– कमजोर हुने बित्तिकै मिल्ने, बलियो हुने बित्तिकै निल्ने ‘अद्भुत कला’
– हरेक निर्वाचनमा गठबन्धन फेर्छन्, त्यो नभए पार्टी नाम र चिह्न फेर्छन्
–‘विद्रोही र असन्तुष्टसँग चाँडै मिल्छन्, मौका पर्दा छाडेर हिँड्छन्
–सशस्त्र विद्रोहदेखि बृहत् वाम एकतासम्मका ३० वर्षसम्म एकछत्र नेतृत्व
–तत्कालीन नेकपाको ९ सदस्यीय हाई कमान्डका बहुमत सदस्यका नेता
काठमाडौं । एमालेबाट निष्कासनमा परेका सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल मिसिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा १२ दल र समूहको सामूहिक थलो बनेको छ ।
रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेपछि यो पार्टी ११ भीआईपी संलग्न दल बनेको छ । जसका शीर्ष १० नेता ६५ वर्ष उमेर कटिसकेकाहरू छन् ।
११ ‘भीआईपी’का सदाबहार नेता
नेकपामा प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहित नेकपा तीन जना पूर्वप्रधानमन्त्री अटाएका छन् भने पार्टीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वउपप्रधानमन्त्रीहरू रावल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठसमेत छन् । पूर्वसभामुख कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, ओनसरी घर्तीमगरसमेत नेकपामै छन् । पूर्वमन्त्रीको संख्यासमेत सयभन्दा बढी छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको सचिवालय (हाई कमान्ड)मा रहेका ९ सचिवालय सदस्यमध्ये पाँच जना सदस्य नेकपामा छन् । प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ तत्कालीन नेकपाको सचिवालय सदस्य थिए । जसको नेतृत्व प्रचण्डले गरिरहेका छन् ।
सशस्त्र विद्रोहदेखि बृहत् वाम एकतासम्मका ३० वर्षसम्म प्रचण्डकै वरिपरि वाम राजनीतिको एउटा पंक्ति घुमेको छ । प्रचण्ड ११ भीआईपीका सदाबहार नेताका रूपमा अगाडि बढिरहेका छन् । कमजोर हुने बितिकै अन्य दलसँग मिल्ने र बलियो हुने बितिकै आफ्नै सहकर्मीलाई पेल्ने र फाल्ने शैली र सामथ्र्य राख्ने नेता पनि प्रचण्ड नै हुन् ।
प्रचण्डलाई नजिकबाट बुझेका र सशस्त्र विद्रोहमा प्रभावकारी रूपमा साथ र सहयोग दिएका डा. बाबुराम भट्टराई अहिले प्रचण्डसँग छैनन् । भट्टराईले एउटा सार्वजनिक कार्यक्रममा प्रचण्डलाई अवसरवादी र वृद्ध नेताहरूको झुण्डको नेतृत्व गरेको टिप्पणी नै गरेका छन् । कमजोर भए विभिन्न दल र तिनका नेतासँग मिल्ने र बलियो हुने बितिकै कारबाहीको डन्डा चलाउने नेताका रूपमा प्रचण्डलाई भट्टराईले बुझेका छन् ।
प्रचण्डको अर्को विशेषता हरेक निर्वाचनमा गठबन्धन फेर्नु हो । गठबन्धन फेर्न सकस भएको अवस्थामा उनी पार्टीको नाम र चुनाव चिह्नसमेत फेरेर निर्वाचनमा होमिन्छन् ।
जनयुद्ध हँुदै शान्तिप्रक्रियामा आइसकेका प्रचण्डले यसबीचमा अनेक गठबन्धन मात्रै गरेनन्, माओवादीको नाम र विरासत छोड्नुका साथै निर्वाचनमा चुनाव चिह्नदेखि गठबन्धन फेर्दै सत्तामा पुग्ने नेताका रूपमा प्रचण्ड छन् ।
पार्टीभित्र ११ भीआईपी नेता र वाम राजनीतिका विद्रोही नेता समेटेपछि पार्टीलाई अघि बढाउने चुनौतीसमेत प्रचण्डमाथि आइलागेको छ । पार्टी फेरिरहने, गुट फेरिरहने र अस्थिर अनि असन्तुष्ट नेताहरूको थ्रुप्रो जस्तै बनेको नेकपामा असन्तुष्ट नेताहरूको समेत बाहुल्य छ । उनीहरूलाई मिलाएर सजिलै अगाडि बढ्नसक्ने अवस्था छैन ।
नेकपामा समाहित मालेकालीन नेता वामदेव, एमालेको संगठन निर्माण गरेका विद्रोही एवं तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ र सौराहा महाधिवेशनका विद्रोही नेता भीम रावल नेकपामा छन् । जोसँग पनि मिल्ने, जतिबेला पनि हिँड्ने अर्का नेता महेन्द्रराय यादव, प्रेमबहादुर सिंहसहितका नेतालाई मिलाएर अघि बढ्ने चुनौती पनि प्रचण्डमा छ ।






