धनगढी । महिलाको श्रम, सम्मान र आर्थिक सशक्तिकरणका लागि धनगढी उपमहानगरपालिकाले शनिवारीय महिला उद्यम बजार सञ्चालन गर्ने भएको छ । उपमहानगरको शनिवारीय महिला उद्यम बजार सञ्चालन तथा व्यवस्थापन समितिको २०८१ असोज २१ गतेको निर्णय अनुसार ‘महिलाहरूको श्रमको सम्मान, आर्थिक सशक्तिकरणको अभियान’ भन्ने नारासहित शनिवारीय महिला उद्यम बजार सुरु गर्न लागिएको हो ।
नगरपालिकाले धनगढीको वडा नम्बर १ स्थित जेन्सी मार्गमा प्रत्येक शनिबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म बजार सञ्चालन हुने जनाएको छ । शनिवारीय महिला उद्यम बजारमा सहभागी हुन इच्छुक महिलाहरूले उपमहानगरको रोजगार शाखामा यही असोज २७ गतेदेखि कात्तिक ११ गतेभित्र आवेदन फाराम भरेर पेश गर्नुपर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ । मेला कात्तिक १५ गते शनिवारदेखि हरेक शनिवार सञ्चालन हुने बताइएको छ ।
धनगढी उपमहानगरपालिकाले यस अभियान मार्फत स्थानीय महिलाको उत्पादन तथा सीपलाई प्रोत्साहन गर्दै आर्थिक रूपले सबल बनाउने लक्ष्य लिएको छ । महिलाले घरमै उत्पादन गरेका सामग्री बिक्री–वितरण गर्न सक्ने अवसर प्रदान गर्ने भएकाले शनिवारीय महिला उद्यम बजार महिलाको आत्मनिर्भरता र उद्यमशीलतामा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । नगरपालिकाले स्थानीय समुदाय, उपभोक्ता र महिला उद्यमीहरूलाई बजारमा सहभागी भई आफ्ना उत्पादनहरू प्रवद्र्धन गर्न आग्रह गरेको छ ।






