भारतको बिहारमा निर्वाचन, सुनसरी र मोरङका सीमा नाका ७२ घण्टा बन्द

इटहरी । भारतको बिहारमा भइरहेको विधानसभा निर्वाचनको प्रभाव नेपाल–भारत सीमाक्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । निर्वाचन पूर्व सुरक्षालाई लिएर भारतीय पक्षले कडाइ गरेपछि कोशी प्रदेशको दक्षिणी सीमाबेल्टमा दैनिक जीवन, स्थानीय व्यापार र पारिवारिक आवागमन तीन दिनका लागि ठप्प हुने स्थिति बनेको छ ।

बिहारमा दोस्रो चरणको मतदान कात्तिक २५ गतेसम्म हुने भएपछि विराटनगरको रानी–जोगबनी, सुनसरीको भण्टाबारी लगायतका सीमा नाकाहरू कात्तिक २२ गते साँझ ६ बजेदेखि २५ गतेसम्म बन्द गरिएका छन् ।

सीमा बन्द हुँदा दैनिक पारिवारिक आवतजावत, बिहारी बजारबाट खरिद–बिक्री, अस्पताल उपचारका लागि आगमन–प्रस्थानसमेत रोकिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार सीमा नाका बन्द सुरक्षा–प्राथमिकतामा आधारित गरिएको हो । ‘दुवै देशका प्रशासनबीच छलफल भएपछि मतदानको ७२ घण्टा सीमा नाका बन्द गर्ने सहमति भएको हो,’ उनले भने ।

यता सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार आपतकालीन स्वास्थ्य सेवा वा अनिवार्य परिस्थिति बाहेक अन्य आवतजावत रोकिएको छ । यस अवधिमा सामान्य यात्रा, व्यापारिक गतिविधि तथा मानिसको ओहोर–दोहोर पूर्ण रूपमा रोकिएको हुँदा स्थानीय बासिन्दा तथा व्यवसायीहरूलाई आवश्यक योजना मिलाइसक्न प्रशासनले आग्रह गरेको श्रेष्ठले बताए । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि कात्तिक २५ को साँझपछि सीमा नाका क्रमशः खुल्ने प्रशासनले जनाएको छ ।

विश्लेषकहरूका अनुसार बिहारको निर्वाचन यसपटक भारतको केन्द्रीय राजनीतिक शक्ति–सन्तुलनसँग प्रत्यक्ष जोडिएको छ ।

सन् २०२९ का आम निर्वाचन हुनुअघि उत्तर प्रदेश, पश्चिम बङ्गाल र असमका चुनावको पूर्वाभ्यास मैदानका रूपमा बिहारलाई हेरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वले बिहारमा प्रभाव कायम राख्ने रणनीतिमा रहेकाले सीमा क्षेत्रमा अनियमित आवतजावत, मतदाता ओसार–पसार र गैरकानुनी गतिविधिमाथि नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको छ ।

खासगरी पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुने र बिहारका बाँकी २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरणमा मतदान हुनेछ । दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचनको नतिजा १४ नोभेम्बरमा चुनावको घोषणा गर्ने आयोगको तयारी गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारलाई लामो समयदेखि भारतको राजनीतिक ‘अग्रदूत’का रूपमा हेरिने गरिएको छ । सन् २०२९ को आम निर्वाचन र त्यसअघि हुने उत्तर प्रदेश, पश्चिम बङ्गाल तथा असमका राज्य चुनावहरूलाई ध्यानमा राख्दै भारती प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा आफ्नो राजनीतिक गति कायम राख्ने प्रयास गरिरहेको बताइन्छ । त्यसैकारण पनि यो निर्वाचन विशेष रहेको बताइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले