लमजुङ । लमजुङमा झन्डै सय वर्षअघि नेपाल र बेलायतका दुई महिलाले लगाएको ‘मितेरी’को महत्व झल्कनेगरी उनीहरूको स्मृतिमा सांस्कृतिक एवं ऐतिहासिक महत्वको ‘मितिनी टहरा’सहितको शिलालेख तयार गरिएको छ । ती दुई मितिनीको पछिल्लो १ वर्षको बीचमा निधन भएको हो । उनीहरूको स्मृतिमा निर्माण गरिएको ‘मितिनी टहरा’सहित शिलालेखको एक विशेष कार्यक्रमबीच अनावरण गरिएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–११ को दुराडाँडा, ठूलोस्वाँरा गाउँकी मंगली गुरुङका साथमा बेलायतकी एर्लमवेथ नोरम्यानले १९९१ सालमा मितिनी लगाएकी थिइन् । एर्लमवेथ नोरम्यान र उनका श्रीमान् विल नोरम्यान दम्पती १९८५ सालदेखि वार्षिक रूपमा नेपाल आउन थालेका थिए । ती दम्पती १९८८ सालमा पहिलोपटक ठूलोस्वाँरा पुगेका स्थानीयवासीसमेत रहेका ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ (हाल पोखरा)ले बताए ।
उनले एर्लमवेथ दम्पतीलाई ठूलोस्वाँरामा पहिलोपटक पु¥याउने काम आफैंले गरेको बताए । उनले भने, ‘त्यस बेलामा सो गाउँलेको पहलमा खोलिएको शोभा प्रावि भर्खर स्थापना भएको थियो, त्यसको भवनको छाना स्याउलाले छाएको थियो, गाउँका दुई जना पेन्सनवालाले वर्षमा एक महिनाको आधा पेन्सन रकम स्कुलमा राखिएका शिक्षकका लागि तलब खुवाउन दिन्थे, त्यसबाहेक तत्काल आमा समूहको अध्यक्ष रहेकी मंगली गुरुङले आफ्नो अगुवाइमा गाउँका दिदीबहिनी परिचालन गरी गाउँलेसँग मौसमअनुसार उत्पादन भएको अन्न धान, कोदो, मकै आदि संकलन गरेर त्यो बिक्री गरी शिक्षकलाई तलब खुवाउन सहयोग गर्थिन्, विद्यालयको त्यस्तो अवस्था देखेपछि विल नोरम्यान दम्पतीले स्कुल भवन बनाइदिने वचन दिए ।’
स्थानीय सोमा दुराले विद्यालय भवन निर्माणका लागि विद्यालयलाई ४ रोपनी जग्गा दान गरिन् । त्यसपछि विद्यालयको नामसमेत सोमा (शोभा) प्रावि रहेको धम्पुले जानकारी दिए ।
त्यस बेला नोरम्यान दम्पतीले पाँचकोठे विद्यालय भवन बनाइदिएका थिए । विद्यालयका विद्यार्थी र स्थानीयको सुविधाका लागि २ किलोमिटरको दूरीमा रहेको छरछरे खोलाबाट खानेपानीसमेत ती दम्पतीले ल्याइदिएका थिए । अहिले पनि त्यो खानेपानी विद्यालयले चलाइरहेको छ । उनले एर्लमवेथ नोरम्यान र मंगली गुरुङले मित लगाएपछि बीचबीचमा उनीहरू दुवैतर्फ आउने जाने गरिरहेको पनि बताए ।
एर्लमवेथ नोरम्यानको ६ महिनाअघि बेलायतमै निधन भयो भने मंगलीको करिब १ वर्षअघि उनकी कान्छी छोरीको घर पोखरामा निधन भएको थियो । ठाडोभाका महानायक धम्पुका अनुसार एर्लमवेथ नोरम्यानले आफ्नो अन्तिमकालमा ‘मेरो लास जलाउँदाको खरानी नेपालको ठूलोस्वाँरा गाउँमा पु¥याइदिनु, मेरो प्राण नै त्यहाँ बसेको छ’ भन्ने वचन श्रीमान् विल नोरम्यानलाई सुनाएकी रहिछन् । सोही कारण अहिले उनका श्रीमान् एर्लमवेथ नोरम्यान सो खरानी लिएर ठूलोस्वाँरा आएका हुन् ।
