काठमाडौं । नेपाल प्रहरीको पोसाक खरिद ठेक्का प्रकरणमा संलग्न डीआईजी सुशीलसिंह राठौरलाई सरकारले एआईजीमा बढुवा गरेको छ । विभागीय प्रमुखको हैसियतमा नेपाल प्रहरीको पोसाक खरिद प्रकरणमा ४८ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेपछि टेन्डरसमेत रद्द भएको अवस्थामा सरकारले उनलाई १ नम्बरमा बढुवा गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बढुवा भएका चारै जना एआईजी २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका थिए ।
प्रहरी प्रधान कार्यालयका प्रशासन विभाग प्रमुख प्रहरी नायब महानिरीक्षक सुशीलसिंह राठौरको नेतृत्वमा पोसाक खरिदका लागि प्राविधिक परीक्षणमा सफल भएकाहरूको ३० भदौ र १ असोजमा आर्थिक प्रस्ताव खोलेर कम दर कोबोल गर्नेलाई खरिदको जिम्मा दिइएको थियो ।
राठौरकै नेतृत्वमा जेनजी आन्दोलनको रापले सरकार परिवर्तन भएको तथा नयाँ गृहमन्त्रीले पदभार सम्हालेकै दिन नेपाल प्रहरीका विभिन्न २५ आइटम पोसाक खरिदमा बजार मूल्य र गत वर्ष खरिद भएको मूल्यभन्दा दोब्बर मूल्य कबोल गर्ने व्यापारीलाई खरिदको जिम्मा लगाइएको थियो । यो विषय सार्वजनिक भएपछि १२ असोजमा प्रहरीले ठेक्का प्रक्रिया रद्द गरेको थियो ।
पोसाक खरिदका लागि सीमित प्रतिस्पर्धीलाई मात्र खरिदको टेन्डर प्रक्रियामा सहभागी हुनपाउने सर्त राखेर प्रहरीले गत वर्षमा प्रहरीका लागि पोसाक खरिद गर्दै आएका कम्पनी र व्यापारीलाई खरिदको जिम्मा दिएको थियो ।
पोसाक खरिदका लागि बोलपत्रमा सहभागी भएकाहरूमध्ये सीमित फर्महरूलाई मात्र प्राविधिक परीक्षणमा छनोट गरेर प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुख राठौरले गत ३० भदौ र १ असोजमा ठेकेदार ज्ञानेन्द्र बस्नेत समूहका कम्पनीलाई मात्र ठूला ठेक्का पारेको थियो ।






