मुम्बई । बलिउड अभिनेता आयुष्मान खुराना फरक शैलीका चलचित्रमा प्रस्तुत हुने अभिनेताका रूपमा परिचित छन् । एकपछि अर्को फरक चलचित्रमा अभिनय गरेर पनि लगातार १०० करोड क्लबका पाँच चलचित्र दिन उनी सफल भएका छन् ।
अभिनेता आयुष्मानको पछिल्लो चलचित्र ‘थामा’ ले १०० करोड भन्दा माथिको व्यापार गरेको छ । उनको १०० करोड क्लबमा प्रवेश गरेको यो पाँचौँ चलचित्र भएको छ । यो उपलब्धिसँगै आयुष्मानले आफ्नो अनौठो र अफ बिटका चलचित्रबाट अहिलेसम्म पाँच पटक १०० करोडको हिट कमाइको रेकर्ड बनाई सकेका छन् ।
गत तिहारको अवसरमा दीपावलीमा रिलिज भएको ‘थामा’ ले भारतमा १०३.५० करोडको कमाई गरिसकेको छ । यो सफलतासँगै आयुष्मानले सबैभन्दा सफल फ्रान्चाइजीहरू सुरु गर्ने सबैभन्दा कान्छो अभिनेताको इतिहास रचेका छन् । उनले बलिउडमा ‘ड्रीम गर्ल’, ‘बधाई हो’, ‘शुभ मंगल सावधान’, ‘थामा’ र ‘अन्धा धुन’ जस्ता हिन्दी फ्रान्चाइजी चलचित्रहरूको जग बसालेका छन् । जसमध्ये धेरै दर्शकहरूले सिक्वेलको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
जबकि आयुष्मानका अरू सुपर हिट १०० करोड क्लबका चलचित्रहरू मध्ये ‘ड्रीम गर्ल’ले १४२.२६ करोड, ‘ड्रीम गर्ल २’ले १०४.९० करोड, ‘बधाई हो’ चलचित्रले १३७.६१ करोड रुपैयाँ र ‘बाला’ चलचित्रले ११६.८१ करोड रुपैयाँ कमाइ सकेको छ ।
पाँचौँ चलचित्र पनि १०० करोड क्लबमा पुगेको अवसरमा आफ्नो खुसी व्यक्त गर्दै आयुष्मानले भने, ‘व्यावसायिक सफलता एक अभिनेताको लागि ठुलो मापदण्ड हो । मेरो प्रकारको चलचित्रसँग यो सफलताको स्वाद लिनु एकदमै विशेष अनुभूति हो, किनकि मलाई सधैँ नयाँ र अनौठो सामग्री मन परेको छ र एक दर्शकको रूपमा म यस्तो चलचित्रसँग सबैभन्दा बढी जोडिन्छु ।’
मानिसहरूले यस प्रकारको चलचित्रलाई अँगालेको, प्रशंसा गरेको र सिफारिस गरेको देख्नु एक अभिनेताको लागि साँच्चै अद्भुत अनुभव भएको पनि उनले बताएका छन् । आफ्ना धेरै चलचित्रहरू सफल फ्रान्चाइजी बनेका छन् भन्ने कुराले आफू खुसी हुने गरेको पनि उनको भनाई छ । दर्शकहरूको माया र आशीर्वादको लागि उनले गहिरो आभार प्रकट गर्दै यी चलचित्रका अबका नयाँ फ्रान्चाइजीमा पनि त्यत्तिकै माया पाउने आशा लिएको छु भने ।






