काठमाडौं । अमेरिकाको सान फ्रान्सिसको प्रतिष्ठित चलचित्र महोत्सव ‘सान फ्रान्सिस्को ईन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल २०२५’ मा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ हालै चयन भएको थियो । महोत्सवको ग्रान्ड फिनालेमा यो चलचित्रले अवार्ड जितेको यसका निर्माता तथा निर्देशक मित्र प्रधान (नर)ले जानकारी गराएका छन् ।,
उनका अनुसार यो महोत्सवमा विश्वभरिबाट ११८ वटा चलचित्रहरू समावेश भएको थियो । जस मध्यबाट कथानक चलचित्र समूहमा यो चलचित्रले उत्कृष्ट कथानक चलचित्रको अवार्ड जितेको पनि निर्देशक प्रधानले जानकारी गराएका छन् ।
सो अवार्ड ग्रहण गर्दै निर्देशक प्रधानले राजधानीसँग भने,‘संसार भर रहेका नेपाली भाषीहरुलाई भाषाको माध्यमले एक बनाउनु पर्छ भन्ने सन्देश बाँडेको यो चलचित्रलाई यही सन्देशका कारण उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको घोषणा गर्दा म साह्रै खुसी भएँ । यो मन त मेरो नेपाली हो ले उत्कृष्ट कथानक चलचित्रको अवार्ड पाउनु हामी सबैका लागि खुसीको कुरा हो ।’
यो चलचित्र अहिलेसम्म विश्वका आधा दर्जन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भइसकेको छ । ‘सान फ्रान्सिस्को ईन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा यो अवार्ड जित्नु अघि ‘यो मन त मेरो नेपाली हो’ ले बेलायतमा आयोजना भएको ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा पनि हालै अवार्ड जितिसकेको छ । सो महोत्सवमा उत्कृष्ट छायांकारको अवार्ड यो चलचित्रले जितेको हो । यो चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको यो चलचित्र निर्माता ज्ञान बहादुर प्रधान हुन् । यो चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भूपेन्द्र लिङ्देन, बिजिता परियारलगायतका कलाकारको अभिनय रहेको छ । शिवम् अधिकारीको लेखेको यो चलचित्रमा देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन, सत्यम रानाको सिजिआई छ । यो चलचित्र गत असारमा नेपालमा रिलिज भएको थियो ।






