राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुर स्थित विरेन्द्र फुड्स एण्ड बे्रभेज इन्ड्रष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
परिक्षण प्रमाणित नल्याएसम्म विक्रीमा रोक
इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा (ब्त्तग्ब्) पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसंग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुईलाख जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत जितेन्द्र पासवानको नेतृत्वमा उद्योगमा पुगेको संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा पानीको बोतलमा लेदो र बाह्य बस्तु फेला पारेपछि दुईलाख जरिवाना गरेको हो । उक्त बोतलहरु टोलीले तत्कालै नष्ट गरेका थिए । टोलीमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीले उक्त उद्योगलाई दुईलाख रुपैयाँ जरिवानाका साथै मेशिनहरुको मरमत र पानी उत्पादन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको प्रयोगशालाबाट परीक्षण गराई शुद्धताको प्रमाणित पत्र पेश नगरे सम्म विक्रिी वितरणमा समेत रोक लगाइएको जानकारी दिए ।
शुद्ध पिउने पानी भनेर उक्त उद्योगबाट बजारमा पठाइएको मध्ये करिब तीनसय बोतलमा बाह्य बस्तु फेला परेको उपभोक्ताहरुको गुनासो आएपछि उद्योगमै टोली पुगेर अनुगमन गरेको टोलीमा सहभागी उद्योग बाण्ज्यि संघ सप्तरीका महासचिव अमृत संचेतीले बताए । उपभोक्ताको स्वास्थ्यमा असर पर्ने दुषित पानी बजारमा पठाएर लापरवाही समेत गरेकाले यस्तो कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका नायवसुब्बा प्रकाश देवकोटाले बताए ।
टोलीमा सञ्चारकर्मी बैद्यनाथ झा, उपभोक्ता मञ्च र सुरक्षानिकायका प्रतिनिधि सहभागि छन् ।
चाडपर्वको बेला बजारमा म्याद गुज्रेको, गुणस्तरहिन, लेवल नभएको लगायतका सामग्री विक्री वितरण हुँदै गरेको जन गुनासो बढदै गएपछि बजार अनुगमनलाई तिब्रता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।






