धुलाम्मे रजिस्टरबाट डिजिटल स्क्रिनसम्म

कपिलवस्तु । कागजका धमिला अक्षर हराइसकेका, कतिपय पाना च्यातिएका पुराना नागरिकताका रजिस्टरहरूले अहिले नयाँ जीवन पाउन थालेका छन् ।

कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले पहिलोपटक मोबाइल एप प्रयोग गरेर २०४६ सालअघिका नागरिकता अभिलेखहरूलाई डिजिटल फाइलमा रूपान्तरण गर्ने ऐतिहासिक पहल थालेको छ ।

नागरिकता राज्यसँगको प्रत्यक्ष सम्बन्धको पहिलो दस्तावेज हो । तर, ती दस्तावेज वर्षौंसम्म पुराना रजिस्टरका धुलाम्मे पानामा कैद भएर हराउँदै थिए । अभिलेखहरू च्यातिने, धमिला हुने वा हराउने जोखिम बढ्दै गइरहेका बेला कपिलवस्तु प्रशासनले मोबाइलमा आधारित ‘क्याम–स्क्यानर एप्स‘ प्रयोग गरेर अभिलेखहरूलाई डिजिटलाइज गर्न सुरु गरेको हो ।

‘अहिले तीन महिनाको अवधिमा ५० हजारभन्दा बढी नागरिकताका अभिलेखहरू डिजिटल फाइलमा सुरक्षित भएका छन्,’ प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भने, ‘यसले पुराना रेकर्डहरू हराउने वा बिग्रने जोखिम अन्त्य गर्छ ।’

तामाङका अनुसार २०४६ सालपछि बनाइएका अभिलेखहरू नेपाली कागजमा भएकाले अझ सुरक्षित छन् तर त्यसअघिका रेकर्डहरू भने धमिला, फाटेका र पढ्न कठिन अवस्थामा थिए । ‘त्यस समयका अभिलेखहरू हातले लेखिएका थिए, केही कागजका त अक्षरै हराइसकेका छन्,’ प्रजिअ तामाङले भने, ‘त्यसैले डिजिटल रूपान्तरण अत्यावश्यक भयो ।’

बिदाको समयमा कार्यालयमै व्यस्त
स्क्यान कार्यका लागि प्रशासनले ६ जना कर्मचारी खटाएको छ । नियमित सेवा अवरुद्ध नहोस् भनेर शनिबार र बिदाको समयमा नै स्क्यान कार्य गर्न थालिएको हो ।

स्क्यानमा संलग्न नासु रुद्रप्रसाद पन्थी भन्छन्, ‘दिनको समयमा सम्भव नभएपछि हामीले बिदाको समय प्रयोग ग¥यौं, अहिले ती सबै अभिलेख सुरक्षित रूपमा कम्प्युटर प्रणालीमा भण्डारण भएका छन् ।’ कर्मचारीहरूको समर्पण र नियमित सेवामा कुनै असर नपर्ने गरी गरिएको यो कार्य स्थानीय प्रशासनमा नयाँ सोच र कार्यसंस्कृतिको उदाहरण बनेको छ ।

सेवाग्राहीका लागि सहज र पारदर्शी
पहिले पुराना नागरिकता खोज्नका लागि सेवाग्राहीले घण्टौंसम्म पुराना रजिस्टर पल्टाउनुपथ्र्यो । तर, अहिले कम्प्युटरमा नाम टाइप गर्दा केही सेकेन्डमै रेकर्ड भेटिन्छ । प्रतिलिपि निकाल्न सजिलो र छिटो भएको सेवाग्राहीहरूले बताइरहेका छन् । ‘पहिले नागरिकता खोज्दा पाना पल्टाउँदै घण्टा लाग्थ्यो, अहिले कम्प्युटरबाट तुरुन्तै निकाल्न सकिन्छ,’ बुद्धभूमि–५ का सेवाग्राही श्याम यादवले भने । यसले प्रशासनिक सेवामा पारदर्शिता, दक्षता र विश्वास बढाएको अधिकारीहरूको भनाइ छ ।

हातहतियार र संस्था दर्ता पनि डिजिटल हुँदै
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हालैबाट हातहतियार र संस्था दर्ताका पुराना अभिलेखहरू पनि डिजिटल प्रणालीमा रूपान्तरण गर्न थालेको छ ।

यसले जिल्लालाई अभिलेख व्यवस्थापनमा डिजिटल मोडेल बनाउने अपेक्षा गरिएको छ ।

नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानसँगसँगै कपिलवस्तु प्रशासनको यस कदमले स्थानीय स्तरमा डिजिटल सुशासनको नयाँ उदाहरण स्थापित गरेको छ ।

‘कपिलवस्तु प्रशासनको यस प्रयासले इतिहासलाई भविष्यसँग जोड्ने काम गरेको स्थानीय पत्रकारले बताएका छन् । पुराना, धमिला र हराउँदै गरेका दस्तावेज अब सुरक्षित फोल्डरमा मात्र होइन नेपालको डिजिटल सुशासन यात्राको प्रतीकका रूपमा पनि दरिँदै छन् । अफिसका कोठाभरि छरिएका धुलाम्मे फाइलहरू अब कम्प्युटरको स्क्रिनमा सुरक्षित छन् । यो नयाँ अभ्यासले प्रशासनिक नवीकरण मात्र होइन, अभिलेख व्यवस्थापनमा ‘डिजिटल शासन’तर्फको ऐतिहासिक पाइला साबित भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल