राजविराज । लोकआस्थाको महान पर्व छठ धुमधामका साथ मनाउन सप्तरीका हिन्दु धर्मावलम्बी उत्साहपूर्वक जुटेका छन् ।
यस क्रममा जिल्लावासी अहिले विभिन्न तालतलाउ, नदी, खोला र पोखरीलाई सफा गरि पूजाघाट बनाउने र सिंगार्न व्यस्त भएका छन् । भक्तजनका साथै सेना, प्रहरी र जनप्रतनिधि मिलेर सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, पूर्णी, शिव र तुरन्ती पोखरीलाई सरसफाई गर्न थालेका छन् ।
छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यका साथ सबै मिलेर जलाशयहरुको सरसफाईमा जुटेको राजविराज ७ का वडा सदस्य रमानन्द देवको भनाई छ ।

सूर्यको आराधना गरि मनाइने चार दिवसीय छठ पर्व अन्तरगत यस पल्ट कात्तिक ८ गते शनिबार नहायखाय, कात्तिक ९ गते आइतबार खरना, कात्तिक १० गते सोमबार सझिया घाट ( अस्ताउदो सूर्यलाई अर्घ) र कात्तिक ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तय रहेको चण्डि दुर्गा भगवती मन्दिरका मूल पूजारी पण्डित दुर्गानन्द मिश्रको भनाई छ ।
यता छठ पर्वमा पूजा र प्रसाद सामाग्रिमा प्रयोग हुने सरसामान खरीद गर्नेको बजारमा भिड बढ्दै गएको छ । स्थानीय यतिबेला छठ पूजा घाट सजाउन र पूजा सामाग्रि किन्न व्यस्त देखिएका छन् ।
बजार अहिले छठ पूजाका सामाग्रिले भरिभराउ छन् भने ठाउँ ठाउँमा सडक किनारमै पूजा सामाग्रिका दर्जनौं अस्थायी पसलहरु समे खुलेका छन् ।







