सिन्धुली । जिल्लामा सुरक्षा अधिकारीहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको ¥यापिड डाइग्लोष्टिक किट्स (आरडिटी) विधि मार्फत एण्टीवडि परिक्षण थालिएको छ । सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी सहित जिल्लाका फ्रन्टलाईनमा रहेर काम गर्नेहरुको आरडिटी परिक्षण थालिएको हो ।
सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणमा २० जनाको नतिजा पोजेटिभ आएको छ । ति मध्ये १२ जना स्वास्थ्यकर्मीमा आरडिटी परिक्षणमा एण्टीवडि पोजेटिभ देखिएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले बताए ।
जिल्लाका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी लगाएत गरि १५९ जनाको आरडिटी परिक्षण गरिएको थियो । आरडिटीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा एण्टीवडि पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताएका छन ।
आरडिटी परिक्षणमा एण्टीबडी नतिजा पोजेटिभ आएकाको मंगलबार थ्रोट स्वाव संकलन गरि प्रादेशिक अस्पताल हेटौडामा आरटिपिसिआर विधिबाट कोरोना परिक्षणका लागि पठाउने तयारी भईरहेको सिन्धुली अस्पतालका डा. राजभण्डारीले जानकारी दिएका छन । पिसिआर रिपोर्ट आएपछि मात्र कोरोना भए नभएको पुष्टि हुने उनले बताए ।
आरडिटी परिक्षणमा नतिजा सार्वजनिक भएसँगै जिल्लाबासीहरुमा त्रास फैलिएको छ । तथापी स्वास्थ्यकर्मीहरु लगाएत सामाजिक अभियन्ताहरुले पिसिआर परिक्षणको नतिजा आउन दिन र नआत्तिई सुरक्षित रहन अनुरोध गरिरहेका छन ।
स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार आरडिटी परिक्षणमा नतिजा पोजेटिभ आए पनि सबैमा कोरोना हुन नसक्ने हुदा जिल्लाबासीलाई नआत्तिन र पिसिआर रिपोर्ट आउन दिन आग्रह गरेका छन ।
चारजनाको कोरोना प्रतिवेदन नेगेटिभ
सिन्धुली । सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएका २ महिला र क्वारेन्टाईनमा राखिएका २ पुरुषको कोरोना परिक्षण नतिजा नेगेटिभ आएको छ । उनीहरुको स्वाव संकलन गरि सिन्धुली अस्पतालले आइतबार प्रादेशिक अस्पताल हेटौडामा परिक्षणको लागि पठाएको थियो ।
उनीहरु ४ जना कै रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले बताए ।
एकजना नेपाली सेना, एकजना भारतबाट आएका पुरुष र दुई जना सिन्धुली अस्पतालमा उच्च ज्वरो आई आइसोलेसनमा भर्ना गरिएका २ जना महिलाको कोरोना परिक्षण नतिजा नेगेटिभ आएको डा. राजभण्डारीले बताए ।