पक्राउ परेका २ वडाध्यक्ष, १ शिक्षकसहित ५ जना विदाको दिनमा प्रहरीद्वारा धरौटीमा रिहा

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेको सुनौलो भविष्य सहकारी संस्थाको रकम अपचलन आर्थत ठगी मुद्दामा पक्राउ परेका दुई वडाध्यक्ष, एक शिक्षकसहित पाँच अरोपिहरू धरौटीमा रिहा भएका छन् । लमजुङको बुहचर्चित सुनौलो भविष्य सहकारीको ठगी आरोपिहरूमध्ये प्रहरीले नियन्त्रणमा लिएका दुई वडाध्यक्ष, एक शिक्षकसहित पाँच जनालाई विदाको दिनमा धरौटीमा रिहा गरेसँगै त्यस्तो खुलासा भएको छ ।

त्यसरी रिहा हुनेहरूमा बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी, सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापा, सुन्दरबजार नगरपालिकाको सोही वडामा रहेको भक्ति आदर्श माविका प्रावि शिक्षक थकित अधिकारी(यात्री) सहित पाँच जना रहेका छन् ।

सुनौलो भविष्य सहकारीको रकम अपचलन अर्थात ठगी धन्दा(मुद्दा)का आरोपिहरू ५० जनाका विरुद्धमा पक्राउ पूर्जी जारी भएको छ । तीमध्ये आजका मितिसम्म १४ जना मात्र प्रहरी सम्पर्कमा छन् । हिजो र आज पक्राउ परेकामध्ये पाँच जनालाई बिगो हुनेको हकमा विगो सहितको रकम धरौटी लिएर र विगो नहुनेका हकमा विगो बिनाको धरौटी रकम लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए ।

उनका अनुसार रिहा हुनेहरूमा दुवै जना वडाध्यक्ष जोशी र थापा समेत छन्, ती दुवैजनाले आफू जिम्माको विगो रकम यस अघिनै सहकारीमा बुझाइसकेको देखिएको हुँदा प्रतिव्यक्ति ५० हजार रुपैया मात्र धरौटी लिएर छाडिएको हो । उनले भने, ‘अदालतमा मुद्दा बुझाउँदाको दिनमा भने सबै उपस्थित हुनु पर्छ ।’

बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी भने आज एकै दिनमा फुर्सद लिन सफल भएको स्रोतको भनाइ छ । जोशी सो सहकारीको संस्थापक अध्यक्ष एवम् व्यवस्थापक समेत रहेको जानकारीमा आएको छ ।

सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापा लेखा समितिका सदस्य थिए ।

सुन्दरबजार नगरपालिका– ८ को भोटेओडारमा रहेको भक्ति नमूना माविका प्रावि शिक्षक थकित अधिकारी यात्रीले चार लाख ६१ हजार ५९५ रुपैयाँ धरौटी बुझाएर रिहा भएको प्रहरी भनाइ छ । यसैगरी, यात्रीकै बारबरको धरौटी राखेर रिहा हुनेमा विवेक अधिकारी र शंकर न्यौपाने समेत रहेको प्रहरीले जनाएको छ ।

यस्तो प्रकृतिको मुद्दाका कुनै पनि आरोपिलाई पक्राउ गरिसकेपछि बिना बयान यसरी धरौटी लिएर रिहा गर्ने अधिकार प्रहरीलाई नभएको कानुन व्यवसायीहरू बताउछन् । उनीहरूका अनुसार अदालतलगायतका सरकारी कार्यालय बन्द रहेको अवस्थामा कस्को आदेशले छाड्ने काम भएको हो ? प्रहरीलाई त्यस्तो अधिकार कानुनले कहाँ दिएको छ र ? भन्ने प्रतिप्रश्न उनीहरूले गरेका छन् ।

उनीहरूले भने, ‘आरोपिहरूलाई प्रहरीले आफूमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराउने हो । थुनछेकको बहसमा धरौटी लिने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिने काम अदालतको हो, प्रहरीलाई त्यो अधिकार छैन ।’

हाउगुजी सिद्धियो
आज धरौटीमा हिरा भएका पाँच जनाको प्रकृति सार्वजनिक भएपछि उक्त सहकारी मुद्दाको पनि हाउगुजी समाप्त भएको छ । यसअघ जिल्लामा चलाइएको बेसीशहरकै कालिका सहकारीको तत्कालीन बहुचर्चित ठगी मुद्दा ‘खोदा पहाड निक्ला चुहा’को रुपमा झिसमिस भएको र आजका दिनमा पनि त्यो सहकारीका केही पीडितहरू रुदै हिडेका छन् ।

कालिका सहरकारीको जस्तै यो मुद्दा पनि हालत त्यस्तै त हुने होइन ? भन्दै अन्तरङ्ग न्यूजडटकमले त्यो मुद्दाको उठान भएको पहिलो दिनदेखि गर्दै आएको आशंकाले साकार रुप लिने भएको छ ।

