काठमाडौं सफा गर्न ‘भीआईपी अस्त्र’

काठमाडौं । सोमबार बिहान सबेरै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे स्वयम्भूको आनन्दनगर टोलमा २५–३० जना स्थानीयसहित झाडु लिएर सडक किनार सरसफाइमा जुटे ।

गत बिहीबार बिहान बागमती प्रदेशसभा सांसद उद्धव थापा नागार्जुन नगरपालिकाको आनन्द टोलमा ४०–४५ जना स्थानीयको नेतृत्व गर्दै टोल सरसफाइमै थिए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, उपमेयर मञ्जली शाक्य र वडाध्यक्षहरू त सातैपिच्छे सरसफाइका कार्यक्रममा कहीँ न कहीँ सहभागी भइरहेकै हुन्छन् ।

उपत्यकाका सार्वजनिक स्थानको सरसफाइमा सुधार

पछिल्ला दिन विभिन्न टोल सुधार समिति, नेप्सेम्याक, चक्रपथ सरसफाइ तथा सुन्दरता अभियानसहित स्थानीय सरकारसमेतले आयोजना गर्ने सरसफाइ अभियानमा उच्चपदस्थलाई सहभागी गराउने क्रम बढेको छ ।

यसले एकातर्फ नीति निर्मातामा सरसफाइप्रति थप सचेतना बढ्ने र उच्च पदस्थलाई उभ्याएपछि स्थानीय सहभागिता पनि बढ्ने भएकाले सरसफाइमा ‘भीआईपी अस्त्र’ प्रयोग हुन थालेको छ । वडाध्यक्षदेखि मेयर, उपमेयर, प्रदेशसभाका सांसद, मुख्यमन्त्री, पूर्वमन्त्रीलगायतका भीआईपीहरूले नै टोलका सार्वजनिक स्थान तथा सरसफाइ अभियानमा झाडु र कुचो लिएर सरसफाइ अभियानको अगुवाइ गर्न थालेपछि काठमाडौं उपत्यकाको सार्वजनिक सरसफाइमा सुधारको लक्षण देखिन थालेको छ ।

उपत्यकाका मठ मन्दिर, सडक पेटी र सार्वजनिक स्थलहरूमा राखिएका ट्र्यासबिन, डस्टबिन तथा वर्गीकृत फोहोर व्यवस्थापनका बाल्टिनहरूमा समेत सुक्खा फोहोर संकलन व्यवस्थित हुन थालेपछि सार्वजनिक स्थलको फोहोर व्यवस्थापन सहज बनेको हो । विभिन्न अभियानको सञ्चालनले सडकमा फोहोर कम हुँदै गएको संरक्षणकर्मी तथा वातावरण संरक्षण अभियन्ता बाबुराम घिमिरे बताउँछन् ।

हरेक शनिबार तथा सार्वजनिक बिदाका दिनमा काठमाडौं उपत्यकामा हुने गरेका सरसफाइ अभियानहरूकै कारण पछिल्ला केही वर्षयता उपत्यकाका सार्वजनिक स्थानको फोहोरमैला व्यवस्थापन तथा सरसफाइमा धेरै सुधार आएको वातावरण संरक्षण गैरसरकारी संस्था महासंघका अध्यक्ष टीकाराम दाहाल बताउँछन् ।

दाहाल भन्छन्, ‘सुर्ती, पान पराग, चक्लेटका खोललगायतका साना टुक्रा मसिना प्लास्टिकलगायतका फोहोरका कारण नै सडक तथा सार्वजनिकस्थल फोहोर भएको छ, घरको फोहोर संकलन गर्दैमा राजधानी स्वस्थ र समृद्ध हुँदैन ।’

उपत्यकामा बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, गोदावरीलगायतका खोलाको सरसफाइसँगसँगै चक्रपथ तथा भित्री सडक र मन्दिर तथा सार्वजनिक स्थलको सरसफाइसम्बन्धी जागरण बढेको छ । उपत्यकाको फोहोरमैला व्यवस्थापनको विषय दिन प्रतिदिन चुनौतीपूर्ण हुँदैगर्दा घरायसी फोहोरमैलाको व्यवस्थापन व्यवस्थित बने पनि सार्वजनिक स्थान, सडक तथा मन्दिर अस्तव्यस्त हुने गरेकामा अहिले सुधार भएको सरोकारवाला बताउँछन् ।

