बाढीपीडितको पालमुनि बास, हरायो आस

इलाम । गत १८ असोजको बाढीले घर बगाएपछि इलामका बाढीपीडित अझै पनि पालमुनि दैनिकी कटाइरहेका छन् । चिसो मौसम र पटकपटक पानी परेपछि चुहिएको पानीबाट तर्किंदै पालमुनि बस्नुको विकल्प छैन ।

विशेषगरी गर्भवती, सुत्केरी, साना बालबालिका र दीर्घ रोगीको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ । देशभरिको एउटा संकटग्रस्त जिल्ला घोषणा हुँदा पनि पालमुनि बाहेक कुनै विकल्प नबन्दा सरकार र सरोकारवालाको सहयोगमा बाँचिरहेका उनीहरू अब भने राज्यप्रतिको विश्वास नै हराउँदै गएको चिन्ता व्यक्त गर्छन् ।

इलाम नगरपालिका–१० टापुकी जानुका परियार १३ वर्षदेखि टापुमा बस्दै आएकी थिइन् । उनले १३ वर्षसम्म घरमा जोडेको र राखेको कुनै पनि सामान छैन । त्यो रात अझै आँखामा घुमिरहेको छ । सोही ठाउँकी सुकमाया तामाङको दैनिकी पनि पालमुनि नै चलिरहेको छ । पालमुनिको बास र लगातार परिरहेको वर्षाले उनीहरूको दैनिकी झन् कष्टकर बन्न थालेको हो । राहतस्वरूप केही लत्ता कपडा र खानेकुरा पाए पनि आफूसँग भएको सबै खोलाले बगाएपछि आउँछ कि भन्ने आसबाहेक केही नरहेको सुकमायाले दुखेसो पोखिन् ।

सोही ठाउँकी कञ्चन लिम्बु नागरिकता नभएका कारण छोरा–छोरीको जन्मदर्तासमेत हुन नसकेको र अब राहत पनि नपाइने भन्दै भक्कानिँदै दुखेसो पोख्छिन् । श्रीमान्को नागरिकता नभएको पीडा खेपिरहेकी उनले बाढी घरमा आएपछि उनको नागरिकताबाहेक केही बोक्न भ्याइनन् । अहिले नागरिकता नभएका कारण सरकारी सुविधा नपाउने अरे भन्दै भक्कानिन्छिन् ।

उनकी सासू जुनिता मेचे मुटुको बिरामी छिन् । मासिक ७ हजारको औषधि खानुपर्छ । उनका श्रीमान् काम खोज्दै झापा गएका छन् । सासू र काखको नानी च्यापेर अस्थायी घरमा बसेकी उनी आफ्नो परिवारको जन्मथलो कहाँ हो भन्ने नै थाहा नभएको बताउँछिन् ।

टापुकै सुत्केरी गायत्री शिवा छोरीसहित पालमुनि बसिरहेकी छन् । नानी बिरामी छ, पाल चुहिन्छ, कम्बल भिज्छ, तातो लुगा छैन, पोसिलो खानेकुरा छैन । राहतस्वरूप आएको सामान्य खाना (मुसुरोको दाल र न्युटेलाको तरकारी)ले सुत्केरी र शिशु दुवैलाई पोषण पुग्ला त ? त्यही पालमा सात महिनाकी गर्भवती दीपा शिवा पनि बसिरहेकी छन् । ‘साना नानीहरू बिरामी छन्, लुगा पनि साइजअनुसार छैन,’ हातखुट्टा सुन्निन्छ, राति चिसो सहन सकिँदैन आँखाभरी आँसु झार्दै उनी भन्छिन्, ‘पहिले माई खोलाको बगरमा गिटी कुट्थ्यौं, अहिले त घर छैन, लुगाफाटा छैन, काम छैन, मन खुसी छैन ।’

यो पीडा टापु क्षेत्रमा बगेका घरका प्रत्येक परिवारको हो । यस क्षेत्रमा रहेका २६ घर माई खोलाको बाढीले बगाएको तथ्यांक छ । बाँकी रहेका १० घरलाई पनि लेदोले पुरेको छ । नेपाली सेनाले बनाएको अस्थायी बसोबासअन्तर्गत बनाएका टहरामुनि दैनिकी चलाइरहेका छन् ।

अन्योलमा पुनर्निर्माण
बाढी गएको डेढ महिना बितिसक्दा पनि पुनःस्थापनाको प्रक्रिया सुरु हुन सकेको छैन । पीडितका अगाडि मन्त्री आए, राहतका केही सामान आए तर दीर्घकालीन योजना आउन सकेका छैनन् । पीडित भन्छन्, ‘पालमुनि बस्दा चिसो, रोग र भोकसँग जुध्न गाह्रो छ, तर सरकार मौन छ । हामी यहीँ बस्नुपर्ने कि कहाँ बस्नुपर्ने अहिलेसम्म टुंगो लागेको छैन ।’

टापु क्षेत्रको जस्तै पीडा अहिले जिल्लाभर नै छ । चिसो बढ्न थालेपछि मुख्य समस्या बाढी–पहिरोपीडित वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती र दीर्घ रोगीलाई छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार १८ असोजको बाढी र पहिरोले जिल्लाका विभिन्न पालिकामा ३ सय ३६ घर पूर्ण क्षति भएका छन् । ८ सय २८ घरमा आंशिक क्षति भएको छ । ११ परिवारले सामुदायिक भवनमा तथा ४ सय ३८ परिवारले आफन्त र छिमेकीकामा आश्रय लिइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह