काठमाडौं । २०८१ सालको दसैँमा रिलिज भएको नेपाली चलचित्र ‘१२ गाउँ’ले नेपालमा २६ करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको भन्दै चलचित्र हलबाट उत्रिएपछि यो चलचित्रका निर्माता र वितरकले मिडियामा व्यावसायिक रिपोर्ट सार्वजनिक गरेका थिए ।
त्यसपछि नेपाली सञ्चार माध्यममा पनि नेपालबाटै २६ करोड रुपैयाँ कमाउने चलचित्रको रूपमा ‘१२ गाउँ’को समाचार आयो । दसैँमा रिलिज भएको यो चलचित्रको बक्स अफिसको वास्तविक व्यापार भने २०८१ चैत अन्तिममा चलचित्र विकास बोर्डको बक्स अफिसले सार्वजनिक ग¥यो । बक्स अफिसको तथ्यांक अनुसार ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँको व्यापार बक्स अफिसमा गरेको थियो ।
केही चलचित्र घर त्यति बेला बक्स अफिसमा नजोडिएकाले यसले करिब २१ लाख रुपैयाँको व्यापार गरेको अनुमान चलचित्र विकास बोर्डको थियो । यसरी चलचित्रको वास्तविक व्यापार भन्दा ५ करोड रुपैयाँ बढीको कमाई देखाएर यो चलचित्रको निर्माण पक्षले चर्चा कमाएको थियो ।
यही प्रोपोगान्डा गर्न चलचित्र ‘छक्का पञ्जा–५’ पनि पछि परेन । यसका निर्माता दीपकराज गिरीले ‘छक्कापञ्जा–५’ चलचित्र घरबाट उत्रिएपछि यो चलचित्रले बक्स अफिसमा करिब २१ करोडको व्यापार गरेको दाबी गरे । सो कुरा विभिन्न सञ्चार मध्यमा पनि आयो । तर जब चलचित्र विकास बोर्डले त्यसको ६ महिनापछि बक्स अफिस रिपोर्ट निकालेको थियो । जसमा चलचित्र ‘छक्का पन्जा ५’ले बक्स अफिसबाट १५ करोड २० लाखको व्यापार गरेको उल्लेख थियो । बक्स अफिसमा नजोडिएका थप चलचित्र घरका व्यापार जोड्दा १६ करोड ५० लाखसम्म यो चलचित्रको व्यापार गरेको हुनुपर्ने अनुमान बोर्डको थियो ।
चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक नगर्दासम्म नेपाली चलचित्रका निर्माता र वितरकहरूले आफ्नो चलचित्र रिलिज भएको दोस्रो दिनबाटै व्यापारको आँकडा सार्वजनिक गर्ने प्रचलन २०८१ को अन्त्यसम्म खुबै चल्यो । त्यति बेला चलचित्र घरमा १ करोडको व्यापार गरेको चलचित्रले २ करोडसम्मको व्यापार गरेको आँकडा सम्बन्धित निर्माता र वितरकले सार्वजनिक गर्थे ।
जसका कारण चलचित्रहरू निर्माता, वितरकको आँकडा देखि मिडियामा आएका समाचारमा समेत व्यावसायिक सफल देखिन्थे, तर बक्स अफिसमा चलचित्रले भने आफ्नो लगानी समेत उठाउन नसकेको देखिन्थ्यो । त्यति बेला चलचित्र ‘१२ गाउँ’, ‘छक्का पन्जा ५’ जस्ता चलचित्रले वास्तविक भन्दा ५ करोडसम्म बढी व्यापार भएको हिसाब देखाएर आफ्नो चलचित्रले राम्रो व्यापार गरेको चर्चा चलाए । अधिकांश चलचित्रले कमाई भन्दा आधा देखि दोब्बर सम्मको हिसाब सञ्चार माध्यमलाई दिन्थे ।
यस्तो विकृति रोक्नकै लागि चलचित्र विकास बोर्ड यो वर्षबाट चाडबाडमा दैनिक रूपमा तथा अरू बेला साप्ताहिक रूपमा सम्बन्धी चलचित्रको बक्स अफिसमा भएको व्यापारको आँकडा सार्वजनिक गर्न थालेको छ । यसपालि दसैँमा विगतको जस्तो अस्वाभाविक र झुटो व्यापार विवरण बाहिर नआओस् भनेर दैनिक जसो चलचित्रको बक्स अफिस परिणाम सार्वजनिक गरिएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राजधानीलाई बताए । जसका कारण दसैँ र तिहारमा चलचित्रको व्यापारको अनास्यक विवरण मिडियामा आएन ।
अध्यक्ष डिसीका अनुसार चलचित्र विकास बोर्डले अब मुख्य चाडबाडहरूमा चलचित्रको राम्रो व्यापार हुँदा कम्तीमा साप्ताहिक रूपमा बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने छ । यो अभ्यास गएको दसैँबाट सुरु गरेको थियो । दसैँमा रिलिज भएको चलचित्रहरू ‘बलिदान’ ‘हरिबहादुरको जुत्ता’ ‘माइतीघर’को बक्स अफिस व्यापार रिपोर्ट नियमित रूपमा यही कारण प्रकाशनमा ल्याएको पनि बोर्ड अध्यक्ष डिसीको कथन छ । दसैँ मात्र हैन, तिहारमा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को बक्स अफिस रिपोर्ट पनि चलचित्र विकास बोर्डले नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । त्यसपछि रिलिज भएका बाँकी तीन चलचित्रका साप्ताहिक व्यापारको विवरण पनि साताको अन्तिम दिन बोर्डले सार्वजनिक गर्नेछ ।
नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष उदय सुब्बाको कथनमा आफ्नो चलचित्र व्यावसायिक असफल भए पनि निर्माताहरूले इज्जत र प्रतिष्ठाको लागि नक्कली व्यापारको सूची सार्वजनिक गरेर नाफा कमाएको देखाउने होडबाजी निकै बढेको थियो । जसका कारण चलचित्र क्षेत्रमा आउने नयाँ निर्माताहरू भ्रममा परेर राम्रो कमाई हुने लोभमा यो क्षेत्रनै नबुझी चलचित्रमा लगानी गर्न क्रम बढेको थियो । सोही कारण पनि २०८२ साल अहिलेसम्मकै सबै भन्दा बढी चलचित्र निर्माण भएको वर्ष बन्ने दाबी सुब्बाको छ ।
उनका अनुसार चलचित्र विकास बोर्डले साप्ताहिक रूपमा बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको खण्डमा चलचित्रको व्यापार कस्तो छ भन्ने सबैलाई सही सूचना हुनेछ । त्यसैले बोर्डले साप्ताहिक व्यापारको सूची सार्वजनिक गरेको कार्यलाई नेपाल चलचित्र निर्माता संघले सकारात्मक रूपमा लिएको उनले बताए । यसरी चलचित्र बजारको सत्य तथ्य सूचना आधिकारिक रूपमा आउँदा करण प्रणालीलाई पनि चलचित्र उद्योगको व्यापार प्रति विश्वास हुने भनाई यी निर्माता एवम् वरिष्ठ उपाध्यक्षको छ । यो कार्यले धेरै व्यापारिक विकृतिहरू नियन्त्रण हुँदै जाने आशा उनले गरेका छन् ।






