धनकुटा । बिहीबार रातीदेखी परेको अविरल वर्षाका कारण तमोर करिडोर सडक र भेडेटार रवि राँके सडक पुर्णरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोरको नावा खोला र छरुवा खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो । यस्तै धनकुटाको भेडेटार हुँदै पाँचथरको रवि–राँके जोड्ने सडक अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सवारी साधन अलपत्र परेका छन् । जसले गर्दा करिब डेढ सय हाराहारी यात्रु बाटोमै रोकिएका छन् । तमोर करिडोरमा पर्ने नावा खोलासँगै छरुवा र रगुवा गरी तीनवटा खोलामा पुल बनेका छैनन् ।
निरन्तरको वर्षाको कारणले सडक खुलाउन नसकिएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिए । पानी पर्न थालेपछि जोखिम हुन्छ भन्ने पूर्वसूचना पाएर पनि यात्रु स्वयंले सावधानी नअपनाउँदा समस्या हुने गरेको प्रहरीको भनाइ छ।
यस्तै कोशी राजमार्गको धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाइमा सडक भासिदा एकतर्फि सवारी आवागमन बन्द भएको छ। सो ठाउँमा करि १० मिटर सडक भासिएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।






