काठमाडौँ। ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । हत्यारा र भ्रष्ट्राचारीलाई कारबाही नगरेको र जेन जेडहरूलाई कारबाही गरेको भन्दै उनले अर्यालको राजीनामा मागेका हुन् । ‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुदनले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।
सुदनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको सुदनको जिकिर छ ।
उनले थप लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । ’cause मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ । अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईँबाट आशा मरिसकेको छ।’
साथै आफूहरूले गत भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरेको पनि बताएका छन् । यदि नेपाली जनता र जेन जेडको माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव पनि हुन नदिने धम्की दिएका छन् ।






