काठमाडौं । प्रदेशका कलाकारहरूले प्रदेशमै प्रज्ञा प्रतिष्ठान स्थापना गरेर आफूहरूको कलाको प्रवर्धन हुनु पर्ने आवाज उठाई रहेका छन् । यही कुरालाई मध्यनजर राख्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् समिति केही समय यताबाट प्रदेश केन्द्रित हुन थालेका छ । आफूहरूले हरेक वर्ष हरेक प्रदेशमा विभिन्न कार्यक्रमहरू बृहत् रूपमा आयोजना गर्न थालेका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले राजधानीलाई बताए ।
प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा जेठमा आयोजना गर्ने राष्ट्रिय कला प्रदर्शनको लागि पनि प्रदेशमै प्रदेश स्तरीय प्रदर्शन गर्दै आएको पनि थुम्केलीको कथन छ । यसरी हरेक प्रदेशमा हुने बृहत् प्रदर्शनीबाट कला चयन गरेर राष्ट्रिय प्रदर्शनीमा समावेश गर्दै आएको पनि उनले बताए । । प्रदेशको प्रदर्शनीमा उत्कृष्ट भएकाहरूलाई पनि पुरस्कृत पनि गरिँदै आएको छ ।
प्रदेशको कला प्रवर्धन परियोजना’bout प्रदेश सरकारसँग छलफल गर्न परिषद्का पदाधिकारीहरू यति बेला लुम्बिनी प्रदेशमा छन् । सोही क्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटघाट र अन्तरक्रिया गरेका छन् । सो भेटमा ललितकलाको प्रवर्धन र विकासमार्फत प्रदेशलाई उत्कृष्ट बनाउन सकिने विषयमा छलफल भएको सदस्य सचिव थुम्केलीले राजधानीलाई बताए ।
थुम्केलीका अनुसार सो भेटमा मुख्यमन्त्री आचार्यले कला र सृजनालाई रोजगारसँग जोड्दै सांस्कृतिक क्षेत्रलाई आर्थिक अवसरको माध्यम बनाइने योजना सुनाए ।
‘छलफलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८२, सेरा मिक्स हब गढवा, मूर्तिकला बगैँचा (मूर्तिकला उद्यान) लगायतका विषयमा विस्तृत रूपमा कुराकानी भयो । मुख्यमन्त्री आचार्यले ललितकलालाई प्रदेशको पहिचानसँग जोड्दै अनुसन्धान, सिर्जना र सम्मानलाई प्रमुख आधारका रूपमा अघि बढाइने उल्लेख गर्नुभयो’, थुम्केलीले भने,‘उहाँले ललितकला र सांस्कृतिक सम्पदाको जगेर्नासँगै यस क्षेत्रलाई रोजगारी र पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने धारणा राख्नुभयो ।’
ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी माघदेखि चैत महिनाभित्र रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८२ आयोजना गर्ने तयारी गरेको छ । ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा प्रदेशका दुर्गमदेखि सुगम क्षेत्रका कलाकारहरूलाई सहभागी गराइने विषयमा पनि सो भेटमा छलफल भयो ।
थुम्केलीका अनुसार, प्रदर्शनीबाट छानिएका उत्कृष्ट कलाकृतिहरू राष्ट्रिय ललितकला प्रदर्शनी–२०८३ मा समावेश गरिने छन् । सो क्रममा उत्कृष्ट कलाकारहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, विधागत पुरस्कार र नवप्रतिभा पुरस्कार प्रदान गरिनेछ । यस प्रदर्शनीबाट नेपाली कला र संस्कृतिको जगेर्ना, कलाकारबिच सहकार्य, रोजगारी सृजना र अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको पहिचान विस्तार हुने अपेक्षा आफूहरूले गरेको पनि मुख्यमन्त्रीलाई उनीहरूले बताए ।
मुख्यमन्त्री र प्रतिष्ठानबिचको भेटमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव थुम्केलीसहित परिषद् सदस्य प्रदीप अधिकारी र परिषद् सदस्य दिनेश्वर महतो सहभागी भएका छन् । लुम्बिनी जस्तै बाँकी प्रदेशका मुख्यमन्त्रीलाई समेट भेटेर यो अभियानलाई अघि बढाउने योजना पनि यी पदाधिकारीहरूले राजधानीलाई सुनाएका छन् ।






