सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा रहेको हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले एक्जिटो एजुकेसन इन्टरनेशनल अवार्ड प्राप्त गरेपछि शिक्षा क्षेत्रको विकासमा लाग्न थप हौसला मिलेको बताएका छन्। प्रिन्सिपल खनालले लिंकन युनिभर्सिटीमा उत्कृष्ट प्रिन्सिपल अवार्ड प्राप्त गरेका थिए।
एक्जिटो एजुकेसन अष्ट्रेलियाले आयोजना गरेको अवार्ड प्राप्त गरेर स्वदेश फर्किएका प्रिन्सिपल खनालले यो अवार्डले थप जिम्मेवारी प्राप्त गरेको धारणा राखे । यसले नेपालको शिक्षा क्षेत्रको विकासमा लाग्न थप हौसला मिलेको बताउँदै उनले हिमालय इंग्लिस स्कुललाई प्रविधि मैत्री बनाई अगाडि बढाउन अझै मेहनतका साथ लाग्न चुनौती थपिएको बताए।
यो पहिलो इन्टरनेशनल अवार्ड भएको भन्दै उनले आगामी दिनहरुमा बिद्यालयलाई थप उचाई पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे। बिद्यालयले स्थापना कालदेखि नै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा अब्बल सावित गर्दै विभिन्न पुरस्कारहरु प्राप्त गर्दै आएको जनाएको छ।
यसबर्ष नेसनल प्याब्सन सुन्दरहरैंचा नगर समितिले आयोजना गरेकोको हेन्ड राइटिङ प्रतियोगिता ६ विधा मध्ये ५ विधामा हिमालय स्कुलले प्रथम स्थान हासिल गरेको थियो भने गतबर्ष पनि जिल्ला स्तरीय जुनियर डान्स प्रतियोगितामा पनि प्रथम स्थान हासिल गर्न सफल भएको थियो। पछिल्लो समय सुन्दरहरैचामा यस स्कुलले पठन पठानका अतिरिक्त विभिन्न अतिरिक्त क्रियाकलाप गर्नमा अन्य निजी स्कुलको तुलनामा भन्दा एक कदम अगाडी रहेको छ।






