काठमाडौं । गत भदौमा रिलिज भएको नेपाली चलचित्र ‘कोशेढुंगा’ चलचित्र घरबाट उत्रिसकेको छ । तर यो चलचित्र विभिन्न टेलिभिजनसहित ओटिटी प्लेटफर्ममा रिलिजको तयारी चल्दै छ । केही देशमा अझै यो चलचित्र प्रदर्शन प्रक्रियामा रहेको निर्माण पक्षले जनाएको छ ।
तर यो चलचित्रलाई नेपालमा कुनै पनि प्रणालीबाट अब प्रदर्शन गर्न नपाइने निर्णय केन्द्रीय चलचित्र जाँच पास समिति ( सेन्सर बोर्ड)ले गरेको छ । बोर्डले मंगलबार यस्तो निर्णय गरेपछि बुधवार कोशेढुंगाका निर्माण टिम सेन्सर बोर्डको सम्पर्कमा आएका छन् ।
सेन्सर बोर्डका सदस्य कुवेर गिरीका अनुसार चलचित्र ‘कोशेढुंगा’मा अनिवार्य राखिनुपर्ने धुमपान, मद्यपान तथा अन्य सूचनाहरू निर्माण पक्षले नराखेको यो चलचित्र प्रदर्शनको क्रममा पाइयो । त्यस्ता सन्देशहरू नेपाली भाषामा लेखेर अनिवार्य राख्नु पर्ने र नराखेको खण्डमा चलचित्रलाई सेन्सर बोर्डले रोक्न समेत पाउने ऐनमा प्रावधान छ । यस’bout सदस्य गिरीले भने,‘ कोशेढुंगा प्रदर्शनको क्रममा सो चलचित्रमा राख्नै पर्ने सन्देश नराखेको अनुगमनको क्रममा देखियो । केही दृश्यहरू थपेको पनि देखिएपछि त्यसलाई प्रदर्शनमा आजबाट रोक लगाइएको हो ।’
गिरीका अनुसार कोशेढुंगा टिमले सेन्सर बोर्डसँग समन्वय गरेर सन्देश छुटेको ’bout स्पष्टीकरण दिँदै अब प्रदर्शन गरिने प्रिन्टमा ती सबै कुराहरू राखेर फेरी सेन्सर बोर्डसँग प्रदर्शनको अनुमति लिनु पर्ने हुन्छ ।
चलचित्र कोशेढुंगाको निर्माण पक्षका अनुसार नेपालका चलचित्र घरहरूमा फरक फरक प्रकारका ध्वानी प्रणाली भएकाले फरक फाइल बनाउनु पर्ने हुन्छ । यसरी बनाउँदा केही हलको प्रिन्टमा जनचेतनामूलक सन्देश छुटेर र आफूहरूको यस्ता सन्देश नराख्ने नियत नभएको उनीहरूले बताएका छन् । यसका कार्यकारी निर्माता निर्देशक खड्काका अनुसार बहुसंख्यक चलचित्र घरमा रिलिज भएको कोशेढुंगाको प्रिन्टमा यस्ता सन्देशहरू छन् ।
यस्तै चलचित्र ‘जेरी अन टप’लाई पनि कुनै प्रिन्टमा यस्ता सन्देश नराखिएको र कुनैमा अंग्रेजीमा राखिएको भन्दै सेन्सर बोर्डले मंगलबार २४ घन्टे स्पष्टीकरण पत्र काटेको थियो । यो चलचित्रका निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङ अहिले जापानमा भएकाले मिडिया सल्लाहकार वैकुण्ठ पराजुलीले बुधवार सेन्सर बोर्डलाई यो चलचित्रको स्पष्टीकरण पत्र पठाएका छन् ।
काठमाडौँको एट्मसफेयर ध्वानी पद्धति भएको आधा दर्जन चलचित्र घरमा भएको पाइलमा अंगे्रजीमा लेखिएको सूचनामूलक सन्देश रहेको भन्दै ‘जेरी अन टप’का तर्फबाट बुधवार सेन्सर बोर्डमा स्पष्टीकरण पत्र बुझाइयो । यति मात्र नभएर सो चलचित्रमा अश्लील गाली समेत भएको र सेन्सरले दिएको निर्देशनलाई बेबस्ता गर्दै त्यो गालीयुक्त दृष्य तीन ठाउँमा राखिएको अर्को बोर्ड सदस्य भिमा मैनालीले राजधानीलाई बताइन् ।
यो विषयमा मैनालीले अगाडि भनिन्,‘ जेरी अन टपको अश्लील दृश्य नहटाएको अनुगमनका क्रममा पाईकाले यो विषयमा आज निर्णय भएन । भोली सो चलचित्रको टिमले सच्याएको खण्डमा यो चलचित्र प्रदर्शनको निर्णय गरिने भन्दै आजको सेन्सर बोर्डको बैठक सकियो ।’
उनका अनुसार यो चलचित्रमा ‘मद्यपान स्वास्थ्यका लागि हानिकार छ’ भन्ने नेपालीमा नलेखिएको, सबै सन्देश अंग्रेजीमा रहेको पाइएको छ । तर कार्यविधि अनुसार नेपालीमा हुनुपर्ने पनि मैनालीले जिकिर गरिन् । यो वर्षकै सबैभन्दा बढी व्यापार गर्न सफल चलचित्र ‘जेरी अन टप’मा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार प्रसाद घिमिरे, उषा खड्गी लगायतका कलाकारहरूको अभिनय छ ।
चलचित्र सेन्सर ऐन अनुसार धुमपान, मद्यपान, हेलमेट नलगाएको सहित विभिन्न स्वास्थ्य र अन्य जन्य दृश्यमा नेपालीमा लेखेर सन्देश राखिनु पर्ने उल्लेख छ । त्यो सन्देश पालना नगरेका कारण अहिले ‘कोशेढुंगा’ र ‘जेरी अन टप’ कारबाहीमा परेको पनि सेन्सर बोर्डका पदाधिकारीहरूले बताएका छन् ।






