सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिताको उपाधी सभापोखरी फुटबल क्लवले जितेको छ । खाँदबारी–३ मानेभञ्याङ स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा सामुदायिक विकास क्लव सेकाहालाई शुन्यका विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो ।
सभापोखरी फुटबल क्लवले पहिलो हाफमा शुन्यका विरुद्ध २ गोल गर्दै खेललाई अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लगातार दुई गोल गर्दै सभापोखरीले छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिताको उपाधी जितेको हो । सेकाहा फुटबल क्लवले शुन्य गोल सहित उपविजेतामा चित्त बुझाएको छ ।
सामाजिक सद्भावका लागि युवा एकता, विकृति विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ मानेभञ्ज्याङमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता असोज २८ गते देखि सुरु भएको हो । पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन संखुवासभा जिल्लामा खेल महोत्सवका रूपमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता सञ्चालन गरिएको एड्भान्स क्लबले जनाएको छ । त्यस्तैगरी आयोजक मानेभञ्याङ फलटबल क्लव र भोटिया युथ क्लवले सेमिफाइनालिष्ट भएका छन् ।
प्रतियोगिताको विजयी टिम सभापोखरीले नगद एक लाख रुपैयाँ ट्रफि,मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सेकाहाले नगद ५० हजार रुपैयाँ सहित ट्रफि,मेडल प्रमाणपत्र प्राप्त गरेको एडभान्स क्लवका महासचिव बेदराज घिमिरेले बताउनुभयो । त्यस्तैगरी सेमि फाइनालिष्ट दुई टिमलाई नगद २०÷२० हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न २० फुटबल क्लवको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिएको थियो । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।






