसियाली मनाउने क्रममा अन्य खेलाडीहरूबाट अलि टाढै बस्दै केही क्षण उनले खुसियाली मनाए । हालान्डसँगै दूरी कायम गरेका खेलाडीहरू त्यसपछि पुनः खेलमा फर्किए । बुन्डेसलिगा सुरु गर्ने सर्तमध्येको एक खेलाडीहरूलाई गोलको खुसियाली मनाउनका लागि अंकमाल गर्नबाट लगाइएको बन्देज पनि थियो ।
फुटबल गिभ्स लाइफ, योर बिजनेस इज सिक
दुई महिनापछि उच्च प्रतिस्पर्धात्मक फुटबलको आनन्द उठाउन पाउदा संसारभर रहेका फुटबल समर्थकहरू खुसी भए पनि अग्सवर्गका समर्थकहरूले भने लिग सुचारु गर्नुको औचित्यमा प्रश्न गरेका छन् । वल्फ्सबर्गविरुद्धको खेलमा खाली रंगशालाको एक ठाँउमा अग्सबर्गका समर्थकहरूले एउटा ब्यानर छोडिदिएका थिए । जसमा लेखेको थियो, ‘फुटबल गिभ्स लाइफ, योर बिजेनस इज सिक’ अर्थात् फुटबलले जिन्दगी दिन्छ, तिमीहरूको व्यापार बिरामी छ । युरोपका अन्य देशहरूमा हजारौंको संख्यामा महामारीका कारण ज्यान जाँदै गर्दा फुटबल सुचारु गरेको विरोधमा ब्यानर राखिएको थियो । घरेलु मैदानमा खेलिएको खेलमा भने अग्सबर्गले २–१ को जित निकालेको थियो ।
लेइपजिगको कदम
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमणबाट बच्न कम्तीमा पनि दुई मिटरको सामाजिक दूरी राख्न आग्रह गरेको छ । लेइपजिगले पनि यही रणनीति अपनायो । बेन्चमा १.५ मिटरको दूरीमा खेलाडी राख्नका लागि पर्याप्त स्थान नभएपछि केही खेलाडीलाई लेइपजिगले बेन्चको सतहदेखि तीन मिटरमाथि रहेको स्ट्यान्डमा राख्ने योजना बनायो । खेलाडीलाई माथि राख्नका लागि लेइपजिगले नजिकैको एयरपोर्टबाट विमानमा यात्रु चढाउन र ओराल्न प्रयोग हुने भ¥याङ नै रंगशालामा ल्याएको थियो । विशेष स्थितिमा विशेष उपायको आवश्यक पर्छ । हामी मद्दत गर्न पाउदा निकै खुसी छौं । विमानस्थलका प्रवक्ता उवे सुवार्टले जर्मन पत्रिका बिल्डलाई भने ।
डगआउटमा मास्क
झन्डै ८२ हजार दर्शक क्षमताको डर्टमन्डको इडुना पार्क दर्शकको गुञ्जायमान हुने रंगशाला हो । शून्य दर्शकबीच रंगशाला पनि शून्यता छाएको थियो । टेलिभिनजमा प्रत्यक्ष प्रसारण हेरेका समर्थकहरूले बेन्चमा मास्क लगाएर बसेका खेलाडीहरू देख्न पाए । साल्केले सामाजिक दूरी कायम राख्नका लागि खेलाडीहरूलाई कुर्सी छोड्दै डगआउटमा राखेको थियो । तर, मैदानमा भने कन्ट्याक्ट खेल जारी रहेको थियो ।
खाली भित्तालाई सलाम
इडुना पार्कको गोलपोस्ट पछाडि झन्डै २५ हजार समर्थकका लागि पहेंलो भाग छुट्याइएको स्थान छ । डर्टमन्डले सफलता हात पार्दा टोली नै दौडेर सोही भित्तालाई सलाम गर्ने गर्दथे । पराजित भएको अवस्थामा हात उठाएर माफीको संकेत गरिन्थ्यो । शनिबार राति साल्केमाथिको जितपछि डर्टमन्डका खेलाडीले आफ्नो शैली बिर्सिएनन् । त्यही गोल पोस्टको पछाडि पुगेर भित्तालाई सलामी दिए । उक्त खुसियालीमा मैदान गुन्जयमान हुने भए पनि शनिबार रातिको खेलमा खेलाडी र प्रशिक्षकको ताली मात्रै सुनियो । मैदानमा समर्थको जुन हामीले प्रत्यक्ष प्रसारणमा हेर्न पायांै ।
म्याच बल सफा
अरू बेला खेल जारी रहँदा बल ब्वाइहरूले खेलाडीलाई बल मात्र दिने गर्दथे । तर, कोरोनापछिको खेलमा भने बाहिर आएका बललाई पन्जा लगाएर बसेका बल ब्वाइहरूले स्प्रेबाट औषधिको प्रयोग गर्दै बल सफा गरिहेको दृश्य देख्न सकिन्थ्यो । यसबाहेक बेन्चका खेलाडीले मास्क लगाउनुपर्ने, खेलपछिको पत्रकार सम्मेलनमा पनि खेलाडी र प्रशिक्षकका लागि विशेष सावधानी र सुरक्षा अपनाइएको थियो ।