नोरम्यानले ठूलोस्वाँरा क्षेत्रमा रहेका पाँच गाउँको मध्यभागमा रहेको हर्राबोट गाउँमा दुई मितिनीको स्मृतिमा एक टहरा निर्माण गरेका छन् । त्यस टहराको नाम ‘मितेरी टहरा’ राखिएको छ । त्यो टहरा २२ बाई ३० फिटको रहेको छ । त्यसको निर्माणका लागि साढे ३ लाख रुपैयाँ खर्च लागेको र सबै खर्च विल नोरम्यान आफैंले बेहोरेको धम्पुले जानकारी दिए । उनका अनुसार शिलालेख शोभा प्रावि हातामा निर्माण गरिएको छ । सो स्थानमा १२ पिर्के पिङका साथमा पुरानो तोरी पेल्ने कोलसमेत रहेको छ ।
धम्पुले भने, ‘दुई मितिनीको सम्झनामा निर्माण गरिएको ‘मितिनी टहरा’को विल नोरम्यानले एक कार्यक्रमबीच नेपालको जनजाति संस्कारअनुसार लामा विधिअनुसार पूजाआजा गरी उद्घाटन गरेका हुन् ।’
उद्घाटन कार्यक्रममा एर्लमवेथ नोरम्यानकी छोरी कलेरा र ज्वाइँ हेमन्त थापाको उपस्थिति थियो । नोरम्यानको एक मात्र छोराको भने निधन भइसकेको छ । त्यस्तै, मंगली गुरुङका सात जना छोरी तथा पाँचजना ज्वाइँको समेत उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो । मंगली गुरुङका चार छोरामध्ये एकको निधन भइसकेको छ भने अन्य तीन जना वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।
‘मितिनी टहरा’ निर्माण गरिएको हर्राबोट गाउँ ठूलोस्वाँरा आसपासमा स–साना पाँचगाउँको बीचमा पर्छ । त्यो स्थानमा कुर्सीसहितको १२ पिर्के रोटेपिङ निर्माण गरिएको छ । अन्य चार गाउँमा मास्के, धोके, भिरपानी र मैघा हुन् । ती गाउँका मानिस आएर १२ पिर्के रोटेपिङ खेल्ने, घाम चर्कंदा, पानी पर्दा तथा रातको समयमा समेत बस्नुपर्ने भएमा बस्नका लागि र गाउँको अन्य कुनै सामाजिक कार्यका लागि प्रयोग गर्न सक्नेगरी ‘मितिनी टहरा’को निर्माण गरिएको धम्पुको भनाइ छ । उनले भने, ‘हाम्रो मौलिक संस्कृतिको एक धरोहरका रूपमा रहेको मितेरी साइनोको दरिलो चिनो ‘मितिनी टहरा’ हो, यसले हाम्रो संस्कृति र इतिहास दुवै एकसाथ बोल्छ ।’
उद्घाटन कार्यक्रममा विल नोरम्यान श्रीमतीको सम्झनामा भावुक हुँदै भक्कानिएका थिए भने त्यो दृश्यले कार्यक्रममा सहभागी भएका गाउँलेहरू स्तब्ध भएका थिए । कतिको आँखामा आँसु छचल्किएको समेत देखिन्थ्यो । विल नोरम्यानले खासै मन्तव्य व्यक्त गर्न सकेनन् । संक्षेपमा उनले भने, ‘मेरी श्रीमतीको जस्तै मेरो आत्मा पनि यहाँको माटोमा गडेको छ ।’
सो अवसरमा ठूलोस्वाँरा गाउँवासीका तर्फबाट सोही वडाका अध्यक्ष ओमसिरिस दुराले विल नोरम्यानलाई सम्मानपत्रका साथ सम्मान गरेका थिए । त्यस्तै, शोभा विद्यालय परिवारले सम्मानपत्र र स्थानीय आमाहरूले समेत विल नोरम्यानलाई जातीय परम्पराअनुसार खादा, भाङ्ग्रा र सेतो फेटा गुथाएर सम्मान गरेका थिए ।
शोभा प्राविका जग्गादाता सोमालाई मरणोपरान्त सम्मान गरिएको कार्यक्रमको अध्यक्षता सोही प्राविको व्यवस्थापन समितिका अध्यक्ष कुमार दुराले गरेका थिए भने कार्यक्रमको सञ्चालन ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले गरेका थिए ।