उपत्यकाको फोहोरमैला व्यवस्थापनको क्षेत्रमा कार्यरत नेप्सेम्याक मुख्य कार्यालय ललितपुरका प्रमुख लक्ष्मीप्रसाद गेलाल यस्ता सार्वजनिक अभियानले सरसफाइमा सुधार आएको बताउँछन् । घरायसी फोहोरमैलाको व्यवस्थापनका लागि नगरपालिका, निजी क्षेत्र तथा केही युवा क्लब तथा गैरसरकारी संस्थाले सशुल्क रूपमा काम गरिरहे पनि सार्वजनिक स्थलको फोहोरमैला चुनौतीपूर्ण बन्दै गएकाले भीआईपीहरूले नै यस्ता अभियानको अगुवाइ गर्न थालेका छन् ।

साप्ताहिक रूपमा सञ्चालन हुने गरेका अभियानबाट मात्रै प्रयास सम्भव नहुने देखिएपछि नेप्सेम्याक ग्रुपले उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा दैनिक सरसफाइ अभियान सुरु गरेको वातावरण संरक्षण गैरसरकारी संस्था महासंघका अध्यक्षसमेत रहेका नेप्सेम्याकका अध्यक्ष दाहालले बताए ।

सार्वजनिक स्थलको फोहोर अव्यवस्थित हुने भएकाले व्यवस्थापन चुनौतीपूर्ण रहेको फोहोरमैला व्यवस्थापन संघ (स्वमान)का वरिष्ठ उपाध्यक्ष सहदेव राउत बताउँछन् । मन्दिर, सडक पेटी तथा सार्वजनिक स्थलमा फुटेका सिसा, ब्लेड तथा धारिला वस्तु, साना प्लास्टिकका टुक्रा तथा नगल्ने चिजहरू पनि प्रशस्त हुने भएकाले व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको उनको अनुभव छ ।

सार्वजनिक स्थलको फोहोरमैला व्यवस्थापनमा चुनौती बढेपछि स्थानीय तहहरूले समेत समुदायको सक्रियता र परिचालनलाई प्रभावकारी बनाउन आफूहरू अभियानमा अगुवाइ तथा साझेदारी गर्न लागेको जनप्रतिनिधिहरू बताउँछन् । आफूहरू निस्किएको देखेपछि टोलवासी पनि निस्कन्छन् र आफ्नो टोल सफा राख्छन् भन्ने विश्वास लिएर वातावरण संरक्षण अभियन्ता, टोल सरसफाइमा संलग्न स्थानीय नागरिकसहित प्रायः शनिबार सडक वा खोला किनारमा हुने अभियानमा जोडिने गरेको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ बताउँछन् ।

समुदायको साथ लिएर टोलभित्र बसोबास गरेका भीआईपीहरू नै अभियानको नेतृत्व गर्दै निस्किएपछि सार्वजनिक स्थानको फोहोरमैला व्यवस्थापन सहज बन्दै गएको भक्तपुरको मनोहरा किनारमा अभियानमा जोडिएका देशराज श्रेष्ठले बताए । ‘मनोहरा हाम्रो सभ्यता हो, अरनिको राजमार्ग हाम्रो सभ्यताको परिचय, त्यसैले राजमार्ग र मनोहरा सफाइमा सुरुदेखि नै जोडिएको छु,’ देशराजले राजधानीसँग भने ।

सार्वजनिक स्थानको सरसफाइ अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, योगभूमि नेपाल, ब्रह्माकुमारी राजयोग केन्द्र, नेप्सेम्याकका विभिन्न फिल्ड केन्द्र, वडास्थित सामुदायिक संघसंस्था र टोल सुधार समिति, राष्ट्रका लागि १ घण्टा अभियान, समुदायका लागि २ घण्टा अभियानजस्ता संघसंस्था र अभियान जोडिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई