खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पूर्व तथा वर्तमान कार्यपालिका सदस्यलाई तीन पुस्ते सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको छ । राज्यकोषबाट सेवासुविधा लिइरहेका जनप्रतिनिधिले आफूलाई पारदर्शी बनाउन नसक्दा नैतिक प्रश्न उठिरहेको भन्दै नगरपालिकाले वर्तमान तथा पूर्व कार्यपालिका सदस्यसहित ५५ जनालाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको हो ।
पन्ध्र वडा रहेको जिल्लाकै ठूलो स्थानीय तह रहेको यस नगरपालिकाका २५ जना वर्तमान कार्यपालिका सदस्य र २५ जना पूर्व कार्यपालिका सदस्यलाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण खवासले जानकारी दिए । नगरपालिकाले नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, पूर्व नगरप्रमुख दीपनारायण रिजाल, पूर्वउप–प्रमुख विणादेवी राईलगायतलाई आगामी कातिक १५ गतेभित्र सम्पत्ति विवरण उपलब्ध गराउन पत्राचार गरेको हो ।
वर्तमान तथा पूर्व जनप्रतिनिधिसँगै उनीहरूका सचिवालयका कर्मचारीलाई पनि आफ्नो सम्पत्ति विवरण बुझाउन भनिएको छ । नगरप्रमुख भट्टराईले भने निर्वाचित भएको महिना दिन नपुग्दै पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । यही असोज २८ गते बसेको नगरकार्यपालिका बैठकले नगरपालिकाका जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गरी आफूलाई नेपालकै पहिलो पारदर्शी स्थानीय तहको जनप्रतिनिधिको रूपमा परिचित गराउन यस्तो निर्णय गरिएको नगरप्रमुख भट्टराईले बताए ।
कार्यपालिकाको निर्णयअनुसार तीन पुस्ते जग्गा, घर, सेयर, सुन, चाँदी, हिरा, मोती, गरगहना, नगद, गाडी, मोटरसाइकल वा अन्य चलअचल सम्पत्तिको विवरण बुझाउन पत्राचार गरिएको हो । नगरपालिकामा बुझाइएको तीन पुस्ते सम्पत्ति विवरण भविष्यमा तलमाथि भए स्वयम् जवाफदेही हुनुपर्ने पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । नगरका राष्ट्रसेवक कर्मचारीहरूलाई समेत आफ्नो सम्पत्ती विवरण बुझाउन भनिएको नगरप्रमुख भट्टराईको भनाई छ ।






