सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा आज देखि खाँदबारी–३ मानेभञ्याङ स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा छैटौँ मानेभञ्याङ कप २०८२ फुटबल प्रतियोगिता सुरु भएको छ ।
सामाजिक सद्भावका लागि युवा एकता, विकृति विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ मानेभञ्ज्याङमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता सुरु भएको हो । पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन संखुवासभा जिल्लामा खेल महोत्सवका रूपमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको एड्भान्स क्लबले जनाएको छ ।
प्रतियोगिताको उद्घाटनको दिन तिन खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा आयोजक मानेभञ्ज्याङ युवा क्लव भर्सज पाङ्मा सोसाइटी बीच प्रतिस्पर्धा भएको छ । आयोजक मानेभञ्ज्याङले १ गोलका विरुद्ध ३ गोल अन्तरले पाङ्मा सोसाइटीलाई पराजित गरेको छ । दोस्रो खेलमा मकालु फ्रेण्ड क्लव कर्मासिल युथ क्लब बीच प्रतिस्पर्धा भएको छ ।
मकालुले कर्मासिल युथ क्लवलाई शुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ । त्यस्तैगरी आजै भएको अर्को खेलमा हाङ्चुवा क्लव माल्टा र चाँदनी क्लव पाँचखपन बीच प्रतिस्पर्धा भएको भएको छ । माल्टाले पाँचखपनलाई शुन्यका विरुद्ध १ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको उद्घाटन गर्दै खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले खेलकुदका माध्यमबाट समाजमा भएका विकृति, विसङ्गतीलाई निर्मूल पार्नुपर्ने बताउनुभयो ।
प्रतियोगिताको विजयी टिमलाई नगद एक लाख रुपैयाँ ट्रफि,मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेतालाई नगद ५० हजार रुपैयाँ सहित ट्रफि,मेडल प्रमाणपत्र प्राप्त गर्ने एडभान्स क्लवका अध्यक्ष जिल्लामान राईले बताउनुभयो । त्यस्तैगरी सेमि फाइनालिष्ट दुई टिमलाई नगद २०÷२० हजार रुपैयाँ प्रदान गरिने आयोजक एड्भान्स क्लवले जनाएको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न २० फुटबल क्लवको सहभागिता रहेको आयोजनाकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । खाँदबारी–३ मानेभञ्याङ स्थित महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगिता कार्तिक १ सम्म सञ्चालन हुनेछ ।






