‘अन्तर्राष्ट्रिय महोत्सवमा जाने चलचित्र स्वदेशमा चल्दैन’

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भई राम्रो चर्चा कमाएर अवार्ड समेत जितेका कतिपय चलचित्रहरू नेपाली बजारमा चल्ने गरेका छैनन् । यसरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएका सबै चलचित्र स्वदेशी बजारमा नचल्ने गरेको अभिनेता दयाहाङ राई बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजना गरिएको चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर रिलिज समारोहमा अभिनेता दयाहाङले आफ्नो यो चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको लागि नभएको जिकिर गरेका छन् । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवकै लागि भनेर निर्माण गरिएका चलचित्रलाई स्वदेशी बजारमा दर्शकले त्यति धेरै मन नपराएको अवस्था रहेको पनि दयाहाङले स्पष्ट पारेका छन् ।

दयाहाङको भनाइमा नेपालमा निर्माण भएका चलचित्रहरू मध्य अहिलेसम्म लामा छोटा गरेर ६०–७० वटा मात्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा गएका छन् । अझै पनि नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा निकै पछाडि भएको पनि दयाहाङले बताए ।

दयाहाङको भनाइमा स्वदेशी बजारलाई लक्षित गरेर बनाएका चलचित्रहरू न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जान्छन्, न त अन्तर्राष्ट्रिय बजारमै प्रदर्शन हुन्छन् । यस्तै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई लक्षित गरेर बनाइएका चलचित्रहरू पनि स्वदेशी बजारमा नचल्ने गरेको दयाहाङले स्पष्ट पार्दै भने,‘अन्तर्राष्ट्रिय दर्शकहरूलाई जुन प्रकारको कथा र प्रस्तुतियुक्त चलचित्र मन पर्छ, त्यो हाम्रा स्वदेशी बजारका दर्शकलाई मन पर्दैन । त्यसैले नेपालमा बर्सेनि निर्माण हुने नेपाली चलचित्र मध्य करिब ९० प्रतिशत यहीँको बजारलाई लक्षित गरेर बनाइन्छ ।’

नेपाली चलचित्रको अवस्था अहिले पनि साह्रै नै कमजोर रहेको भन्ने आरोपलाई दयाहाङले खण्डन गर्दै केही वर्ष यताबाट प्रविधिको रूपमा नेपाली चलचित्र निकै माथि उठेको दाबी गरे । तर पनि अहिलेको यो प्रविधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रले संघर्ष गर्न सजिलो नभएको पनि उनले बताए ।

आफ्नो नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ पनि स्वदेशी बजारको लागि भनेरै निर्माण गरिएको यी अभिनेता दयाहाङले स्पष्ट पारे । यो चलचित्रमा दयाहाङ र विजय बराल मुख्य भूमिकामा छन् । विगतका चलचित्रमा दयाहाङ नायकको रूपमा हुने गर्थे भने विजय बराल चरित्र कलाकारमा रहन्थे । दयाहाङ र विजयको जोडी चलचित्र कबड्डीको सृंखलाबाट स्थापित भएको हो । यो जोडी कबड्डी हुँदै, जारी, डिग्री माइलासहित थुप्रै चलचित्रमा रहेको छ । दर्शकले रुचाएको यो जोडीलाई यसपटक केही फरक चरित्रमा देख्न पाइने अभिनेता दयाहाङले नै खुलासा गरेका छन् । तर यस पटक ‘वरिष्ठ बलराम’मा विजय नै नायकको रूपमा रहेको पनि दयाहाङले सञ्चारकर्मीलाई बताए ।

चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ खल चरित्रको रूपमा रहेका छन् । दयाहाङका अनुसार दर्शकलाई उनको यो चरित्र केही फरक र नयाँ लाग्ने छ । यो चलचित्रमा उनी स्थानीय ठेकेदारको रूपमा प्रस्तुत भएका छन् । उनी सामन्ती प्रथाको निरन्तरताको बर्ग चरित्रमा यो चलचित्रमा प्रस्तुत भएका छन् । स्थानीय तहमा नदीनालाको ठेक्का लिएर गिट्टी बालुवा बेच्ने र स्थानीय तहकै राजनीति गर्नेहरूले समाजमा गरेको शोषणलाई चलचित्रको कथामा उठाइएको छ । यस्तै स्थानीय शोषकको रूपमा दयाहाङलाई यो चलचित्रमा देख्न सकिन्छ । चलचित्रको कथा’bout दयाहाङले भने,‘यो चलचित्रको कथा भने संसारकै समाजसँग मिल्दो छ । किन भने धनी र गरिब बिचको द्वन्द्व र संघर्ष अहिले संसार भरनै रहेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की