आज पाँच जना रिहा भएको नजिरका आधारमा सो काण्डमा मुछिएका अन्य सबैले राहतको अनुभूति गरेको जानकारीका आएको छ । किनकि, विगो देखिएर दोषी भएकाहरूको हकमा सो रकम र अन्यका हकमा मात्र ५० हजार धरौटी राखे पुग्ने भएपछि, यो मुद्दाको हाउगुजी समाप्त भएको स्रोतको भनाइ छ ।

तर मुद्दा मिलापत्र हुन नसकेमा विगो बराबरको जरिवाना र केही दिन भने पनि कैद सजाय हुने हुन्छ । त्यसतर्फ भने प्रहरीले ध्यान दिएको देखिदैन एक कानुनव्यवसायीले भने ।

यसअघिको बहुचर्चित कालिका सहकारीको ठगी मुद्दाका आरोपिहरूले न्युनत्तम पनि दुई लाख धरौटी राख्न अदालतले आदेश गरेको थियो । सुनौलो भविष्य सहकारीको यो काण्डमा भने प्रहरीको कार्यलाई अदालतले सदर गर्ने बढी नै सम्भावना हुने जानकारहरू बताउँछन् ।

सुनौलो भविष्य सहकारी ठगी काण्डमा सञ्चालकहरू पक्राउ पर्ने क्रम गत साउन २५ गतेबाट सुरु भएको हो । त्यस दिनदेखि आजका दिनसम्म ७२ दिन भइसकेको छ । उक्त मुद्दामा सहकारी ठगीका अतिरिक्त संगठित अपराध र सम्पत्ती शुद्धिकरण समेत जोडिएको हुँदा प्रहरीलाई अनुसन्धानका लागि ९० दिनको अवधिको सुविधा मिल्ने कानुनी व्यवस्था छ । सो मुद्दामा संगठित अपराध र सम्पत्ती शुद्धिकरण आकर्षित नहुने भएको भए यसअघि नै (२५ दिनभित्र) मुद्दा अदालतमा बुझाइसकिएको हुनुपथ्र्यो ।

यसबाट पनि प्रष्ट हुन्छ कि यो सहकारीको मुद्दामा संगठित अपराध र सम्पत्ती शुद्धिकरण आकर्षित भएकोछ । सो अनुसार प्रहरीले अनुसन्धानको प्रतिवेदन सहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा मार्फत बुझाउनका लागि अब १८ दिनको म्याद मात्र बाँकी छ । त्यो मिति आउँदो कार्तिक २१ गते पुग्ने हुन्छ ।

काँग्रेसका जिल्ला उपसभापति श्रीकान्तको समेत सम्पत्ती शुद्धिकरणमा तानिन सक्ने
सुनौलो भविष्य सहकारीको यो ठगी काण्डको मुद्दामा सम्पत्ती शुद्धिकरण समेत आकर्षित हुने भएपछि नेपाली काँग्रेसका उपसभापति श्रीकान्त घिमिरेसमेत त्यसमा तानिन सक्ने बलियो सम्भावना रहेको स्रोतले औंल्याएको छ । किनकि, उहाँका सुपुत्र अरुणकान्त घिमिरे सो सहकारीमा लामो समयदेखि आवद्ध हुँदै हालको उपाध्यक्ष हुनुका साथै कम्तिमा ४१ लाख रुपैयाँ अपचलन गरेको स्वीकार गरेको भन्ने सो सहकारीका अन्य सञ्चालकहरूको दावी छ ।

सम्पत्ती शुद्धिकरणको विद्यमान कानुन अनुसार परिवारको कुनै एक व्यक्ति त्यस्तो (सम्पत्ती शुद्धिकरण) मुद्दामा तानिएको खण्डमा उनी सम्बद्ध परिवार र नातेदार तथा अन्य निकटका व्यक्तिहरू समेतको सम्पत्ती शुद्धिकरण गर्नु पर्ने व्यवस्था रहेको छ ।

काँग्रेस उपसभापति श्रीकान्त घिमिरे विगतका लामो समयसम्म लमजुङ विद्युत उपभोक्ता संस्थाको अध्यक्ष रहेर त्यो संस्था घाटालाको शृंखला चलाउँदै उक्त संस्था डुवाएको जसको पगरी गुथ्नु भएको व्यक्तित्व समेत हुनुहुन्छ । उहाँको त्यतिबेला पनि सम्पत्ती शुद्धिकरण प्रसङ्ग उठेर पनि शक्तिका आडमा ढाकछोप गर्ने काम भएको थियो ।

यतिबेला उहाँको समेत सम्पत्ती शुद्धिकरण गरियो भने आश्चर्य नहुने स्रोतले बताएको छ । यसमा जेन– जेड टोलीको भूमिका के कस्तो हुने भन्ने आफूहरूले महत्वका साथ हेरिहेको सो सहकारीका पीडितहरूले बताएका छन् ।

सुनौलो भविष्य सहकारीमा एलेसम्म पीडितहरूले एक करोड ७३ लाख रुपैयाँ दावी गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार उक्त सहकारीमा छ करोड ७३ लाख रुपैया हिनामिना (ठगी) भएको भन्ने प्रतिवदेनका आधारमा अनुसन्धान चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह